कोटेश्वर, वानेश्वर र महाराजगञ्जमा अब ९० करोडमा ‘अण्डर पास’, पाँच कम्पनी योग्य
अण्डर पास निर्माणमा जाइकाको आर्थिक सहयोग रहने
काठमाडौं, ७ असोज । राजधानी बस्नेहरुका लागि कोटेश्वर र वानेश्वरको जाम र यात्राको सकस भनिरहनु पर्दैन । तर, अब यहाँको सकस हट्ने भएको छ ।
कोटेश्वर र जानेश्वरको ट्राफिक जामलाई दीर्घकालीन व्यवस्थापन गर्न ९० करोड लागतमा ‘अण्डर पास’ निर्माणको प्रक्रिया शुरु भएको छ । कोटेश्वर र बानेश्वरमा निर्माण हुने अण्डर पास डिजाइन गर्न पाँच परामर्शदाता कम्पनी योग्य ठहरिएका छन् ।
सडक विभागअन्तर्गतको पुल महाशाखाको मूल्याङ्कनमा पाँच परामर्शदाता प्राविधिक रूपमा सक्षम देखिएका हुन् । सवारी आवागमन सहज बनाउन सरकारले कोटेश्वर, बोनेश्वर र महाराजगञ्जमा अण्डरपास बनाउने तयारी गरेको छ ।
महाशाखाले २०७४ पुसमा अण्डरपास बनाउन इच्छुक परामर्शदाताबारे जानकारी लिन आशयपत्र आह्वान गरेको थियो । त्यस समय अण्डर पासको डिजाइन बनाउन १३ परामर्शदाताले इच्छा देखाएका थिए ।
तीमध्ये मूल्यांकनमा ६ परामर्शदाता अब्बल ठहरिएका थिए । अण्डरपासको डिजाइन बनाउन चीनको बेइजिङ चाइना हाइवे इन्जिनियरिङ एन्ड कन्सल्टिङ तथा नेपाली परामर्शदाता बिल्डिङ डिजाइन अथोरिटी र बीएन कन्सल्टेन्सी सक्षम देखिएका थिए ।
यस्तै नेपाली परामर्शदातामा सिभिल इफर्मे्टिक्स एन्ड सोलुसन, जीईओसी कन्सल्टेन्स–जेभी बिम कन्सल्टेन्ट, जीओसी–जीआईडीए–एपेक्स जेभी, आईटीईसीओ नेपाल जेभी सीएआरडी कन्सल्ट एन्ड होमल्यान्ड इन्जिनियरिङ कन्सल्टेन्सी, टीएसई जेभी जीओकम इन्टरनेसनल एन्ड सिभिल इन्जिनियरिङ रिसर्च एन्ड कन्सल्टेन्सी पनि सक्षम देखिएका हुन् । यी परामर्शदातासँग गत वैशाखमा प्राविधिक तथा आर्थिक प्रस्ताव माग गरिएको थियो । ती परामर्शदाताले जेठमा प्रस्ताव बुझाएका थिए ।
कलंकीदेखि महाराजगञ्जसम्म चीन सरकारले चक्रपथ विस्तार गर्ने भएकाले महाराजगञ्जको अण्डर पास पनि चीन सरकारले बनाई दिने भएको छ । हाल कोटेश्वरदेखि सातदोबाटो हुँदै कलंकीसम्मका १० किलोमिटर सडक र कलंकीको अण्डर पास चीनले नै बनाई दिएको हो । अण्डर पास सञ्चालनमा आए पनि अहिलेसम्म हस्तान्तरण भएको छैन ।
सवारी आवागमन सहज बनाउन सरकारले कोटेश्वर, बोनेश्वर र महाराजगञ्जमा अन्डरपास बनाउने तयारी गरेको छ । महाशाखाले तीन महिना लगाएर प्रस्तावको प्राविधिक मूल्याङ्कन गरेको हो ।
‘अण्डर पासको डिजाइन बनाउन पाँच परामर्शदाता छनोट भएका छन्’, महाशाखाका उपनिर्देशक अर्जुनजंग थापाले भने, ‘छनोट भएका परामर्शदाताको आर्थिक प्रस्ताव खोल्न पत्र पठाउने तयारीमा छौं, एक साताको समय दिएर पत्र पठाइने छ । सस्तो मूल्यको आर्थिक प्रस्ताव गर्ने परामर्शदाताले अण्डर पासको डिजाइन बनाउने ठेक्का पाउने छ ।’
महाशाखाले एउटा अण्डरपास निर्माण गर्न ९० करोड रुपैयाँ लाग्ने प्रारम्भिक अनुमान गरेको छ । जापानी सहयोग नियोग (जाइका) सँग अण्डरपास बनाउन आर्थिक सहयोग माग गरिएको थियो । त्यसमा जाइका सकारात्मक नदेखिएको थापाको भनाइ छ ।
बिजुलीबजारको धोवीखोला पुलदेखि बाग्मती पुलसम्मको साढे एक किलोमिटर र कोटेश्वर चोकदेखि भक्तपुर, सातदोबाटो र तीनकुनेतर्फ पाँच सय मिटर अन्डरपासको लम्बाई हुनेछ । बाग्मती पुलदेखि बिजुलीबजारतर्फ जाने गाडी अण्डर पास हुँदै जानेछन् । शंखमूल वा पूरानो बानेश्वरतर्फ जाने सवारीसाधन अण्डर पास माथि गुड्नेछन् ।
यस्तै कोटेश्वरबाट भक्तपुर, सातदोबाटो र तीनकुनेतर्फ जाने सवारी अन्डरपास भित्रबाट जानेछन् । कोटेश्वरको बस्तीतर्फ जाने सवारीसाधन अण्डरपास माथिबाट गुड्ने छन् । यसरी गाडी गुडाउँदा बानेश्वर र कोटेश्वर चोकमा हालको जस्तो अव्यवस्थित जाम नहुने महाशाखाको दावी छ ।