‘गौर हत्याकाण्ड’ मुद्दामा सर्वोच्चको कारण देखाउ आदेश


१२ बैशाख २०८१, बुधबार
sarbochha 1

काठमाडौं । सर्वोच्च अदालतले गौर हत्याकाण्डसम्बन्धी मुद्दामा कारण देखाउ आदेश जारी गरेको छ । आज (बुधबार) न्यायाधीश तिलप्रसाद श्रेष्ठको इजलासले कारण देखाउ आदेश जारी गरेको हो ।

गौर नरसंहारको अनुसन्धान गरी दोषीमाथि कानुनी कारवाहीको माग गर्दै त्रिभुवन साहले २१ जेठ २०८० सालमा सर्वोच्चमा रिट दायर गरेका थिए । जिल्ला प्रहरी कार्यालय रौतहट र जिल्ला सरकारी वकिलको कार्यालय गौर समेतलाई रिटमा विपक्षी बनाइएको छ । रिट निवेदनमा उत्प्रेषणको आदेश माग दावी गरिएको छ ।

यसअघि सर्वोच्चले जेठ ३० गते मुद्दामाथि सुनुवाइ गर्दै अन्य आदेश जारी गरेको थियो । २०६३ चैत ७ गते तत्कालीन मधेसी जनाधिकार फोरम र नेकपा माओवादीका कार्यकर्ताबीचको झडपमा २७ जना माओवादी कार्यकर्ताको ज्यान गएको थियो । हत्याकाण्ड भएको लामो वितिसक्दा पनि राज्यले दोषीलाई कारबाही गर्न नसकेका भन्दै सर्वोच्च अदालतमा रिट दायर भएको हो ।

गौर घटनाका पीडितले न्याय माग्दै पटक पटक आन्दोलन,धर्ना बसे पनि न्यायका लागि कसैले पहल नगरेपछि सर्वोच्च पुगेका हुन् । २०६३ साल चैत्र ७ गते रौतहटको सदरमुकाम गौरस्थित राईसमिलको चौरमा तत्कालीन मधेशी जनअधिकार फोरम र तत्कालीन नेकपा माओवादीले एउटै चौरमा सभा गर्न लाग्दा दुई पक्षबीच झडप भएको थियो ।

झडपमा परी २७ जना माओवादी कार्यकर्ताको मृत्यु भएको थियो । सो घटनामा ५० भन्दा बढी माओवादी कार्यकर्ता घाइते भएका थिए । माओवादी कार्यकर्तालाई लक्षित गरी गरिएको आक्रमण पूर्वनियोजित तथा संगठित रूपमा भएको राष्ट्रिय मानवअधिकार आयोगले घटनाको छानबिनपछि ठहर गरेको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७