लुम्बिनीमा एमालेले टुंग्यायो पाँच मन्त्री, क–कसले लिंदैछन् शपथ ?


६ बैशाख २०८१, बिहीबार
lumbini mantri
वायाँबाट बाँकेका रत्नबहादुर खत्री, रुपन्देहीका भूमिश्वर ढकाल, कपिलवस्तुका अर्जुनकुमार केसी, अर्घाखाँचीका चेतनारायण आचार्य (आचार्य अर्थमन्त्री भइसकेका छन्) र गुल्मीका दिनेश पन्थी ।

बुटवल । नेकपा एमालेबाट लुम्बिनी प्रदेश सरकारमा पाँच जना मन्त्री बन्ने भएका छन् । सरकारको भागबण्डामा एमालेले पाँच मन्त्रालय पाएको हो । त्यस्तै माओवादी केन्द्रले मुख्यमन्त्रीसहित तीन मन्त्रालय पाउने सहमति भएको छ । त्यस्तै नाउपा, जसपा र स्वतन्त्र सांसदले एक–एक मन्त्रालय पाउने भएका छन् ।

यसैबीच एमालेले सरकारमा पठाउने पाँच मन्त्रीको नाम टुंग्याएको छ । एमालेबाट चेतनारायण आचार्य यसअघि नै मन्त्री रहेका छन् र उनले अर्थ मन्त्रालयको जिम्मेवारी पाउने भएका छन् । त्यस्तै भूमिश्वर ढकालले सहरी, दिनेश पन्थीले गृह, अर्जुनकुमार केसीले सामाजिक विकास र रत्न खत्रीले वन मन्त्रालयको जिम्मेवारी पाउने भएका छन् ।

मुख्यमन्त्री जोखबहादुर महराले आजै ११ सदस्यीय मन्त्रिपरिषद बनाउँदै छन् र बेलुकी ५ बजे शपथ ग्रहण गराउने कार्यक्रम तय भएको छ । चैत २३ मा मुख्यमन्त्री नियुक्त भएका माओवादी केन्द्रका जोखबहादुर महराले नेकपा एमाले, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीबाट एक-एक जना मन्त्री बनाइसकेका छन् ।

महराले विश्वासको मत समेत लिइसकेका छन् । माओवादीबाट रोल्पाका दीपेन्द्र पुन मन्त्री बनिसकेका छन् । उनले स्वास्थ्य मन्त्रालयको जिम्मेवारी पाएका छन् । माओवादीबाट थप एक जना बाँकेकी कृष्णा केसी मन्त्री बन्ने स्रोतले जनाएको छ । केसीले सिँचाइ, ऊर्जा तथा खानेपानी मन्त्रालयको जिम्मेवारी पाउने बताइएको छ ।

जसपाबाट भण्डारीलाल अहिर मन्त्री छन् । उनले कृषि तथा भूमि व्यवस्था मन्त्रालयको जिम्मेवारी पाएका छन् । नागरिक उन्मुक्ति पार्टीले भौतिक पूर्वाधार विकास मन्त्रालय पाउने छ । तर सो दलभित्र कसलाई मन्त्रीको रूपमा पठाउने भन्ने टुंगो लागेको छैन । लुम्बिनीमा मुख्यमन्त्रीसहित दश मन्त्रालय छन् । अहिलेको भागबन्डा अनुसार दुईवटा मन्त्रालय थप्नुपर्ने देखिन्छ ।

यता जसपालाई २ मन्त्रालय दिने लिखित सहमति भएपनि सहमति पालना नगरेको भन्दै पार्टी सरकारमा नजाने प्रदेश अध्यक्ष अशोक यादवले बताए । तर, सरकारका प्रवक्ता दीपेन्द्र पुनले भने आज दिउँसोसम्म मन्त्रिपरिषद् विस्तार हुने र सांझ शपथग्रहण हुने बताए ।

‘तीन विना विभागीय मन्त्रीले आजै मात्र आ–आफ्नो मन्त्रालयको जिम्मा पायौं, अरु दलबाट पनि मन्त्री हुनेको टुंगो लागेपछि आज साँझ ५ बजे सपथ ग्रहण गर्ने कार्यक्रम तय भएको छ’, प्रवक्ता पुनले भने, ‘स्वतन्त्र सांसद खड्ग बस्नेतले पनि मन्त्रीको शपथ लिनुहुन्छ, एकीकृत समाजवादीको टुंगो लागेको छैन, जहाँसम्म आउनु हुन्छ होला ।’ एकीकृत समाजवादीबाट प्रदेश सभामा रुपन्देहीकी भगवती अधिकारी मात्रै सांसद छन् ।

मुख्यमन्त्रीमा नियुक्त हुनुअघि दलहरूको बीचमा जसपालाई दुई, नेकपा एकीकृत समाजवादी र स्वतन्त्र सांसद खड्ग बस्नेतलाई पनि सरकारमा सहभागी गराउने लिखित सहमति भएको थियो । सहमतिअनुसार पार्टीलाई सरकारमा सहभागी गराउनेबारे कुनै छलफल नगरिएको नेकपा एकीकृत समाजवादी लुम्बिनी प्रदेश कार्यालयका सचिव सुदन खनालले जानकारी दिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७