उपनिर्वाचन : इलामका उम्मेदवारले गरे मतदान


१५ बैशाख २०८१, शनिबार
Ilam upachunab

काठमाडौं । उपनिर्वाचन अन्तर्गत इलाम–२ मा प्रतिनिधि सभा सदस्यका लागि बिहानबाट सुरु भएको मतदानमा दलका प्रतिस्पर्धी मुख्य भनिएका उम्मेदवारहरूले मतदान गरिसकेका छन् । शनिबार एमाले उम्मेदवार सुहाङ नेम्वाङले महेन्द्ररत्न बहुमुखी क्याम्पसको ‘ग’ केन्द्रबाट मतदान गरे । नेपाली कांग्रेसका उम्मेदवार डम्बर खड्काले पनि सोही क्याम्पसमा रहेको मतदान केन्द्रको ‘क’ केन्द्रबाटै मतदान गरिसकेका छन् ।

suhang 4
इलामको क्षेत्र नं २ मा आज शनिबार भइरहेको प्रतिनिधि सभा सदस्य उपनिर्वाचनका लागि इलाम नगरपालिका-७ स्थित महेन्द्ररत्न बहुमुखी क्याम्पसमा मतदान गर्दै नेकपा (एमाले)का तर्फबाट यो क्षेत्रका उम्मेदवार सुहाङ नेम्बाङ । तस्बिर : टीकाप्रसाद खतिवडा / रासस

यस्तै, सोही केन्द्रबाट एमाले सांसाद महेश बस्नेतले पनि मतदान गरेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार मिलन लिम्बूले पनि माङसेबुङ–२ दहगाउँस्थित जनता कल्याण आधारभुत विद्यालयको ‘ख’ केन्द्रबाट मतदान गरेका छन् ।
स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमले पनि मतदान गरिसकेको जानकारी दिएका छन् । उनले आफ्नै जन्मस्थान फाकफोकथुम गाउँपालिका –३ स्थित सिंहदेबी मा.बि. शुक्रबारे (क) मतदान केन्द्रमा पुगेर सबैभन्दा पहिला मतदान गरेको जानकारी दिए ।

dambar khadka 1
इलामको क्षेत्र नं २ मा आज शनिबार भइरहेको प्रतिनिधि सभा सदस्य उपनिर्वाचनका लागि इलाम नगरपालिका – स्थित महेन्द्ररत्न बहुमुखी क्याम्पसमा मतदान गर्दै नेपाली कांग्रेसका तर्फबाट यो क्षेत्रका उम्मेदवार डम्बर खड्का । तस्बिर : टीकाप्रसाद खतिवडा / रासस

बिहान ७ बजेदेखि सुरु भएको मतदान साँझ ५ बजेसम्म चल्नेछ । इलाम–२ का प्रतिनिधि सभा सदस्य एमाले नेता सुवास नेम्वाङको निधन भएपछि रिक्त पदमा उपनिर्वाचन गराइएको हो । जहाँ उनकै छोरा सुहाङ उम्मेदवार छन् । विभिन्न राजनीतिक दल र स्वतन्त्र गरी १९ उम्मेदवार इलाम– २ को चुनावी प्रतिस्पर्धामा छन् ।

Milan limbu 1
इलामको क्षेत्र नं २ मा आज शनिबार भइरहेको प्रतिनिधि सभा सदस्य उपनिर्वाचनका लागि माङसेबुङ गाउँपालिका २ स्थित जनताकल्याण आधारभूत विद्यालयमा मतदान गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार मिलन लिम्बू । तस्बिर :रामकुमार लिम्बू / रासस,

सबै १४९ मतदान केन्द्रमा शान्तिपूर्ण रूपमा मतदान प्रारम्भ भएको मुख्य निर्वाचन अधिकृत केशवप्रसाद घिमिरेले बताए । शान्तिपूर्ण एवं भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्न सात सय ४५ कर्मचारी, एक हजार पाँच सय २३ नेपाल प्रहरी, सात सय १० सशस्त्र प्रहरी बल, चार सय ५० नेपाली सेना र राष्ट्रिय अनुसन्धान विभागका २४ जना परिचालन भएका उनले बताए । यो चुनावमा एक लाख १५ हजार आठ सय ८९ मतदाता कायम भएका छन् ।

आयोगका अनुसार ५९ हजार १८ पुरुष, ५६ हजार आठ सय ६९ महिला र दुई जना तेस्रो लिङ्गी छन् । इलाम–२ बाट प्रतिनिधि सभामा निर्वाचित सांसद सुवासचन्द्र नेम्वाङको निधन भएकाले त्यहाँ उपचुनाव हुन लागेको हो । इलाममा एमालेबाट सुहाङ नेम्वाङ उम्मेदवार छन् । उनी संविधान सभाका अध्यक्ष दिवंगत सुवास नेम्बाङका छोरा हुन् । उनलाई माओवादी केन्द्रले पनि समर्थन गरेको छ ।

dekendra

त्यस्तै नेपाली कांग्रेसबाट डम्बरबहादुर खड्का उम्मेदवार छन् । राष्ट्रिय स्वतन्त्र पार्टीबाट मिलन लिम्बू, एकीकृत समाजवादीबाट जीतबहादुर राई, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट लक्ष्मी गुरूङ, जनमत पार्टीबाट प्रेमकुमार थाम्सुहाङ, नेपाल मजदुर किसान पार्टीबाट श्यामबहादुर दर्जी, मंगोल नेसनल अर्गनाइजेसनबाट मनिबहादुर लिम्बू, राप्रपा नेपालबाट गणेशबहादुर चौहान, नेपाली जनता दलबाट रेशम बहादुर सुनार उम्मेदवार छन् ।

नेसनल रिपब्लिक नेपालबाट धनराज रानामगर र राष्ट्रिय मुक्ति आन्दोलन नेपालबाट जयवन्त विक्रम शाह उम्मेदवार छन् । यहाँ सात जनाले स्वतन्त्र उम्मेदवारी दिएका छन् । अर्जुन बहादुर शाही, डेकेन्द्रसिंह लिम्बू, डाक प्रसाद गौतम, दिपेश बोहोरा, मनोज निरौला, योगेन्द्र गुरूङ र राज बस्यालले स्वतन्त्र उम्मेदवारी दिएका हुन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७