सुन तस्करी प्रकरण : राजधानीको चर्चित ‘बाजेको सेकुवा’ मा छापा


३० जेष्ठ २०७५, बुधबार
Bajeko Sekuwa

काठमाडौं, ३० जेठ । साढे ३३ किलो सुन तस्करी र सनम शाक्य हत्या छानबिन गर्नका लागि गठित विशेष अनुसन्धान समितिले आज फेरि अर्काे छापा मारेको छ । Bajeko Sekuwa

समितिले बुधबार बाजेको सेकुवामा पनि छापा मारेको छ । समितिले प्रतिवादी चेतनाथ भण्डारी सञ्चालक रहेको बाजेको सेकुवामा छापा मारेको हो । नक्साल, गैरीधारास्थित शाखामा समितिले बुधबार छापा मारेको छ । गत चैतमा सुन तस्करीको अनुसन्धान समितिले काम थालेपछि भण्डारी पनि फरार भएका छन् । भण्डारी सुन तस्करीका नाइके भनिएका चुँडामणि उप्रेती गोरेका नातेदार हुन् । संगठित अपराध निवारण ऐन २०७० अनुसार मोरङ जिल्ला अदालतको आदेशमा बाजेको सेकुवा कर्नरमा छापा मारेको समिति स्रोतले जनाएको छ ।

ऐनअनुसार संगठित अपराधका आरोपीले अपराध गरेर कमाएको धन शुद्धिकरणका लागि व्यवसायमा मिसाएको हुनसक्ने आशंकामा छानबिनको अधिकार दिएको छ । नेपाल र विदेशमा समेत शाखा विस्तार गरेको बाजेको सेकुवा कर्नर काठमाडौं र ललितपुरमा पनि शाखा छन् । चेतनाथका बुवा दिनानाथ भण्डारीले बाजेको सेकुवा ब्राण्डलाइ लोकप्रिय बनाएका थिए । अष्ट्रेलिया पढेर फर्किएपछि चेतनाथले बुवाको व्यवसाय सम्हालेका हुन् ।

सुन तस्करीमा संलग्न भएको पाइएपछि समितिले भण्डारीको सम्पत्ति र बैंक खाता यसअघि नै रोक्का गरिसकेको छ । गोरेले नै भण्डारीले पनि सुन तस्करीमा लागनी गरेको रहस्य खोलिदिएका थिए । केही दिनअघि सुन तस्करीका मुख्य लगानीकर्ता भनिएका एमके अर्थात मोहनकुमार अग्रवालको घरमा छापा मारेको समितिले हालै आरकै ज्वेलर्समा पनि छापा मारेको थियो । आरके ज्वेलर्सका सञ्चालक राजेश शाक्य सुन तस्करी काण्ड बाहिरिएसँग फरार छन् । एमके पनि अनुसन्धान अघि बढ्ने वित्तिकै फरार भएका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७