नेता केसीसँग होइन डा.केसीसँग वार्ता भए समधान टाढा छैन : योगेश भट्टराई


४ श्रावण २०७५, शुक्रबार
Yogesh Bhattarai

काठमाडौं, ४ साउन । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) का स्थायी कमिटि सदस्य तथा सांसद योगेश भट्टराईले सरकारले राजनीतिक नेता गोबिन्द केसीसँग होइन डा.गोबिन्द केसीसँग वार्ता गर्नुपर्ने बताएका छन् । डा.गोबिन्द केसीसँग वार्ता भए समधान टाढा नरहेको उनको भनाई छ ।

Yogesh Bhattarai

तर, राजनीतिक नेता गोबिन्द केसीसँग अहिले वार्ता गरेपनि समस्याको समधान नहुने उनको भनाई छ । नेता भट्टराईले सामाजिक सञ्जाल फेसबुकमा डा.केसीसँग तुरुन्त वार्ता गर्न सरकारलाई अनुरोध गरेका छन् । उनले लेखेका छन्,‘राजनीतिक नेता गोबिन्द केसीसँग अहिले बार्ता गरेपनि समस्याको समाधान हुँदैन तर डा. गोबिन्द केसीसँग बार्ता हुने हो भने समस्याको समाधान टाढा छैन । त्यसैले सरकार डा. गोबिन्द केसीसँग चै तुरुन्त बार्ता गर ।’

नेता भट्टराईले यसअघि पनि डा.केसी चिकित्सक नभएर नेता बन्न खोजेको बताएका थिए । उनले यसअघि संसदमा बोल्दै कांग्रेसले गोविन्द केसी, बालकृष्ण ढुंगेल र गंगामाया अधिकारीका नाममा सरकारलाई ‘इमोसनल व्ल्याकमेल’ गरेको आरोप लगाएका थिए । राजनीतिक एजेण्डा सकिएपछि प्रतिपक्षी दलले गोविन्द केसी, बालकृष्ण ढुंगेल र गगांमाया अधिकारीका नाममा ‘इमोसनल व्ल्याकमेलिङ’ गर्न सुरू गरेको उनको भनाई छ । गणेशमान र कृष्णप्रसाद भट्टराई जस्ता त्यागी नेताहरूले छाड्दै गएको कांग्रेसलाई बचाउन गोविन्द केसी चाहिएको उनले आरोप लगाए। उनले भने, ‘आज कांग्रेस बचाउन गोविन्द केसी चाहियो ? अब त्यो ठाउँमा कांग्रेस पुगेको हो ?’

मेडिकल कलेजलाई सम्बन्धन दिने नदिने कुरा नीति, नियम र प्रक्रियाका आधारमा हुने तर व्यक्तिलाई नहुने उनको भनाई छ । उनले एक कार्यक्रममा भने, ‘फलानो मेडिकल कलेजलाई सम्बन्धन देऊ, ढिस्कानोलाई नदेऊ भन्ने अधिकार गोविन्द केसीलाई कसले दियो ? देशभर नेपाली कांग्रेसका नेताहरूले १८ वटा मेडिकल कलेज खोल्दा चुप लागेर बस्ने, नेकपाका नेताहरूको कलेजले सम्बन्धन पाउने बेलामा अनसन बस्ने ? मनमोहनसँग के दुश्मनी छ ?’ ‘मेडिकल कलेज सञ्चालन गर्ने नेपाली कांग्रेसका नेताहरू चाहिँ राम्रो अनि नेकपाका नेताले मेडिकल कलेज खोल्न खोज्दा चाहिँ माफिया ?’

शक्तिशाली संसदीय छानविन समिति बनाएर आजसम्मका सम्पूर्ण मेडिकल कलेजको छानविन गर्न पनि उनको भनाई छ। यसअघि सम्बन्धन पाएका मेडिकल कलेजको गुणस्तरमा प्रश्न उठेका कारण संसदले शक्तिशाली संसदीय छानविन समिति बनाएर सम्पूर्ण मेडिकल कलेजको छानविन गर्नुपर्ने उनको भनाई छ ।

सांसद भट्टराईले सात प्रदेशमा मेडिकल कलेज खोल्ने पार्टीको प्रतिबद्धता रहेको भन्दै कसैले भन्दैमा मेडिकल खोल्न दिने र नदिने निर्णय सरकारले गर्न नसक्ने बताए। उनले भने, ‘काठमाडौं उपत्यकामा मेडिकल कलेज खोल्ने कि नखोल्ने कहाँ खोल्ने ? भन्ने कुरा कुनै गोविन्द केसीले भन्ने कुरा होइन । यो नेपालको प्लानिङ्ग कमिसनले,योजना विदहरूले सिंगो मुलुकले, राष्ट्रले छलफल गरेर निकाल्ने निष्कर्ष हो।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७