राजेशपायल राईको नजरमा योगेश भट्टराई


प्रकाशित मिति : November 3, 2017

 

  • राजेशपायल राई

मलाई ठ्याक्कै तिथिमिति त याद छैन । तर, योगेश भट्टराईसँगको मेरो सम्बन्ध र मित्रता धेरै अघिदेखिको हो । हामी फरकफरक सपना र संघर्षले काठमाडौंका कुनै कलेजमा करिब १५/१६ वर्षअघि भेटिएका थियौं । त्यतिबेला उहाँ विद्यार्थी राजनीतिमा हुनुहुन्थ्यो । म उही गायनमा । एक हिसाबले उहाँ पनि संघर्षको चरणमा हुनुहुन्थ्यो । म पनि गायनयात्राको संघर्षकै चरणमा थिए । उहाँ अनेरास्ववियुका नेताका रूपमा कलेजहरूमा भाषण गर्न जानुहुन्थ्यो । म गायकका रूपमा गीत गाउन जान्थें । तर, हामी दुवैको प्रतिबद्धता भनौं या सपना एउटै थियो, जुन फिल्डमा लागिरहेका छौं, त्यहाँ स्थापित हुने । सुरुका चरणहरूमा हाम्रो भेटको कडी यही थियो । जतिबेला मैले उहाँलाई चिनें, खै किन हो ? मलाई त्यतिबेला नै लागेको थियो, ‘कुनै दिन योगेश भट्टराई यो देशका ठूला नेता बन्नेछन् ।’ उतिबेला मेरो संगतका साथीभाइ अलि बेग्लै प्रकारका थिए । बाहिरी कोणबाट दादागिरी भनिए पनि यथार्थमा नराम्रो कामको प्रतिवाद गर्ने टाइपका साथीहरूसँग मेरो बढी संगत थियो । उहाँ त्यतिबेलादेखि नै अत्यन्तै सरल हुनुहुन्थ्यो । साथीभाइ र साथीसँगीहरूसँग सरल राम्रो व्यवहार गर्नुहुन्थ्यो । त्यस्तो दम्भ र घमन्ड एकरति पनि थिएन । मैले त्यहीबेला उहाँलाई भन्थें, ‘तपार्इं हाम्रो पालाको प्रधानमन्त्री हुनुहुन्छ ।’ मैले कार्यक्रमतिर भेटिँदा पनि प्रधानमन्त्रीज्यू भन्थें । उहाँमा सम्भावना देखेर नै मैले त्यतिबेला नै प्रधानमन्त्रीज्यू भनेर जिस्किन्थें । अहिले पनि भेट्दा कहिलेकाहीँ प्रधानमन्त्रीज्यू भन्ने गरेको छु ।

उहाँ विद्यार्थी राजनीतिबाट पार्टी राजनीतिमा जानुभयो । म आफ्नो गायन यात्रामा । बीचमा धेरै लामो समय भेट भएन । मैले उहाँबारे सञ्चारमाध्यमहरूमा थाहा त पाइ नै रहेको थिएँ । मलाई लाग्छ, मेरो संगीतयात्राबारे उहाँ पनि अपडेट नै हुनुहुन्थ्यो । पछि जब सामाजिक सञ्जालहरू आयो, त्यसपछि हामी फेरि जोडियौं । इनबक्स, कमेन्टहरूका माध्यमले हामी फेरि जोडियौं । संयोगले कजेलको मैदानबाट छुट्टिएका हामी फिटनेस क्लबमा भेटियौं । नारायणहिटी संग्रहालयपछाडिको क्लबमा अहिले हामी सँगै जान्छौं ।

सरल र निष्कलंक नेता
मैले धेरै नेतासँग संगत गरेको छु । नजिकबाट उहाँलाई चिन्ने र जान्ने मौका पनि पाएको छु । तर, अधिकांश नेताहरू यस्ता हुन्छन्, जो बाहिरदेखि हेर्दा एउटा देखिन्छ, भित्र अरू नै हुन्छ । कहीँ न कहीँ छलकपट देखिन्छ । तर, म योगेश भट्टराईलाई जस्तो देख्छु, त्यस्तै पाउँछु । कुनै पनि कोणबाट उहाँले कहिल्यै नेताका रूपमा दम्भ र ठालुपन देखाएको याद छैन । त्यतिको युवा मान्छे, ठूलो पार्टीको सचिव हुनुहुन्छ । त्यतिको उमेरमा त्यो पदमा पुग्दा घमन्ड हुनुपर्ने हो, तर उहाँमा त्यो कहीँकतै पनि पाउँदिन । जोसँग पनि सरल व्यवहार गर्नुहुन्छ । अर्को उहाँको सबैभन्दा मलाई मनपर्ने कुरा उहाँको इमानदारी हो । मलाई लाग्छ, योगेश भट्टराईजस्तो इमानदार र सरल नेता हामीले पाउन असाध्यै गाह्रो छ । हाम्रो पुस्ताले उहाँजस्तो नेता पाउनु निकै गर्वको विषय पनि हो । अर्को उहाँको राम्रो पक्ष उहाँमा लोभ छैन जस्तो लाग्छ । सायद त्यही कारणले होला, उहाँ निष्कलंकित नेताका रूपमा स्थापित हुनुभएको छ ।

यसअघि निर्वाचनमा उहाँ चुनाव हारेको सुन्दा मलाई ज्यादै दुःख लागेको थियो । असल र राम्रा नेताहरू किन चुनाव हार्छन् ? मेरो मनमा खुब चासो पैदा भयो । हुन त असल मान्छेहरू नै बढी निसानामा पर्छन् भनिन्छ । चाणक्यले पनि भनेका छन्, ‘एकदमै सीधा रूख चाँडै काटिन्छन्, किनभने त्यो रूख सबैलाई सबैको निम्ति काम लाग्छ ।’ सायद उहाँको पनि मान्छेले त्यसैगरी खुट्टा तानेका होलान् ।

भविष्यको नेतृत्वकर्ता
मलाई राजनीतिप्रति उति धेरै रुचि छैन । म कुनै पार्टीको समर्थक पनि होइन । म यो देशको नागरिक हुनुको नाताले देशमा असल नेताहरू जन्मिऊन् जस्तो लाग्छ । देश समृद्ध भयो भने स्वाभाविक रूपमा त्यसको फाइदा मजस्ता सबै नागरिकलाई हुन्छ । त्यही सचेत नागरिक र एउटा साथीको पनि हिसाबले म योगेश भट्टराईलाई यो देशको प्रधानमन्त्रीका रूपमा देख्न चाहन्छु । उहाँजस्तो नेताले यो देशको नेतृत्व गरे अवश्य पनि देश समृद्ध हुनेछ । सायद उहाँलाई मैले मन पराएकाले पनि होला । उहाँ एक दिन यो देशको नेतृत्वमा पुग्नुहुन्छ जस्तो लाग्छ ।

ताप्लेजुङका लागि अवसर
भेटमा, इनबक्स र टेलिफोनमा उहाँसँग कुरा भइरहन्छ । उहाँले मेरो संगीत यात्राबारे सोध्नुहुन्छ । मैले उहाँको राजनीतिबारे सोध्छु । पछिल्लो समयमा भेट्दा आफू जन्मेको ताप्लेजुङमै चुनाव लड्न जाने बताउनुभएको थियो । मैले त्यतिबेला भनेको थिए, ‘तपाईंका लागि गीत गाउन आउन परे नि तयार छु है !’ पछि थाहा भयो, उहाँले ताप्लेजुङ नै जाने निर्णय गर्नुभएछ । यो ताप्लेजुङ मात्रै होइन, समग्र हाम्रो प्रदेशकै लागि गौरवको विषय हो । मैले अघि पनि भने, मेरो कुनै पार्टी, नेता अथवा समूहसँग अतिरिक्त आग्रह र आस्था छैन । यो देशको नागरिक हुनुको नाताले असल नेताहरू नेतृत्वमा पुगोस् भन्ने चाहनालाई कसैले अन्यथा लिनुहँुदैन भन्ने मेरो मान्यता छ । हो, म त्यही मान्यताको साथ भन्छु, ताप्लेजुङले यसपटक उहाँलाई जिताउनुपर्छ । हामी नेताहरूले केही गरेनौं भन्छौं, तर गर्न खोज्ने र सक्ने नेताहरूलाई भोट दिँदैनौं । हाम्रो समस्या नै त्यही हो । हामीले हाम्रो जीवनमा, हाम्रो देशमा परिवर्तन खोज्ने हो भने हामी पनि परिवर्तन हुनुपर्छ । विवेक प्रयोग गरेर असल प्रतिनिधिलाई पठाउनुपर्छ । योगेशजस्तो नेताहरू हार्यो भने हाम्रो सपना हार्छ । हाम्रो समृद्धिको सपनामा ठेस लाग्छ । मलाई लाग्छ, यो ऐतिहासिक अवसर यसपटक ताप्लेजुङका नेताहरूले गुमाउनेछैनन् ।

म त अहिले सांगीतिक कार्यक्रमको शिलशिलामा अमेरिकामा छु । मेरा निर्धारित कार्यक्रमहरु धेरै छन् । तर, ताप्लेजुङमै पुगेर उहाँलाई विजयको कामना गर्ने मेरो योजना छ । अमेरिकाको कार्यक्रम छोटाएर भए पनि ताप्लेजुङ पुग्ने योजनामा छु ।

(साभार :- मिरर मासिकबाट)

 

 

 

प्रतिक्रिया दिनुहोस्