डा. बाबुराम भट्टराईले मतदातासँग मागे माफी : सहयोगको बदला प्रचण्डले जालझेल गरे

‘गोरखा–२ छाडेर मैले गल्ती गरें’


१३ बैशाख २०८१, बिहीबार
baburam

काठमाडौं । नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष डा. बाबुराम भट्टराईले गत चुनावमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई गोरखा–२ छोडेर आफूले गल्ती गरेको आत्मसमीक्षा गरेका छन् ।

सामाजिक सञ्जाल ट्वीटरमार्फत पूर्व प्रधानमन्त्री समेत रहेका भट्टराईले आफूले असल मनसायले गरेको निर्णयले आम जनता र पार्टीका नेता–कार्यकर्तामा पर्न गएको असुविधाप्रति क्षमायाचना गरेका छन् । २०७९ को आम चुनावमा भट्टराईले प्रचण्डका लागि आफूले जित्दै आएको गोरखा–२ छोडिदिएका थिए । कहिलेकाहीँ असल मनसायले गरेको कामको गलत परिणाम आउले उनले बताएका छन् । जनसेवामा समर्पित इमान्दार मान्छेले त्यसलाई स्वीकारेर सच्याउन हिच्किचाउन नहुने उनको भनाइ छ ।

‘जिल्ला भ्रमणको क्रममा अत्यधिक जनसमुदाय र पार्टीका साथीहरूले मैले गत आम निर्वाचनमा गोरखा–२ बाट उम्मेदवार नबन्नु र प्रचण्डलाई छोडिदिनु गम्भीर गल्ती भएको बताएका छ । साथै विद्यमान संसदीय राजनीतिका प्रमुख खेलाडीहरूको भ्रष्ट, अनैतिक र पाखण्डी चरित्रको ख्याल नगरी ‘गान्धीवादी’ आदर्श र त्यागको मार्ग अवलम्बन गर्नु मेरो कमजोरी रहेको भनेर खुला आलोचना गरेका छन् ।

उनले लेखेका छन्, ‘मैले आफू सदन र सरकारमा नगई पार्टी र सडकका मञ्चबाट सफा र जनमुखी राजनीतिको पैरवी गर्नु र सत्तासीनहरूलाई खबरदारी गरिरहनु उपयुक्त हुने ठानेर साथीहरूलाई जानकारी गराएरै सो निर्णयमा पुगेको हुँ । मैले असल मनसायले गरेको निर्णयले आम जनता र पार्टीका साथीहरूलाई पर्न गएको असुविधाप्रति क्षमाप्रार्थी छु !’ उनले निर्वाचनयता प्रचण्डको सत्तालिप्सा र दोधारे चरित्र झन् नाङ्गो रूपमा प्रदर्शित हुँदै गइरहेको आरोप समेत लगाएका छन् ।

आफूले प्रचण्डलाई निस्वार्थ गरेको सहयोगको बदलामा अनर्गल झुट र जालझेलका प्रपञ्च रचेर चरम अशोभनीय हर्कत गर्दै गइरहेको उनको आरोप छ । ‘निर्वाचनयता मुख्यतः प्रचण्डको सत्तालिप्सा र दोधारे चरित्र झन् नाङ्गो रूपमा प्रदर्शित हुँदै गइरहेको, उल्टै मैले उनलाई निस्वार्थ गरेको सहयोगको बदलामा अनर्गल झुट र जालझेलका प्रपञ्च रचेर चरम अशोभनीय हर्कत गर्दै गइरहेको, देश र जनताका आकांक्षामा गम्भीर कुठाराघात गरिरहेको, जनयुद्धमा लाखौं जनताका अतुलनीय त्याग र बलिदानलाई उनको सत्ता स्वार्थसँग साटेर सत्य निरूपण तथा मेलमिलाप र बेपत्तासम्बन्धी आयोगहरूका कामलाई टुंग्याउनु सट्टा खेलवाड गरिरहेकोलगायत घटनाक्रमहरूले गोरखाली मतदाताहरूले व्यक्त गरेको असन्तुष्टि र मसँग गरेको गुनासोलाई अन्यथा भन्न सकिने अवस्था रहेन,’ भट्टराईले लेखेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७