सभामुखलाई मुख्यमन्त्री कार्कीको पत्र : संकल्प प्रस्ताव पेस हुन सक्दैन


५ बैशाख २०८१, बुधबार
Kedar karki Parshuram khapung

मोरङ । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले सभामुख परशुराम खापुङलाई पत्र पठाउँदै आफूलाई राजीनामा वा विश्वासको मत लिन निर्देशन दिने गरी दर्ता भएको संकल्प प्रस्ताव प्रदेश सभामा पेस हुन नसक्ने जिकिर गरेका छन् ।

एमालेका रेवतीरमण भण्डारी प्रस्ताव रहेको संकल्प प्रस्ताव कोशी प्रदेश सभा सचिवालयमा दर्ता भएको थियो । प्रस्तावमा एमाले र माओवादी केन्द्रले मुख्यमन्त्री कार्कीलाई दिएको समर्थन फिर्ता लिएको अवस्थामा वैशाख २५ गतेभित्र संविधानको धारा १८८ (२) बमोजिम विश्वासको मत लिन मुख्यमन्त्रीलाई निर्देशन दिने उल्लेख छ ।

त्यस अवधिमा विश्वासको मत नलिएमा वा विश्वासको मत प्राप्त नगरेमा वा वैकल्पिक सरकारका लागि मार्ग प्रशस्त नगरेमा प्रदेश प्रमुखले संविधान धारा १६८ को कुनै उपधारा प्रयोग गरी नयाँ सरकार गठनका लागि सन्देश प्रवाह गर्ने विषय पनि संकल्प प्रस्तावमा छ ।

एमालेका हिक्मतकुमार कार्कीलाई मुख्यमन्त्रीमा समर्थन गर्दै उनकै नेतृत्वमा नयाँ वैकल्पिक सरकार गठन गर्ने प्रदेश सभा सक्षम रहेको प्रतिबद्धता पनि व्यक्त गरिएको छ । सोही सन्दर्भमा मुख्यमन्त्री कार्कीले सभामुखलाई पत्र पठाएर सो संकल्प प्रस्ताव प्रदेश सभामा प्रस्तावको रुपमा प्रस्तुत हुन नसक्ने दाबी गरेका हुन् ।

‘.. संकल्प प्रस्ताव नेपालको संविधान २०७२ को धारा १९१, धारा १८८ को उपधारा ४ को प्रतिबन्धात्मक वाक्यांश तथा कोशी प्रदेश सभा नियमावली २०७४ को नियम ४८ (क), (ख), (ग) र (घ) विरुद्ध भई प्रस्तावको रुपमा पेश गर्न नसकिने अवस्था रहेको बेहोरा जानकारीका लागि सादर अनुरोध छ’, मुख्यमन्त्री कार्कीको पत्रमा भनिएको छ । कोशी प्रदेशको विशेष अधिवेशन वैशाख ६ गतेका लागि आह्वान गरिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७