५० वर्षदेखि २० बिघा खेत बाँझै : सयौं आदिवासी खेत हुँदा पनि सुकुम्बासी बने


९ आश्विन २०७५, मंगलवार
mahavara jagga khola pic

महाभारा, झापा, ९ असाेज ।  गौरीगन्ज गाउँपालिका १ का गेदुराम राजवंशीले आफ्नो खेतमा बाली लगाउन नपाएको ५० वर्ष नाघ्यो । उनको २० बिघा खेत बाँझै छ । बाली लगाउने प्रयास नगरेको भने होइन । तर, उनले उब्जनीभन्दा बढी क्षति बेहोर्दै आएका छन् । अाजकाे कान्तिपुर दैनिकमा अर्जुन राजबंशीले लेखेकाे छन् ।

झापाको महाभारास्थित कन्काई नदीमा स्थायी तटबन्ध नहुँदा दशकौंदेखि आफ्नो खेतमा बाली लगाउन नपाएकोबारे जानकारी दिँदै आफ्नो खेत देखाउँदै पीडित किसान । तस्बिर स् अर्जुन

जिल्लाकै ठूलो नदी कन्काईको बाढीबाट पीडित बनेका दक्षिण भेगका सयौं आदिवासी खेत हुँदा पनि सुकुम्बासी बनेका छन् ।

बर्सेनि कन्काईको बाढीले कटान र डुबान हुँदा उनीहरूले खेतमा बाली लगाउन नपाएका हुन् । ७० वर्षीय गेदुरामले भने, ‘हामीले ०२२र२३ सालदेखि नै बाली लगाउन पाएका छैनौं । बाली लगाएर के गर्नु, बर्खामा कन्काईको भेल पसेर सबै नष्ट गरिदिन्छ ।’ उनले पर्याप्त जमिन भएर पनि अन्य काम गरी घर व्यवहार टार्न बाध्य रहेको दुस्ख सुनाए । उनको जस्तै समस्या भागलाल राजवंशीको पनि छ । उनले पनि डेढ बिघामा बाली लगाउन पाएका छैनन् । ‘खोलाको भरै हुँदैन । देख्दा खेत राम्रै देखिन्छ । लगानी गरी बाली लगायो । एउटै भेलले सबै नष्ट गरिदिन्छ,’ उनले भने ।

थ्बmबजब

धेरै वर्षपछि स्थानीय पर्वतलाल राजवंशीले गत वर्ष २ बिघामा धान रोपेका थिए । ४ छोरा सबैको आ–आफ्नै व्यवहार छ । ३ छोरी बिहे गरी आ–आफ्ना घर गइसके । ७५ वर्षीय पर्वतलाल आफैंले गत वर्ष सकी–नसकी धान रोपेका थिए । तर, ०७४ साउन २८ मा आएको बाढीले सबै खेत डुबाएर धानमा नोक्सान पुग्यो ।

गेदुरामले पनि गत वर्ष १० बिघामा धान लगाएका थिए । तर, कन्काईको बाढीले उनको खेतको बालीलाई पनि एकै रातमा बगर बनाइदियो । यसपालि कन्काईमा ठूलो बाढी आएन । तर, पटकपटक क्षति खेपेका उनीहरू कसैले पनि नदी छेउको खेतमा बाली लगाएका छैनन् । साबिकका शिवगन्ज, पाँचगाछी, महाभारा, कोरोबारी, कुमरखोद, शरणामती, टाघनडुब्बा क्षेत्रका स्थानीयले कन्काई आसपासका खेतमा बाली लगाउन पाएका छैनन् । यो समस्या दशकौंदेखिको भए पनि, त्यसतर्फ सरोकारवालाको ध्यान जान सकेको छैन । कन्काईमा स्थायी तटबन्ध नहुँदा महाराभा क्षेत्रमा मात्र सयौं बिघा जमिनमा खेती गर्न सकिएको छैन ।

‘हामी यो समस्याबाट ५० वर्षदेखि पीडित छौं । खेतमा बाली लगाउनै नपाई हाम्रो पुस्ता सकिने बेला भइसक्यो । तर, अहिलेसम्म यो समस्या समाधान के हुन सक्ला भनेर कोही सोधीखोजी गर्न आएको छैन,’ ७२ वर्षीय तीर्थलाल राजवंशीले भने ।

उनले सरकारले नदी नियन्त्रण नगर्दा दक्षिण भेकका सयौं परिवार खेती भए पनि सुकुम्बासी बन्न बाध्य भएको सुनाए । ‘मेरा जनता नदी कटान र डुबानबाट मर्दै छन् भनेर सरकारले खोजीनिती गर्नुपर्ने हो । तर, अहिलेसम्म गरेन,’ उनले भने, ‘नदी नियन्त्रणका लागि तटबन्ध पनि गर्दै छ भनेर सुन्दै छौं । तर, हाम्रोतिर बाँध पनि बन्न सकेको छैन ।’ पीडित भागलालले जिल्लामा सञ्चालित जनताको तटबन्ध कार्यक्रम बढी प्रभावित क्षेत्रमा नआएको बताए । जिल्लामा १ दशकदेखि नदी नियन्त्रणका लागि जनताको तटबन्ध कार्यक्रम सञ्चालित छ । यसले कन्काईकै विभिन्न स्थानमा बाँध बाँधे पनि दक्षिण भेकका जनताले राहत पाउन सकेका छैनन् ।

प्रदेश सांसद झलकसिंह दर्लामीले यस वर्षदेखि जनताको तटबन्ध कार्यक्रमलाई बढी प्रभावित क्षेत्रमा लाने पहल गर्ने बताए । ‘कन्काईले पाँचगाछीदेखि दक्षिणमा निकै ठूलो क्षति पुर्‍याइरहेको छ । तर पनि जनताको तटबन्ध त्यहाँसम्म पुग्न सकिरहेको छैन,’ उनले भने, ‘यो वर्षदेखि हामी त्यस्तो हुन दिँदैनौं । महाभारा क्षेत्रमा बाँध बाँध्ने कामलाई सशक्त रूपमा अघि बढाउने छौं ।’ उनले कन्काईमा बाँध बाँध्न यस वर्ष अहिलेसम्म १० करोड रुपैयाँ विनियोजन भइसकेको बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७