देउवा नआउने भएपछि संवैधानिक परिषदको वैठक स्थगित


२३ श्रावण २०७५, बुधबार
Om Cho MfcgEn0kT7

काठमाडौं २३ साउन । प्रधानन्यायाधिश र अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्त सिफारिसका लागि बस्ने भनिएको संवैधानिक परिषदको आज (बुधबार) को वैठक स्थगित भएको छ ।

Om Cho MfcgEn0kT7

वैठक अर्को मिति समेत नतोकी स्थगित भएको हो । परिषद् सदस्य विपक्षी दलका नेता शेरबहादुर देउवा उपचारका लागि आजै सिङ्गापुर जाने भएकाले परिषद्को बैठक स्थगित गरिएको जनाइएको छ । यसअघि प्रधानन्यायाधिशमा सिफारिस भएका दीपकराज जोशी संसदीय सुनुवाई विशेष समितिबाट अस्वीकृत भएपछि आज बस्ने बैठकले नयाँ प्रधानन्यायाधिश सिफारिस गर्ने अपेक्षा थियो ।

नयाँ प्रधानन्यायाधिशका लागि यसअघि नै न्याय परिषद् बैठकले दुई जनाको रोस्टर पठाइसकेको छ । सर्वोच्च अदालतमा स्थायी न्यायाधिश रहेका ओमप्रकाश मिश्र र चोलेन्द्र समशेर राणाको नाम संवैधानिक परिषद्मा छ । उनीहरुमध्ये एकलाई सुनुवाइका लागि परिषद्ले सिफारिस गर्नेछ । उनीहरुमध्ये मिश्र वरिष्ठ भएकाले उनको नाम भावी प्रधानन्यायाधीशका रुपमा सिफारिस हुने सम्भावना बढी रहेको स्रोतले जानकारी दिएको छ ।

यस्तै ६ महिनादेखि रिक्त अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्त पदमा नियुक्तिका लागि आजै बस्ने भनिएको संवैधानिक परिषद्को बैठकले सिफारिस गर्ने अनुमान गरिएको थियो । परिषद्ले प्रधानन्यायाधिश र आयोगको प्रमुख आयुक्त नियुक्तिको एजेण्डा राखेरै सदस्यलाई बैठकमा सहभागी हुन पत्राचार गरेको जनाइएको छ । दीप बस्यातले गत फागुन १ मा अवकास पाएयता आयोग कार्यवहाक प्रमुख आयुक्तका भरमा चल्दै आएको छ । आयोगका आयुक्त नवीन घिमिरे वरिष्ठताका आधारमा कार्यवाहक प्रमुख आयुक्त बनेका छन् ।

अख्तियारको प्रमुख आयुक्तमा चीनका लागि नेपाली राजदूत लिलामणी पौडेल र हालका कार्यवाहक प्रमुख आयुक्त नविन घिमिरेलाई प्रमुख दाबेदार मानिएको छ । त्यस्तै, वरिष्ठ अधिवक्ता युवराज संग्रौला, पूर्व मुख्यसचिव राजेन्द्रशिसोर क्षेत्रीको पनि नाम चर्चामा रहेको स्रोतले बताएको छ ।

प्रधानमन्त्रीको अध्यक्षतामा रहने संवैधानिक परिषदमा सभामुख, राष्ट्रियसभाका अध्यक्ष, कानूनमन्त्री र विपक्षी दलका नेता सदस्य रहने संवैधानिक प्रावधान छ । संवैधानिक परिषद्मा सर्वसम्वत निर्णय गर्ने परम्परा रहेकाले विपक्षी दललाई समेत मनाएर निर्णय गर्नुपर्ने हुन्छ । त्यसैले कांग्रेस सभापित देउवा नै उपचारका लागि सिङ्गापुर जाने भएपछि बैठक स्थगित गरिएको जनाइएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७