सामुदायिक विद्यालयको शिक्षक हुन अब यी ८ योग्यता अनिवार्य चाहिने
काठमाडौं, २७ जेठ । सामुदायिक विद्यालयको शिक्षक हुन अब अनिवार्य रुपमा ८ वटा योग्यता पुगेको हुनुपर्ने व्यवस्था लागू हुने भएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयअन्तर्गत पाठ्यक्रम विकास केन्द्रले तयार पारेको विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारूपमा यस्तो योग्यता तोकिएको हो ।
मस्यौदाका रुपमा रहेको उक्त प्रारुपमा सामुदायिक विद्यालयका शिक्षकहरुमा विषयवस्तुको ज्ञानदेखि सूचना तथा सञ्चार र प्रविधिको समेत ज्ञान हुनुपर्ने योग्यता तोकिएको छ । प्रारुपले विद्यालय शिक्षाको गुणस्तर सुधारका लागि विषयगत अध्यापन अनुमतिपत्रसहितको व्यवस्था गर्ने प्रस्ताव गरेको छ। विद्यमान अध्यापन अनुमति पत्रको व्यवस्थालाई थप सुदृढ गरी गुणस्तरीय शिक्षक तयारी तथा वितरणलाई व्यवस्थित गरिने उल्लेख छ ।
यस्ता छन् शिक्षकमा हुनुपर्ने योग्यता
– विषयवस्तुको ज्ञान
– शिक्षण सिकाइका तौरतरिका सम्बन्धी ज्ञान
– बालबालिकार सिकारु सम्बन्धी ज्ञान
– सिकाइ वातावरण तथा कक्षा व्यवस्थापन
– सञ्चार तथा सहकार्य
– निरन्तर सिकाइ र पेसागत विकास
– कानुनी आधार तथा पेसागत आचारसंहिता
– सूचना तथा सञ्चार प्रविधि
शिक्षक व्यवस्थापन
– विद्यालय शिक्षाको गुणस्तर प्रवर्धनका लागि शिक्षकलाई अध्यापन अनुमति पत्र र तालिम अनिवार्य हुनेछ ।
– विद्यालय शिक्षाको गुणस्तर सुधारका लागि विषयगत अध्यापन अनुमतिपत्रसहितको व्यवस्था गरी विद्यमान अध्यापन अनुमति पत्रको व्यवस्थालाई थप सुदृढ गरी कार्यान्वयन गर्दै लगिनेछ। गुणस्तरीय शिक्षक तयारी तथा वितरणलाई व्यवस्थित गरिनेछ ।
– शिक्षकको पेसागत विकासलाई स्तरीय, प्रयोगमुखी, मूल्यमा आधारित, गुणमा आधारित, अन्तर विषय सम्बन्ध स्थापित हुनेगरी एवं मागमा आधारित हुनेगरी व्यवस्थित गरिनेछ ।
– विशिष्ट योग्यता प्राप्त गर्ने दक्ष जनशक्तिलाई शिक्षण पेसामा आकर्षण गर्न विशेष व्यवस्था गरिनेछ ।