इलाम र बझाङमा आज उपनिर्वाचन : दुई सांसद छान्न एक लाख ७५ हजारले मतदान गर्दै

दल र स्वतन्त्र गरी ३० उम्मेदवार चुनावी प्रतिष्पर्धामा


१५ बैशाख २०८१, शनिबार
ilam matdan

काठमाडौं । इलाम र बझाङमा आज (शनिबार) उपनिर्वाचन हुँदैछ । इलाम–२ मा प्रतिनिधिसभा सदस्य र बझाङ निर्वाचन क्षेत्र १ (क) मा प्रदेशसभा सदस्यका लागि उपनिर्वाचन हुन लागेको हो । यी दुई स्थानमा उपनिर्वाचनको सम्पूर्ण तयारी पूरा भएको निर्वाचन आयोगले जानकारी दिएको छ ।

बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदानको समय निर्धारण गरिएको छ । आयोगबाट प्रकाशित अन्तिम मतदाता नामावलीमा नाम समावेश भएका मतदाताले आयोगबाट जारी भएको मतदाता परिचयपत्र, नेपाली नागरिकताको प्रमाणपत्र, राष्ट्रिय परिचयपत्र, राहदानी, स्थायी लेखा नम्बर परिचयपत्र, सवारी चालक अनुमतिपत्रमध्ये कुनै एकको सक्कल प्रमाणका आधारमा मतदान गर्न पाउने व्यवस्था मिलाइएको आयोगले जनाएको छ । निर्वाचनलाई व्यवस्थित र पारदर्शी बनाउन अनुगमन निरीक्षणको काम प्रभावकारी रुपमा भइरहेको पनि आयोगले जनाएको छ ।

इलाम–२ बाट प्रतिनिधि सभामा निर्वाचित सांसद सुवासचन्द्र नेम्वाङको निधन भएकाले त्यहाँ उपचुनाव हुन लागेको हो । त्यस्तै बझाङको प्रदेश सभा १ (१) पनि त्यहाँबाट निर्वाचित प्रदेश सभा सदस्य पृथ्वीबहादुर सिंहको निधन भएपछि उपनिर्वाचन हुन लागेको छ । निर्वाचन आयोगले मतदानको समय बिहान ७ बजेदेखि साँझ ५ बजेसम्मको समय निर्धारण गरेको छ ।

आयोगले यसअघि नै सार्वजनिक गरेको विवरण अनुसार इलाम क्षेत्र नम्बर २ मा एक लाख १५ हजार ८८९ जना मतदाता छन् । बझाङको १ (१) मा ६१ हजार ७४८ जना छन् । यस पटक इलाममा ४२२ जना र बझाङमा ६३८ जना मतदाता थपिएका छन् । दुई निर्वाचन क्षेत्रमा ३० जना चुनाव लड्दै छन् । इलाममा १९ र बझाङमा ११ जना उम्मेदवार चुनावी मैदानमा छन् । इलाममा एमालेबाट सुहाङ नेम्वाङ उम्मेदवार छन् । उनी संविधान सभाका अध्यक्ष दिवंगत सुवास नेम्बाङका छोरा हुन् । उनलाई माओवादी केन्द्रले पनि समर्थन गरेको छ ।

त्यस्तै नेपाली कांग्रेसबाट डम्बरबहादुर खड्का उम्मेदवार छन् । राष्ट्रिय स्वतन्त्र पार्टीबाट मिलन लिम्बू, एकीकृत समाजवादीबाट जीतबहादुर राई, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट लक्ष्मी गुरूङ, जनमत पार्टीबाट प्रेमकुमार थाम्सुहाङ, नेपाल मजदुर किसान पार्टीबाट श्यामबहादुर दर्जी, मंगोल नेसनल अर्गनाइजेसनबाट मनिबहादुर लिम्बू, राप्रपा नेपालबाट गणेशबहादुर चौहान, नेपाली जनता दलबाट रेशम बहादुर सुनार उम्मेदवार छन् ।

नेसनल रिपब्लिक नेपालबाट धनराज रानामगर र राष्ट्रिय मुक्ति आन्दोलन नेपालबाट जयवन्त विक्रम शाह उम्मेदवार छन् । यहाँ सात जनाले स्वतन्त्र उम्मेदवारी दिएका छन् । अर्जुन बहादुर शाही, डेकेन्द्रसिंह लिम्बू, डाक प्रसाद गौतम, दिपेश बोहोरा, मनोज निरौला, योगेन्द्र गुरूङ र राज बस्यालले स्वतन्त्र उम्मेदवारी दिएका हुन् ।

बझाङ–१ को प्रदेश सभा १ मा ११ जना उम्मेदवार छन् । बझाङमा एमालेबाट दमनबहादुर भण्डारी, कांग्रेसबाट अभिषेक बहादुर सिंह, माओवादी केन्द्रबाट जनक बहादुर बुढा, राप्रपाबाट किशोर कुमार खड्का, एकीकृत समाजवादीबाट दिल बहादुर सिंह, नेमकिपाबाट खगेन्द्र बहादुर शाही, जनमत पार्टीबाट शुशिला देवी विष्ट, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट दीपक बहादुर खड्का, जनता समाजवादी पार्टीबाट राम बहादुर खड्का, नेसनल रिपब्लिकन नेपालबाट कमल घर्तीमगर, राष्ट्रिय मातृभूमि पार्टीबाट गजेन्द्र बहादुर थापा उम्मेदवार छन् ।

इलाम–२ मा ७९ मतदानस्थल र १४९ मतदान केन्द्र तोकिएको छ । बझाङको प्रतिनिधि सभा क्षेत्र नम्बर १ को प्रदेश सभा निर्वाचन क्षेत्र नम्बर १ मा ७४ मतदानस्थल र ९३ मतदान केन्द्र तोकिएको छ । उपनिर्वाचनमा सुरक्षा प्रबन्धका लागि कुल २ हजार ३८७ जना प्रहरी खटिने छन् । इलाममा ३९ मतदानस्थल सामान्य, २१ संवेदनशील र १९ मतदानस्थल अतिसंवेदनशील छन् । यस आधारमा इलाममा ४७२ जना प्रहरी सामान्य मतदानस्थलमा, २८९ प्रहरी संवेदनशील मतदानस्थलमा र ३१८ जना अति संवेदनशील मतदानस्थलमा खटिने छन् ।

त्यस्तै ११ वटा मोबाइल गाडीमा ७७ जना प्रहरी परिचालन गरिनेछ । बझाङमा २७ मतदानस्थल सामान्य, २४ मतदानस्थल संवेदनशील र २३ मतदानस्थल अतिसंवेदनशील छन् । त्यस अनुसार बझाङमा सामान्य मतदानस्थलमा २३६ प्रहरी, संवेदनशील स्थानमा २४६ र अतिसंवेदनशील मतदानस्थलमा ३२१ जना प्रहरी परिचालन हुनेछ । त्यहाँ १५ वटा मोबाइल गाडीमा १०५ जना सुरक्षाकर्मी परिचालन गरिनेछ ।

मतदानस्थल-केन्द्रको सुरक्षामा खटिएका प्रहरीले कुन बेला बल प्रयोग गर्ने भन्नेबारे तोकिएको छ । मतदान केन्द्रमा हिंसात्मक, ध्वंसात्मक र अवाञ्छित गतिविधिको पूर्वसूचना पाएको अवस्थामा, दलका समर्थकहरूबीच झैझगडा, कुटपिट भई मतपत्र तथा मतपेटिका तहसनहस हुन सक्ने अवस्थामा आएमा, आक्रोशित भिडबाट आक्रमण हुन सक्ने अवस्था आएमा, मतदान केन्द्र कब्जा लिएमा वा लिने प्रयत्न गरेमा, मतदाताहरूलाई मतदान केन्द्रमा जान नदिएमा वा मतदान गर्न अवरोध पुर्‍याउन खोजेको अवस्थामा सुरक्षाकर्मीले बल प्रयोग गर्न सक्छन् । त्यस्तो अवस्थामा पनि सकेसम्म सम्झाइबुझाई स्थिति सामान्य बनाउन प्रयत्न गरिने छ ।

बल प्रयोग गर्नुपर्ने अवस्था आएमा मतदान अधिकृतसँग समन्वय गरी सम्भव भएसम्म जिल्लाको कमाण्ड पोस्टमा प्रतिवेदन गरी निर्देशन भएबमोजिम सुरक्षा कारबाही गर्नेछ । मतदान स्थलको सुरक्षा व्यवस्था कडा पार्न सेनासमेत परिचालन गरिनेछ । मतदान सकिएपछि सर्वदलीय बैठकले निर्णय गरेपछि मतगणना सुरू हुनेछ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७