८४ करोडको खानेपानी आयोजना सम्झौता


२९ श्रावण २०७५, मंगलवार
drinking water

इलाम, २९ साउन । बहुप्रतिक्षति इलाम बजार तेस्रो शहरी खानेपानी तथा सरसफाइ आयोजना’ को सम्झौता भएपछि स्थानीयवासीमा खुशीयाली छाएको छ ।

drinking water

इलाममा सञ्चालन हुने आयोजनाको कार्यान्वयन गर्न सम्झौता भएपछि स्थानीयवासी खुशी भएका हुन् । आयोजनाको व्यवस्थापन कार्यालय, नगर विकास कोष, इलाम नगरपालिका र इलाम खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाबीच सम्झौतापत्रमा हस्ताक्षर सम्पन्न भएको हो । एशियाली विकास बैंक (एडिबी) को आर्थिक सहयोगमा ८३ करोड ६८ लाख २९२ को लागतमा इलामकै हालसम्मको ठूलो खानेपानी आयोजना निर्माण गर्न लागिएको हो ।

आर्थिक वर्ष ०७७-७८ सम्ममा सम्पन्न गरिसक्नुपर्ने आयोजनाका लागि नेपाल सरकारमार्फत एडिबीले ७० प्रतिशत अर्थात ५८ करोड ५७ लाख ६० हजार २०४ अनुदान उपलब्ध गराउने छ । स्थानीय उपभोक्ताको ५ प्रतिशत लागत सहभागिता अन्तर्गत चार करोड १८ लाख ४० हजार १४ लगानी रहने छ । इलाम नगरपालिकाले २५ प्रतिशत अर्थात २० करोड ९२ लाख ७३ रुपैयाँ नगर विकास कोषसँग ऋण जमानत बस्नुपर्ने छ ।

आयोजनाबाट लाभान्वित हुने उपभोक्ताको अग्रिम दाखिला गर्नुपर्ने ५ प्रतिशत नगद रकम दाखिला गरिसकेपछि सरोकारवालाबीच वित्तीय सम्झौता भएको हो । खानेपानी आयोजनाका लागि सन्दकपुर गाउँपालिकाका चार खोलाको मुहानबाट पानी ल्याइने खानेपानी उपभोक्ता समितिका अध्यक्ष केदार थापाले बताए । आयोजनाबाट सदरमुकाममा प्रतिसेकेण्ड ४१ लिटर पानी आउने उनको भनाइ छ । घरको धारामा पानी नआएर खोला, खोल्सा तथा कुवामा धाउनुपर्ने बाध्यता हट्ने भन्दै स्थानीयवासीमा खुशी भएका छन् । हाल इलाम बजारमा इलाम नगरपालिकाले पानी वितरण गरिरहेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७