वीरेन्द्र ताल फुट्दा कालीगण्डकी भन्दा ठूलो बाढी, तटीय क्षेत्रमा सतर्क रहन गृह मन्त्रालयको आग्रह


९ बैशाख २०८१, आईतवार
tal

काठमाडौं । गोरखाको मनास्लु क्षेत्रमा रहेको वीरेन्द्र ताल हिमपहिरोका कारण फुटेको छ । आज (आइतबार) बिहान माथिबाट हिमपहिरो खसेपछि चुमनुब्री गाउँपालिकामा पर्ने उक्त ताल फुटेको गोरखाका प्रमुख जिल्ला अधिकारी भोला दाहालले जानकारी दिए ।

उनले हिमपहिरोका कारण ताल फुटेर बाढी आएको भए पनि जनधनको क्षति भने नभएको बताए । ताल भएको क्षेत्र नजिक बस्ती नभएको र तालको आसपासका क्षेत्रमा रहेका बस्तीलाई सम्भावित जोखिमलाई ध्यानमा राखी सतर्कता अपनाउन भनिएको बताए ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक वासुदेव पाठकका अनुसार ताल फुटेर आएको बाढीले एउटा कच्ची पुल बगाएको छ । उनले ताल फुटेर ठूलो बाढी नआएका कारण डराउनुपर्ने अवस्था नरहेको भन्दै जोखिमलाई ध्यानमा राखी आसपासका बस्तीमा सतर्कता अपनाउन भनिएको बताए । यता वीरेन्द्र ताल फुटेर बूढीगण्डकीमा बहाव बढेकाले तल्लो तटीय क्षेत्रमा सतर्क रहेन गृह मन्त्रालयले आग्रह गरेको छ ।

‘हिउँ पहिरोले ताल फुट्दा बूढीगण्डकी नदीमा पानीको बहाव उच्च भएको छ । बिहान पौने नौं बजेतिर तालमा ठूलो हिउँ पहिरो झरेको स्थानीयले बताएका छन्,’ गृह मन्त्रालयका प्रवत्ता नारायणप्रसाद भट्टराईले भने । बाढीले नदी आसपास क्षति गर्न सक्ने भन्दै गृह मन्त्रालयले तल्लो तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरेको छ । ‘बाढीले क्षति गर्ने संभावना हुन्छ । बाढी आउनुपूर्व नै सुरक्षित रहन अपील गर्दछौं’, उनले भने ।

ताल रहेको क्षेत्र चुननुब्री– १ सामागाउँबाट झण्डै दुई घण्टाको पैदल दूरीमा पर्ने चुमलुब्री गाउँपालिका–१ की वडा सदस्य दिजेन लामाले जानकारी दिइन् । हाल घटनास्थलमै रहेकी वडासदस्य लामाले तालमा माथिबाट ठूलो पहिरो खसेकाले एकै पटक ठूलो परिणाममा तालको पानी बाहिरिँदा बाढी आएको बताइन् । ‘बाढी अत्यन्तै ठूलो छ,’ उनले सुनाइन्, ‘वर्खामा कालीगण्डकीमा आउने भन्दा पनि ठूलो बाढी अहिले कालीगण्डकीतर्फ अघि बढिरहेको छ । हामीले नदी आसपास क्षेत्रका स्थानीयलाई सतर्क रहन सूचना गरेका छौँ ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७