इलाममा २५ हजार मत गन्दा सुहाङ ३३ सयले अगाडि, मिलनकै वडामा बजेन रास्वपाको घण्टी

स्वतन्त्र उम्मेदवार डाकप्रसाद गौतमले अहिलेसम्म पाएनन् एक मत पनि


१७ बैशाख २०८१, सोमबार
Ilam Update

काठमाडौं । इलाम–२ मा २५ हजार मत गनिसक्दा नेकपा एमाले उम्मेदवार सुहाङ नेम्वाङले अग्रता कायमै राखेका छन् । फाकफोकथुम, चुलाचुली र माङसेबुङको १, २, ३ र ४ नम्बर वडाको मत गणना हुँदा एमालेका सुहाङले १० हजार ४१९ मत प्राप्त गरेका छन् ।

उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका डम्बर खड्काले ७,०६२ मत प्राप्त गरेका छन् । तेस्रो स्थानमा रहेका मुढा चुनाव चिह्न भएका डकेन्द्रसिंह थेगिमले ५,७५३ मत ल्याएका छन् । चौथोमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार मिलन लिम्बू रहेका छन् । उनले अहिलेसम्म १,४५१ मत ल्याएका छन् । एकीकृत समाजवादीका उम्मेदवार जीतबहादुर राईले २५८ मत ल्याएका छन् ।

इलाम–२ मा अहिलेसम्म २५ हजार ४५१ सदर मत गणना भएको छ । एक लाख १५ हजार ८८९ मतदाता मध्ये शनिबार भएको चुनावमा ६९ हजार २८७ जनाले मतदान गरेका थिए । केहीबेर अघिबाट तीन स्थानबाट गणना सुरु भएको हो । इलाम क्षेत्र नम्बर २ मा रास्वपाले जित्ने अपेक्षासहित उम्मेदवार बनाएका युवा मिलन योङहाङ लिम्बूले अपेक्षित मत प्राप्त गर्न नसकिरहेका बेला आफ्नै वडामा पनि कमजोर देखिएका छन् ।

मिलनको आफ्नै वडामा बजेन रास्वपाको घण्टी

रास्वपा उम्मेदवार मिलन लिम्बूले माङसेबुङबाट राम्रो मत जम्मा हुने अपेक्षा गरेका थिए । तर, उनकै वडामा सय मत कटेन । उनी माङसेबुङ गाउँपालिका वडा नम्बर २ का मतदाता समेत हुन् । सो वडाको अन्तिम गणनामा मिलनले ९६ मत मात्र प्राप्त गरेका छन् । माङ्सेबुङ–२ मा पनि एमालेका सुहाङ नेम्वाङले नै सर्वाधिक ५८६ मत पाएका छन् । दोस्रोमा कांग्रेसका डम्बर खड्काको ३५१ र पहिचानवादी डकेन्द्र थेगिमको ३१७ मत आएको थियो ।

मिलनकै वडामा सुहाङले २३५ मतले कांग्रेसलाई लिड गरे । माङसेबुङबाट पहिचानवादी मुढाले अग्रता लिने अपेक्षा समेत मेल खाएन । अहिलेसम्म गणना भएका फाकफोकथुम, चुलाचुली र माङसेबुङ तीनवटै गाउँपालिकामा एमालेले अग्रता लिएको छ । फाकफोकथुम थेगिमको गाउँपालिका भए पनि उनले एमालेलाई उछिन्न सकेनन् ।

स्वतन्त्र उम्मेदवारको अझै शून्य मत
अहिलेसम्मको मत गणनामा स्वतन्त्र उम्मेदवार डाकप्रसाद गौतमले एक मत पनि पाउन सकेका छैनन् । अर्का उम्मेदवार धनराज राना मगरले भने २ मत पाएका छन् । शनिबार उपनिर्वाचन भएको इलाम २ को मतगणना आइतबारदेखि जारी छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७