दुई दुर्घटनामा एकको मृत्यु, ४३ घाइते


८ कार्तिक २०७५, बिहीबार

अछाम, ८ कात्तिक । अछाममा दुई दिनमा दुई वटा सडक दुर्घटना भएका छन् । बुधबार दिउँसो मंगलसेन–४ कैलाशखोला नजिक ट्याक्टर दुर्घटना हुँदा एकको मृत्यु र ४० घाइते भएका छन् ।

Accident

यस्तै बिहीबार राति २ बजे बान्नीगढी–४ कैलाशखोला नजिकै भएको जिप दुर्घटनामा तीन घाइते भएका छन् ।

जिल्लाको मंगलसेनबाट जयगढतर्फ गइरहेको से १ ज ८०४ नम्बरको जीप राति २ बजे दुर्घटनामा परेको थियो । उक्त घटनामा घाइतेमध्ये मंगलसेन नगरपालिका–४ की १६ वर्षीया झुमा आउजीको टाउकोमा गम्भीर चोट लागेको छ भने मंगलसेन–८ का २० वर्षीय खगेन्द्र बिकको पनि टाउको र हात खुट्टामा चोट लागेकाले बयालपाटा अस्पतालमा उपचार भइरहेको छ ।

सामान्य घाइते मंगलसेन–५ का २९ वर्षीय राजेश भाट भने घर फर्किसकेको जिल्ला प्रहरी कार्यालय अछामले जानकारी दिएको छ ।

जीपमा चालकसहित चार जना रहेको र चालक फरार रहेको अछामका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक जनकबहादुर शाहीले बताए । यसअघि बुधबार दिउँसो कैलाशखोला नजिकै भएको ट्याक्टर दुर्घटनाका ४ जना घाइतेलाई बयालपाटा अस्पतालमा उपचार हुन नसकेपछि कोहलपुर मेडिकल कलेज रेफर गरिएको छ ।

दुर्घटनाबाट गम्भीर घाइते मंगलसेन–४ की ३५ वर्षीया कमला केसी, ३० वर्षीय नृप केसी, ३५ वर्षीया मोतिकला धामी र १७ वर्षीया पवित्रा केसीलाई कोहलपुर रेफर गरिएको प्रहरी नायब उपरीक्षक शाहीले जानकारी दिए ।

कोजाग्रत पूर्णिमाको दिन बान्नीगढी–४ तिमिल्सैनमा लाग्ने दशैँमेला हेर्न गएका ४० जना उक्त ट्याक्टर दुर्घटनामा परी घाइते भएका थिए भने मंगलसेन–४ की ३५ वर्षीया मैना धामीको घटनास्थलमै मुत्यु भएको थियो ।

ट्याक्टरमा ओभरलोड भएकै कारण दुर्घटना भएको हुनसक्ने प्रहरीले जनाएको छ । फरार रहेका ट्याक्टर चालक मंगलसेन–४ का हेमराज केसीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७