निर्मला बलात्कार र हत्या प्रकरण : दोषी लुकाउन निर्दोष किशोरीलाई चरम यातना


१३ भाद्र २०७५, बुधबार
Nirmala Hatya kanda

कञ्चनपुर, १३ भदाै ।  
जीवन घर्तीमगर र दीपक नेगी ।
चक्र बडू ।
दिलीपसिंह विष्ट ।
कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कार र हत्या प्रकरणमा प्रहरीले पक्राउ गरेर दोषी साबित गर्न खोजेका व्यक्ति यिनै हुन् जसको चर्चा भइसकेको छ । तर, प्रहरीले स्थानीय १७ वर्षीया किशोरीलाई पनि यही आरोपमा पक्राउ गरेर चरम मानसिक तथा शारीरिक यातना दिएको खुलेको छ ।

जनज्योति बहुमुखी क्याम्पसमा १२ कक्षामा अध्ययनरत हेमन्ती भट्टलाई प्रहरीले गिरफ्तार गरेको थियो । गृहमन्त्री रामबहादुर थापा बादलले निर्मलाको बलात्कार तथा हत्या आरोपमा जीवन घर्तीमगर र दीपक नेगी पक्राउ परेको जानकारी अघिल्लो दिन संसद्मा दिएका थिए । अर्को दिन ज्योति बहुमुखी क्याम्पसमा आएको प्रहरीले हेमन्तीलाई गिरफ्तार गर्‍यो । उनको महिनावारी चलिरहेको थियो । १८ साउनमा बिहानको क्याम्पसबाट घर फर्केकी हेमन्ती घरबाहिर खानाको तयारीमा थिइन् किनकि उनको महिनावारी चलिरहेको थियो ।

तर, खानसमेत नदिई बिहान करिब ११ बजे उनलाई जिल्ला प्रहरी कार्यालय लगियो । तत्कालीन एसपी (जो हाल निलम्बित छन्) डिल्लीराज विष्टले भने उनलाई धम्की दिए, ‘निर्मलाको बलात्कार र हत्यामा मेरो पनि संलग्नता छ भनेर सकारिस् भने बच्छेस्, हैन भने तेरो भविष्य बर्बाद गर्दिन्छु ।’

सोच्दै नसोचेको विपत्ति आइलागेपछि हेमन्ती अत्तालिइन् । तर, उनले आफ्नो संलग्नता छ भन्न मानिनन् । त्यसपछि उनलाई सिसाको एउटा सानो झ्याल भएको अँध्यारो कोठामा राखियो । ‘१५–१५ मिनेट बिराएर सादा पोसाकका प्रहरीहरू आउँथे । गल्ती मानिस् भने बच्छेस्, मानिनस् भने मर्छेस् भनेर धम्क्याउँथे,’ उनले नयाँ पत्रिकासित भनिन् ।

उनलाई बेलुका छाडिन्थ्यो, तर बिहान फेरि गिरफ्तार गरिन्थ्यो । यो क्रम पाँच दिनसम्म चल्यो । दोस्रो दिन उनी बाबा गोकुलेश्वर भट्टको अटोमा आफैँ प्रहरी कार्यालय जाँदै थिइन् । तर, बाटैमा उनलाई नियन्त्रणमा लिइयो र मोटरसाइकलको बीचमा राखेर चौकी पुर्‍याइयो । र उसैगरी सोधपुछका नाममा धम्क्याइयो । ‘मेरो साथीले बलात्कार गरेर हत्या गरेको हो, मैले सघाएकी हुँ भन्, हामी तँलाई जोगाउन कोसिस गरौँला । नत्र त गइस्,’ सोधपुछ गर्न आउने सादा पोसाकका प्रहरी धम्क्याउँथे ।

तेस्रो दिन त ज्यादतीको पराकाष्ठा नै भयो । उनी क्याम्पसमा पढिरहेकी थिइन् । कक्षाकोठाबाटै सहपाठी र शिक्षकहरूको सामुन्ने उनलाई प्रहरीले गलहत्याउँदै लगेर गाडीमा राखे । उही अँधेरो हिरासतमा लगियो । उनको शिर भुइँमा टेकाइयो, खुट्टा छततिर ठाडो पारियो । प्रहरीले लाठी हान्न थाले । पीडाले चिच्याइन् । ती बालिकालाई प्रहरीहरूले तथानाम भने ।

त्यसपछि उनलाई बाहिर ल्याइयो र तत्कालीन एसपी डिल्लीराजसामु खडा गरियो । डिल्लीराजले भने, ‘तँलाई हामीले यहाँ बोलाएर केरकार गरिरहेका छौँ भन्ने बाहिर कसैलाई भनिस् भने तेरो भविष्य चौपट हुन्छ । घरमा पनि सामान्य सोधपुछ भएको छ, अरू केही भएको छैन भनेस्, तेरो भलो हुन सक्छ ।’ प्रहरीले हेमन्तीको फेसबुकको पासवर्डसमेत लिइसकेको थियो ।

चौथो दिन पनि उनलाई हिरासतमा राखिएको थियो । भीमदत्त नगरपालिका–२ का वडाध्यक्ष डम्बर कार्कीसहित वडा नै उल्टेर प्रहरी कार्यालय पुग्यो । त्यसैले पाँचौँ दिन न प्रहरीले उनलाई बोलायो, न पक्रन नै आयो ।

‘तर, पाँचौँ दिन म जब क्याम्पस गएँ, कुनै पनि सहपाठी बोलेनन् । हिरासतमा भन्दा पीडा कक्षाकोठामा भयो । ओझेल परेर निकैबेर एक्लै रोएँ,’ उनी भन्छिन् ।

उता प्रहरीले पिछा छाडेको थिएन । एक दिन बिराएपछि छैटौँ दिन उनलाई फेरि जिप्रका पुर्‍याइयो । धामी थरका सइले कागज तयार पारिसकेका थिए । उनले कागजमा लेखिएकोे व्यहोरा पढ्न चाहिन् । तर, सइले भने, ‘मलाई ग्यास्ट्रिक छ । खाजा खाने वेला भयो, छिटो हस्ताक्षर गर,’ सईले हप्कीदप्की गरेपछि हस्ताक्षर गरिदिइन् ।

कागज गराएर उनलाई एसपी डिल्लीराजसामु उपस्थित गराइयो । एसपीले पहिलेजस्तै हप्काए, ‘यो कुरा कतै बाहिर नजाओस् । आफ्नो मात्र होइन परिवारको पनि हेक्का राख्नु ।’ यति भनेपछि उनलाई बिदा गरियो ।

२३ साउनबाट उनले प्रहरीको फन्दाबाट मुक्ति पाएकी छिन्, तर त्यो यातनाले उनलाई तर्साइरहन्छ । नियमित क्याम्पस जान सकेकी छैनन् ।

तर, चरम यातना दिँदा पनि प्रहरीले हेमन्तीबाट चाहेजस्तो बयान लिन सकेन । उनले आफूले गर्दै नगरेको अपराध स्विकार्नै नसक्ने अडान दोहोर्‍याइरहिन् । उनकी सानिमा गीता भन्छिन्, ‘अल्ली हक्की छ । गल्ती गर्दिन र डराउँदिन पनि । अरू कुनै केटी भए निराशामा पुगेर अर्को दुर्घटना पनि हुन सक्थ्यो । प्रहरीको ज्यादती देखेर त हामी नै आत्तिसकेका थियौँ ।’ आमा मायाले थपिन्, ‘धन्न मेरी छोरी आँटिली थिई र यत्रो जुलुम सही । हाम्रो त परान निस्कन लागेको थियो ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७