बैरागी काइँलासँग दशैं संवाद

आयामेली आन्दोलनका ‘बैरागी काइँला’ आफैमा एउटा भव्य परिचय हो । काइँला यो हुन् त्यो हुन् ? भनेर नेपाली समाजमा चिनाईराख्नु पर्दैन । उनी कवि हुन्, अझ त्यो भन्दा संस्कृतिविद् । संस्कृतिको बिषयमा पाँचदशकदेखि निरन्तर खोज, अनुसन्धान, लिपिबद्ध गरी दर्जनभन्दा बढी कृति प्रकाशन गरेका छन् । नेपाली समाज र संस्कृतिको गहिरो अध्यायन गरीरहेका काइँलासँग निराजन बतासले गरेको दशैं संवाद :

दशैंलाई राष्ट्रिय चाड मान्ने र यसको विरोध गर्ने पनि भइरहेको छ, अहिलेको अवस्थामा दशैंलाई कस्तो चाडको रुपमा लिइनुपर्दछ ?
– दशैं नेपालमा पृथ्वीनारायण शाहले नेपाललाई एक बनाए यता सबै जातजातिले मनाउँदै आएका छन् । यो मनाएर आएको कारण के छ भने सरकारी तवरमा औपचारिक रुपमा विदा दिने र यै बेला सरकारी सांस्कृतिक अनुष्ठानहरू गर्ने चलन चलेर आएपछि जागिरमा पजनी भन्ने सरुवा बढुवा हर्षबढाइ इत्यादि हुन थाल्यो ।

यसो हुँदा अरु संस्कृतिका मानिसहरूले पनि यसलाई देखासिकीमा मान्न थाले । कति ठाउँमा भने सरकार वा राज्यले मान्न लगायो । कति ठाउँ आफैले रहरले मनाए होलान् । यसरी यो व्यापक भयो । अहिले पनि मान्छेले कतिपयले मान्नुहुँदैन भनेर नमाने पनि सरकारी छुट्टी हुन्छ, औपचारिक विदा मानिरहेकै छन् ।

दशैं हिन्दूहरूको चाड भए पनि नेपालमा हिन्दू, बौद्ध वा किरातीको चाड किन नहोस्, अब सबैको लागि समान भएको छ । राज्यले धेरथोर सबैको राष्ट्रिय चाडपर्वमा राष्ट्रिय विदा दिएर आफ्नो चाड मनाऊ भन्न थालेको छ । मान्छेले आफ्नो चाड खुलेर मान्न थालेका छन् ।

पहिलेदेखि दशैंमा मिठोमसिनो खाउँ चलन चलिआयो । खाइरहेका छन् । राम्रा लुगा लगाउन थालेका छन् । मासु खान थालेका छन् । कसैले कसैलाई नलगाऊ, नखाऊ भन्न भएन ।
सरकारी तवरबाट पहिलेदेखि मनाइदै आएका हुनाले यो राष्ट्रिय चाड बन्न पुगेको हो, र सबै जातजातिले मान्ने चाड बनेको हो ।

नेपाली समाजमा अहिले दशैंको उपादेयता के छ त ?
दशैंको मात्र होइन अब त सबै चाड र तिनमा दिइने छुट्टीहरूको उपादेयता खोज्नुपर्छ । वर्षभरि काम गरिने हुनाले सरकारी तवरबाट काम गरेकोलाई औपचारिक विश्राम गर्ने रुपमा पहिले दशैंमा छुट्टी दिन थालियो । अहिले त बौद्ध, मुसलमान, किराती, पहाड तराईका जातजातिको चाडमा पनि विदा दिइन थालेपछि दशैंको विदा सरकारले घटाएको छ ।

पहिले त जातजातिको संस्कृति दबिएको हुनाले उनीहरूले आफ्नो चाडपर्वलाई राम्ररी मान्न पाउने अवस्था थिएन । अहिले आ–आफ्नो पहिचान, संस्कृति र परम्परा बचाउन र समग्र देशकै विविधता संरक्षण र संवद्र्धन गर्नको लागि देशका सबै जातजातिका चाडपर्वहरूको उत्तिकै महत्व छ । दशैंको जस्तै चासोक, साकेवा अथवा माघीको पनि महत्व उस्तै छ । निजी संस्थामा काम गरिहरहेको भए पनि यी चाडहरू मान्न त छुट्टीको आवश्यकता हुन्छ । छुट्टी पाइसकेपछि त चाड पनि सबैले धुमधामले मान्ने नै भए ।


नेपालमा विभिन्न जातजातिमा सांस्कृतिक पुनर्जागरण आएको मानिन्छ । कतिपयले यसलाई दशैं मान्न नहुने मतसँग जोडेर हेर्ने गरेका छन्, तपाईं के भन्नुहुन्छ ?
यसमा मेरो आफ्नै कुरा छ । अर्काको चाड मान्दिनँ भन्नै पर्दैन । नमानेर घरमा बसे भैगो नि ! अब बाहुनहरू मन्दिर जान्छन् किराती नजाँदा भैगो नि ! किन विरोध गर्नु ? चासोकमा लिम्बू, साकेवामा राई नाच्छन्, बाहुन आएर विरोध गरेका छैनन्, भैगो नि त । त्यसकारण अर्काको चाडलाई विरोध गर्नुको सट्टा आफ्नो चाड र संस्कृति संरक्षण गर्नतिर लाग्नुपर्छ ।

त्यसलाई बरु सांस्कृतिक पुनर्जागरण आएको मान्न सकिएला, तर अर्काको चाडलाई आक्षेप लाउनु हुँदैन । किनभने अहिलेसम्म नेपालमा विविध जातजातिका संस्कृतिलाई राज्यले हेप्यो भन्ने हिसाबले यत्रो गुनासो र आन्दोलन भइरहेको छ भने अब अर्काको चाडलाई किन विरोध गर्ने ? आफ्नोलाई सम्मान दिएको चाहने हो भने अरुको पनि सम्मान गर्नुपर्दछ । विरोध गर्नुहुँदैन ।

दशैं कहिलेकाही राजनीतिको विषय बन्छ नि !
मुलुकको जनसंख्या हेर्ने हो ठूलो संख्या हिन्दूहरूको छ । जनजातिहरू ३७ प्रतिशत भए पनि सबैको संस्कृति मिल्दैन । एउटै डफ्फामा पहाडे हिन्दू र मधेसको हिन्दू जोडेर हेर्ने हो भने दशैं मनाउनेहरूको संख्या ठूलो छ । त्यसैले उनीहरूको चाड ठूलो देखिने भो । सबैले देख्ने भो । छ लाख राई र चार लाख लिम्बूले मनाएको चाड वा एक सय जनाले मनाउने कुसुन्डाले मनाएको चाड कसले देख्ने ? दशैंको परम्परा अहिले सुरु गरिएको पनि होइन, पुरानो हो ।

पहिले पन्ध्र दिन छुट्टी हुन्थ्यो, अहिले कटाएर सात दिनमा झर्‍यो । यो परिवर्तित समयको मागले गर्दा भएको हो । समय सापेक्ष परिवर्तनहरू हुँदै जान्छन् । न्याय स्थापित हुँदै जान्छन् । अहिले चाडको राजनीति गरेर कसैले कसैको बाटो थुन्नु हुँदैन । भाँजो हाल्नुहुँदैन ।

दशैंको खानपान संस्कृति छ नि !
मान्छेलाई नखा भन्नु हुँदैन, तर हैसियत अनुसार खानुपर्छ, ऋण काढेर घिउ खानुहुँदैन । सरकारले तलब बढाएको हुन्छ । महंगी जताततै बढिसकेको हुन्छ । सागसब्जीको मूल्य बढेको छ । यातायातको भाडा कति बढ्यो ? यो सबै हेरिकन खानपानमा चाहिँ आम नागरिक आफैले याद गर्नुपर्छ, तर के हो भने वर्ष दिन नखाइकन दशैंको उपलक्ष्यमा साँचेर अलि बढी खान्छु, र मजा गर्छु भन्ने हो भने साँच्नेले चाहिँ खाँदा हुन्छ । ऋण काढेर धेरै खानु राम्रो होइन । खाँदा स्वास्थ्यलाई पनि ध्यान दिनुपर्छ ।

नेपालका विविध जातजातिको संस्कृति फरक छ, यिनीहरूमाझ सांस्कृतिक सम्बन्ध कसरी गाँसिएको छ ?
राजनीतिक हिसाबले हामी नेपाल देशको नागरिक हौं । यो देशको नागरिक भएको हिसाबले हाम्रो राष्ट्रियता नेपाली हो, त्यही नेपाली राष्ट्रियतामा हामी सबै आवद्ध छौं । दोस्रो, हामी विविध संस्कृति अनुसरण गर्ने मान्छे हौं । नेपालको संस्कृति सबै संस्कृतिको एकमुष्ट योग मिलेर बन्नुपर्छ भन्ने दाबी चाहिँ जनजातिहरूको हो । कुनै ठूलो समूहको संस्कृति मात्र राष्ट्रिय संस्कृति नहोस्, सबै संस्कृतिलाई नेपाली संस्कृति मानियोस् भन्ने चाहने हो भने हामीले एक अर्काको संस्कृतिलाई सम्मान गर्नु आवश्यक छ । आफनो संस्कृतिलाई पनि अरुले सम्मान गर्ने वातावरण सिर्जना गरियो भने हामी अविभाजित भएर मिलेर जसरी बसेका छौं, त्यसलाई हामी अझै पनि सुदुर भविष्यसम्म कायम गर्न सक्छौं ।

दशैंको पौराणिक कथामा आर्य र अनार्यको हारजीतको कथाले चस्काएको देखिन्छ नी !
कसको जीत कसको हार भन्ने कुरा इतिहासको अर्के कुरा हो । आफ्नो राज्य भएका जातजातिलाई पृथ्वीनारायणले जिते त, उनीहरूको पनि राज्य थियो नि त ! नेवारहरूलाई उनले जिते, नाक काटीकाटी मारे । राईहरूलाई पेट घोची–घोची मारे । लिम्बूहरूलाई हात डढाइडढाइ खेदे, तर बस्यौं नि त अहिले सबै मिलेर ।

तीन शहरमा ठूला–ठूला तीन वटा मल्ल राज्यहरू थिएनन् र ? बाइसी चौबिसी राज्य थिएनन् र ? पूर्वमा किरात प्रदेशहहरू नभएका हुन् र ? तर पृथ्वीनारायण शाहको विजय पछाडि बनेको जो नयाँ नेपाल हो, त्यसमा विगत बिर्सेर मिलेर बस्यौं नि त । खाली आग्रह के हो भने जित्नेले हार्नेहरूलाई हामीले जितेको भन्ने दुराग्रह राख्नुहुँदैन, अनि उहिले हाम्रो राज्य हरण भो भनेर जित्नेहरूलाई पनि दागा धरेर दुराग्रह गर्नु हुँदैन । अब हामीले समान हिसाबले पहिलेका सबै कुराहरू बिर्सिकन मिलेर बस्नुपर्‍यो ।

दशैंको बारेमा त धेरै पौराणिक आख्यान वा कथाहरू छन्, यी कस्ता साहित्य हुन् ?
दशैंको बेलामा साहित्यिक गोष्ठीहरू हुन्छन् । कतिले रमाएर दशैंको महत्व गाएर लेखे । कसैले दशैंले टाँट पल्टायो भनेर उपन्यास कथा लेखेका होलान् । त्यसलाई दशैं साहित्य हो भनेर भन्न मिल्छ कि मिल्दैन म जान्दिनँ, तर दशैंले दिएको सुख र दुःखको बारेमा साहित्यमा थुप्रै लेखिएका छन् । पौराणिक कथालाई पनि जोडेर लेखिएका छन् ।

किरातहरूले मानेको साकेलामा वा चासोकमा पनि पौराणिक कथा जोडिन्छ नि त । हरेक चाड संस्कृतिसँग सम्बन्धित भएपछि त्यो संस्कृतिको सम्बन्ध आदिमकालको त्यो जाति र समुदायको इतिहाससँग जोडिन्छ । त्यसकारण अहिले हामीले आफ्नो चाड मनाउनु भनेको आदिमकालको पुर्खासँग सम्बन्ध स्थापित गर्नु पनि हो । सम्बन्ध मर्न नदिनु हो । हामीले मिथक सम्झेकै त्यसै कारणले हो । पुराशास्त्र वा मिथोलोजी र मिथक भनेर सम्झेको हामीले सम्झिएको कारण आदिम र वर्तमानलाई एकै ठाउँ पार्नु र हाम्रो सम्बन्ध जहिले पनि अटुट बनाउनका लागि नै हो ।

विगत बिर्सियो भने वर्तमान सग्लो हुँदैन । वर्तमान बिर्सेर विगत मात्र हाम्रो राम्रो थियो भनेर मात्र बस्यो भने पनि वर्तमान सबल हुँदैन । त्यसकारण हामीले हाम्रो क्रियाकलाप, हाम्रो इतिहास, हाम्रो उद्देश्य वर्तमान अवस्था गर्नुपर्ने कुराहरूलाई ध्यानदृष्टि पु¥याएर सन्तुलित रुपमा लग्यौं भने हामी सबै मानव समुदाय या नेपाली समुदाय या नेपालका विभिन्न एक सय चौबिस भाषा बोल्ने जनजातिहरू सामाजिक सांस्कृतिक सम्बन्ध बलियो हुँदै जान्छ । त्यसो गर्दा चाडपर्वले सामाजिक सम्बन्धलाई बलियो पार्ने काम बनाउने नै भयो ।


(यो पुरानो अन्तरवार्ता हो, तर अहिले पनि उस्तै सान्दर्भिक ठानेर पुन प्रकाशन गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्