डा. केसीको स्वास्थ्य अवस्था चिन्ताजनक


१८ असार २०७५, सोमबार
Doctor Govinda KC@Jumla

सुर्खेत, १८ असार । जुम्लामा शनिबारदेखि अनसनरत हाडजोर्नी चिकित्सक डा. गोविन्द केसीको स्वास्थ्य चिन्ताजनक बनेको छ ।
अनसनरत डा. केसीको हातखुट्टा, टाउको, छाती दुख्ने समस्या बढ्दै गएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाका मेडिकल डाइरेक्टर डा. पूजन रोकायाले जानकारी दिए ।Doctor Govinda KC@Jumla

‘२४ घण्टामा २ सय मिलिलिटर मात्र पिसाब भएको छ, स्वास्थ्य दैनिकरुपमा निकै खस्किँदै गएकाले अवस्था खतरायुक्त छ’, मेडिकल डाइरेक्टर रोकायाले भने । बत्ती नभएको, भंगेराको दिसा झर्ने ठाउँमा मैनबत्ती बालेर अनसन बसिरहेका डा. केसीको सुरक्षा र स्वास्थ्य उपचारार्थ पहल गर्न मेडिकल टिमले प्रशासनलाई ध्यानाकर्षण गराइसकेको उनले बताए । स्वास्थ्य अवस्था खतरायुक्त भएकाले त्यसको जिम्मेवारी अब आफूहरुले नलिने उनले जनाए ।

जुम्लाका प्रमुख जिल्ला अधिकारी विष्णु पौडेलले डा. केसीको सुरक्षा अवस्थामा निकै संवेदनशील भएर लागेको बताए । ‘डा. केसीको माग आफ्नो ठाउँमा छन् र हामीले सम्मान गरेका छौं, तर उहाँको मागलाई आन्दोलनको रुप दिएर हुलदंगा मच्चाउने, अपराधीकरणतिर लिन दुष्प्रयास गर्ने र शान्ति सुरक्षामा खलल पुर्‍याउनेलाई कडाइ गरेका छौ’, प्रमुख जिल्ला अधिकारी पौडेलले भने ।

डा. केसीको स्वास्थ्य अवस्था भने हिजोभन्दा आज बिग्रदै गएको उनले जनाए । यो समस्याको सहजीकरण कसरी गर्ने भन्ने विषयमा लागि परेको उनको भनाइ छ । अनसनरत डा. केसीका समर्थकले भने उनको मानवअधिकारको सुरक्षा र राखेका मागको अविलम्ब सम्बोधन गर्न सरकारलाई दबाब दिँदै आइरहेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७