इलाम–२ मा शान्तिपूर्ण रूपमा मतदान शुरु


१५ बैशाख २०८१, शनिबार
ilam chunab

इलाम । उपनिर्वाचन अन्तर्गत इलाम क्षेत्र–२ मा मतदान शुरु भएको छ । सबै १४९ मतदान केन्द्रमा शान्तिपूर्ण रूपमा मतदान प्रारम्भ भएको मुख्य निर्वाचन अधिकृत केशवप्रसाद घिमिरेले बताए ।

शान्तिपूर्ण एवं भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्न सात सय ४५ कर्मचारी, एक हजार पाँच सय २३ नेपाल प्रहरी, सात सय १० सशस्त्र प्रहरी बल, चार सय ५० नेपाली सेना र राष्ट्रिय अनुसन्धान विभागका २४ जना परिचालन भएका उनले बताए । यो चुनावमा एक लाख १५ हजार आठ सय ८९ मतदाता कायम भएका छन् ।

आयोगका अनुसार ५९ हजार १८ पुरुष, ५६ हजार आठ सय ६९ महिला र दुई जना तेस्रो लिङ्गी छन् । इलाम–२ बाट प्रतिनिधि सभामा निर्वाचित सांसद सुवासचन्द्र नेम्वाङको निधन भएकाले त्यहाँ उपचुनाव हुन लागेको हो । इलाममा एमालेबाट सुहाङ नेम्वाङ उम्मेदवार छन् । उनी संविधान सभाका अध्यक्ष दिवंगत सुवास नेम्बाङका छोरा हुन् । उनलाई माओवादी केन्द्रले पनि समर्थन गरेको छ ।

त्यस्तै नेपाली कांग्रेसबाट डम्बरबहादुर खड्का उम्मेदवार छन् । राष्ट्रिय स्वतन्त्र पार्टीबाट मिलन लिम्बू, एकीकृत समाजवादीबाट जीतबहादुर राई, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट लक्ष्मी गुरूङ, जनमत पार्टीबाट प्रेमकुमार थाम्सुहाङ, नेपाल मजदुर किसान पार्टीबाट श्यामबहादुर दर्जी, मंगोल नेसनल अर्गनाइजेसनबाट मनिबहादुर लिम्बू, राप्रपा नेपालबाट गणेशबहादुर चौहान, नेपाली जनता दलबाट रेशम बहादुर सुनार उम्मेदवार छन् ।

नेसनल रिपब्लिक नेपालबाट धनराज रानामगर र राष्ट्रिय मुक्ति आन्दोलन नेपालबाट जयवन्त विक्रम शाह उम्मेदवार छन् । यहाँ सात जनाले स्वतन्त्र उम्मेदवारी दिएका छन् । अर्जुन बहादुर शाही, डेकेन्द्रसिंह लिम्बू, डाक प्रसाद गौतम, दिपेश बोहोरा, मनोज निरौला, योगेन्द्र गुरूङ र राज बस्यालले स्वतन्त्र उम्मेदवारी दिएका हुन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७