इलाममा ओलीको चुनावी भाषण : पैसा लिएर पनि एउटा बाटो बनाउन नसक्नेले देश बनाउँछ ?


१२ बैशाख २०८१, बुधबार
oli 4

इलाम । सत्तारुढ नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले इलाम क्षेत्र नम्बर २ मा एमालेले अगाडि सारेको, नेकपा (माओवादी केन्द्र), नेकपा र परिवार दलको साझा उम्मेदवार सुहाङ नेम्वाङलाई इलामेली जनताले विजयी गराउनेमा आफू विश्वस्त रहेको बताएका छन् ।

उनले इलामेली जनताको आत्मविश्वासले सुहाङले जित्ने पक्का भएको बताए । उनले २०४८, ५१ सालमा एमालेले चुनाव लडे जस्तो समय नभएको बताएका छन् । अध्यक्ष ओलीले त्यो बेलाको चुनाव सम्झँदै भने, ‘कम्युनिष्टले चुनाव जित्यो भने ६० वर्ष माथिकालाई गोली हानेर मार्छन् भनेर प्रचार गर्थे तर एमालेले जितेपछि घरमा भत्ता लिएर पुग्न थाल्यो ।’ उनले चुनावका बेला विपक्षी कम्युनिष्ट मार्छन् भन्नेसम्मको झुटा कुरा फैलाउने गरेको बताए ।

‘अहिले केही साथीहरू विकास गर्छौँ भन्दै हिँड्नु भएको छ’, नेपाली कांग्रेसका तर्फबाट इलामको उपनिर्वाचनमा उम्मेदवार बनेका डम्बर खड्काप्रति लक्षित गर्दै उनले भने,‘ सबैतिरको बाटो बनेको छ । पैसा लिएर पनि बाटो बनाउन नसक्नेले इलाम बनाउन सक्दैन ।’ मदन भण्डारी राजमार्ग अन्तर्गत दमक चुलाचुली खण्ड बनाउने बाटोको ठेकेदार खड्का हुन् । पूर्व प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाप्रति इगित गर्दै पाँच–पाँच पटक प्रधानमन्त्री हुँदा पनि केही काम नगरेको आरोप लगाए । उनले भने, ‘मित्र के काम गर्नु भो ? भनेर संसदमा सोधेको जवाफ छैन् ।’

उनले पहिचानका कुरा गरेर नेपाली समाजमा विभाजन ल्याउन थालेकोप्रति चिन्ता व्यक्त गरे । उनले भने, ‘म जात जातिका कुरा गर्ने साथीहरूलाई भन्न चाहन्छु । एउटा जनजातिको छोरालाई कुन पार्टीले संविधान सभाको सभाध्यक्ष बनायो ? कुन पार्टीले जनजातिको छोरालाई कानुन मन्त्री बनायो ? दलितलाई राष्ट्रिय सभाको उपाध्यक्ष कसले बनायो ? पहिलो पटक महिलालाई रक्षा मन्त्री कसले बनायो ? थाहा हुनुपर्ने हो यो सब एमालेले बनाएको हो ।’

अध्यक्ष ओलीले अहिले दलित देखे दलितलाई भड्काउने, मधेश र पहाड भनेर झगडा लगाइदिने र राई र लिम्बूहरूका बीचमा झगडा लगाउने काम अहिले भइरहेको बताए । उनले सबैको भाषा, संस्कार र सस्कृतिको रक्षा गर्न एमाले लागेको दाबी गरे ।
आफू र आफ्नो पार्टी पहिचान विरोधी नभएको उनले बताए । उनले एमालेले जति दलितलाई माथि पुर्‍याउने, मुस्लिमलाई माथि पु¥याउने काम अरूले नगरेको स्पष्ट पारे । अध्यक्ष ओलीले देश ओरालो लागेकाले नयाँ समीकरण बनाएको बताए । उनले सुदृढ राष्ट्रिय शक्ति निर्माणका लागि आजैबाट काम थाल्नुपर्ने बताए । अस्वस्थ प्रतिस्पर्धा रोक्नका लागि पनि नयाँ समीकरण र वाम गठबन्धन बनेको बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७