मतदान गर्दा सुहाङले सम्झिए बुबा, भने–भावुकसँगै उत्साहित छु


१५ बैशाख २०८१, शनिबार
suhang 2

इलाम । इलाम–२ मा एमालेका तर्फबाट चुनावी मैदानमा रहेका उम्मेदवार सुहाङ नेम्वाङले मतदान गरेका छन् । उनले सवा ७ बजे महेन्द्र रत्न बहुमुखी क्याम्पसमा रहेको मतदान केन्द्रमा मतदान गरेका हुन् ।

मतदान गरेपछि सुहाङले उत्साहित भएको बताए । ‘उत्साह महसुस भएको छ । बुवा (सुवास नेम्वाङ) लाई सम्झेर भावुक पनि भएको छु’, उनले भने, ‘उम्मेदवार बनेर मतदान गरेको पहिलो अनुभव हो । उत्साहजनक रह्यो । जित निश्चित भन्नेमा म आशावादी छु । इलाम नयाँ युगमा अग्रसर भएको छ ।’

बिहान ७ बजेबाट मतदान सुरु भएको मतदान साँझ ५ बजेसम्म हुनेछ । लामो लाइनमा बसेर इलाममा मतदाताले मतदान गरिरहेका छन् । उपनिर्वाचनमा १२ वटा राजनीतिक दल र सात स्वतन्त्रसहित १९ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । २०७९ मंसिर ४ को निर्वाचनमा नेम्वाङले कांग्रेसका डम्बर खड्कालाई १ सय १४ मतको झिनो अन्तरले हराएका थिए । पहिलो पटक निर्वाचन भएको करिब १८ महिना ११ दिनपछि हुन लागेको उपनिर्वाचनलाई महत्वका साथ हेरिएको छ ।

एमाले, कांग्रेस जस्ता ठूला र अनुभवी दलसँगै राष्ट्रिय स्वतन्त्र जस्ता भर्खरै जन्मिएको दलका उम्मेदवार पनि प्रतिस्पर्धामा छन् । प्रमुख निर्वाचन अधिकृत केशवप्रसाद घिमिरेले इलाम २ का १ सय ४९ मतदान केन्द्रमा एकै पटक मतदान सुरु भएको जानकारी दिए । घिमिरेले भने, ‘मतदाताको उत्साहजनक उपस्थिति देखिएको छ ।’ जिल्ला प्रशासन कार्यालयका अनुसार ७९ मतदानस्थलका एक सय ४९ मतदान केन्द्रमा १ हजार तीन सय ६३ प्रहरी परिचालन गरिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७