सरुवामा मनपरीः नेकपा समर्थक उपसचिवहरुको रुवाबासी, कर्मचारी प्रशासन शाखामा मुक्का प्रहार


२८ श्रावण २०७५, सोमबार
sanghiya संघीय स्थानिय विकास तथा सामान्य प्रशासन मन्ज्ञालय 3

काठमाडौं, २८ साउन । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितलाई मन्त्रालयका सचिव दिनेश थपलियाले नै विवादमा पार्दैआएका छन् । विजय गच्छदारले रोजेर सचिव बनाएका उनले मन्त्री पण्डितलाई बदनाम गराउन केही कसर बाँकी राखेका छैनन् ।

मन्त्रालयका सरुवादेखि कर्मचारी समायोजनमा उनले पण्डितलाई विवादमा पार्दैआएका छन् ।
गच्छदारका पालामा पूर्वसांसदलाई १० अर्ब दिने निर्णय गराएर ओली सरकारलाई अप्ठेरोमा पारेका उनले देशभरका सबै स्थानीय तहका लागि गाडी खरिद गर्ने निर्णय गरी अरब रुपैयाँ घोटाला गर्न लागेका थिए । तर अर्थ मन्त्रालयले गाडी खरिदका लागि सहमति नदिएपछि गच्छदार र सचिव थपलियाको कमिसन खाने योजना तुहिएको थियो ।

यसैगरी मन्त्री पण्डितका स्वकीय सचिव आसिम आलम प्रधानमन्त्री केपी ओलीका सल्लाहकार बिष्णु रिमालसँग विवाद भएपछि बाहिरिएका छन् । मन्त्री पण्डितको छवि धुलिसात बनाउन मन्त्रालयका सचिव दिनेश थपलिया, सहसचिव रुद्रसिंह तामाङले सरुवामा ८० प्रतिशत कांग्रेस भनेर चिनिएकालाई आकर्षक नगरपालिकाहरुमा खटाउने गरेका छन् । नेकपा समर्थक उपसचिवहरुको रुवाबासी छ ।

पण्डितको नाम लिंदै उनको सचिवालयका धर्म भट्टराईले पनि सरुवाको नाममा असुली गरेको गुनासो कर्मचारीले गरिरहेका छन् । आलमको ठाउँमा राखिएका पीए मनोज राईले भने मन्त्री पण्डितलाई भेट्न को को आउँछन्, कति समय बस्छन् त्यसको जानकारी ठाउँ ठाउँमा दिनेमा मात्र सीमित छ । पीएहरु विवादमा परेको र सचिव थपलियाको षडयन्त्र चिर्न नसकेका कारण मन्त्री पण्डितलाई उनका शुभचिन्तकहरुले राजीनामा दिएर प्रतिष्ठामा थप क्षति हुन नदिन सुझाव दिन थालेका छन्, आजको साँघु साप्ताहिकमा समाचार छ ।

अघिल्लो पटक डीभी पीआरविरुद्ध अभियान छेडेर चर्चामा आएका मन्त्री पण्डित अहिले सचिव थपलियाकै कारण एकपछि अर्को विवादमा परिरहेका छन् । करारका कर्मचारी हटाउने कुरा पनि सचिव थपलियाकै योजनामा मन्त्री पण्डितले बोलेका थिए । करारका कर्मचारीहरु अधिकांश माओवादी द्वन्दमा सामेल भएकाहरु छन् । करारका कर्मचारीलाई हटाएर कम्युनिष्ट सरकारप्रति बितृष्णा जगाउने रणनीतिमा सचिव लागेका छन् ।

मन्त्रालयका चालकदेखि अधिकांश कर्मचारीहरु करारमा छन् । कतिपय कार्यालयमा स्थायी कर्मचारी काम नै नगर्ने भएपछि करारले काम गरेका भरमा चलेका छन् । ३२ हजार करारका कर्मचारीमध्ये २० हजार हाराहारी माओवादी द्वन्दमा कुनै न कुनै रुपमा सामेल भएकाहरु रहेको समाचार छ ।

मुख्यसचिव लोकदर्शन रेग्मी र सचिव थपलियाको डिजाइनमा करारको रोजीरोटी खोस्ने काम गरेको समाचार छ । तर हटाएको दोष भने उनीहरुले लालबाबु पण्डितको टाउकोमा थोपर्ने काम गरेका छन् । मन्त्री पण्डितले सचिव थपलियाको यो षडयन्त्र पनि बुझ्न सकेनन् । करारका कर्मचारी नराख्ने भनेर बोले, तर त्यो कार्यान्वयन हुन सकेन ।

यसैबीच, नेपाल निजामती कर्मचारी संगठनका उपाध्यक्ष जीवन भण्डारीले आइतबार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका कर्मचारी प्रशासनका उपसचिव प्रेमप्रसाद लुईटेल र ऋषिराज आचार्यको टेबुल ठटाएको बिषयले चर्चा पाएको छ । कर्मचारी सरुवाको बिषयमा विवाद भएपछि भण्डारीले टेबुल ठोकेका थिए । तर प्रचार भने कुटपीट भएको भन्दै गरिएको छ ।

सरुवामा यति धेरै बदमासी भएको छ कि महालक्ष्मी नगरपालिकामा नेकपाका समर्थक उपसचिव धु्रव खड्कालाई हटाएर नेपाली कांग्रेस समर्थक लक्ष्मी रेग्मीलाई पठाइएको छ । उनलाई मेयर रामेश्वर श्रेष्ठले हाजिर गराउनै अस्वीकार गर्दैआएका छन् ।

सचिव थपलियाले सरुवामा मनपरी गरेको ज्वलन्त उदाहरण हो यो । यस्ता धेरै सरुवामा मनपरी भएपछि संगठनका उपाध्यक्ष भण्डारी आक्रोसित भएर कप्रको टेबुल ठोक्ने अवस्थामा पुगेका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७