औंलाले क्यानभास रङ्ग्याउने प्रमिला
काठमाडौं, १७ कात्तिक । काठमाडाैं विशालनगरकी प्रमिला गिरी उमेरले वृद्धावस्था भइन् तर, उनको ऊर्जा कुनै तन्नेरीभन्दा कम छैन ।
चार दशकअघि पुरुष कलाकारको भीडमा एकाध महिलामध्येकी प्रमिला अझै युवा जोशमा चित्र कोर्छिन् । उन अरुभन्दा फरक रुपमा कुचीको सट्टा औंलाले नै क्यानभास रङ्ग्याउँछिन् । ‘कुचीले रङ भर्दा आत्मीयता भेट्दिन, औंलाले काम गर्दा रङ र क्यानभाससँग म अन्तरक्रिया गर्छु’, प्रमिलाले भनिन् ।
सन् १९६० को दशकतिर उनी भारतको बेङलोरस्थित शान्ति निकेतन पढ्न पुगिन् । चार वर्ष पढेर फर्केपछि त्यो बेलाका कलाकार शशीविक्रम शाह, गोविन्द डङ्गोल, विजय थापालगायत मिलेर नेपालमा ललितकला क्याम्पस खोल्ने अभियान थालिन् । क्याम्पस खुलेपछि त्यहाँ १८ वर्ष कला पढाएको अनुभव उनीसँग छ ।
पहिले पहिले कुचीमा पानी रङ चढाउन मन पराउने उनी विस्तारै तेल रङसँग खेल्न थालिन् । त्यही पनि औंलाले पोतेर । सिर्जनासँगै स्वदेश र विदेशमा कला प्रदर्शनी वृद्धावस्थामा समेत जारी छ । नर्वेका एन्डर्ससँग विवाह भए पनि कहिले नेपाल त कहिले नर्वे बसाइमा आफ्नो कला रोकिएन ।
नर्वेमा बनेका कला भने उताको प्रदर्शनीमा बेचेर उनी नेपाल आउँथिन् । उनका कतिपय चित्र ११ लाखमा बिक्री भएका थिए । त्यहाँ पनि नेपालको सुन्दरता, कलात्मक विविधतालाई क्यानभासमा कैद गर्थिन् ।
देशको माटोको भाव जोगाउनु पर्छ भनेर धेरै कला उहाँले संरक्षण गर्नुभएको छ । ‘किन्न खोज्ने धेरै छन्, तर नबेच्ने, प्रमिलाले भनिन्, ‘भावी पुस्तालाई पनि राख्नुपर्यो नि ।’ उतिबेलाका मूर्तिकलाका उत्कृष्ट नमूना काठमाडौँको भृकुटीमण्डपलगायत विभिन्न स्थानमा अहिले पनि हेर्न पाइन्छ ।
चित्रकला तथा मूर्तिकलामा अब्बल उनको सोच अहिलेको शहरलाई वातावरणमैत्री कलाले सजाउने छ । ‘हरेक सरकारी कार्यालयले कला किनेर सजाउनु पर्छ, हरेक चोक र सार्वजनिकस्थल नेपाली कलाले भर्नुपर्छ, तब मात्र नेपालको वास्तविक झल्किन्छ’, प्रमिला थप्छिन् ।
उतिबेला र अहिलेको अवस्थाको विश्लेषण भने उनी फरक तरिकाले गर्छिन् । अहिले कलाको अवस्था दयनीय बन्दै गएकोमा उनी दुःखी हुन्छिन् । क्षमता विदेशीको दाँजोमा राम्रो भए पनि नेपालका राम्रा कलाकारले उचित वातावरण पाउन नसकेको उनको बुझाइ छ ।
उनीबाट हामीले कलाकारिताको शिक्षा मात्र हैन कलाकारिताकै भविष्य कता लैजाने भन्ने कुराको मार्गनिर्देश पाउने एक जना कलाकार ज्योतिप्रकाश विक बताउँछन् । उनी स्वार्थभन्दा माथि उठ्ने कलाकारको रुपमा गिरीलाई सम्झन्छन् ।
तिब्बत र भैरवको कला श्रृङ्खला
अध्ययनसँग कलाकारिता गर्ने उनले सन् १९९० ताका तिब्बतमा गरेको अध्ययनको फलस्वरुप जन्मियो तिब्बत कलाको श्रृङ्खला । तिब्बतको मूर्तिकला, चित्रकला, थाङ्का अनि त्यहाँको कलात्मक गुम्बा र दरबारको कलाले उनलाई तान्यो ।
‘पहिलो पटक तिब्बत जाँदा देखेको वुद्धको ध्यान, धार्मिक आस्था, भाषा नबुझे पनि आँखाको इशारा अनि सरलताको भाव चित्रमा उतारेको छु’, गिरीले भनिन्, ‘त्यही भाव तिब्बत कला शृङ्खलामा छ ।’
तिब्बतको लामो बसाइको अनुभव नेपाल कला परिषद्मा एक सातादेखि जारी कला प्रदर्शनीमा हेर्न पाइन्छ । सन् २०१६ को कला प्रदर्शनीमा छुटेको कला यसपालि समावेश छ । यहाँ हिन्दू धर्मसँग जोडिएको भैरव कला श्रृङ्खलाले पनि निरन्तरता पाएको छ ।
तत्कालीन तन्त्र विद्याका अध्ययता श्रीधर शमशेर राणाबाट भैरव भनेको भिषण नाद (ठूलो आवाज) हो भन्ने बुझेपछि त्यसको सार खोज्न उनले अर्काे अध्ययन गरिन् ।
पशुपतिनाथलगायत विभिन्न धार्मिकस्थल घुमेर भैरवको भाव, चरित्र, महत्व र अस्तित्व चित्रमा उतारेकी छन् । शुक्रबार नर्वेका कला पारखीको समूह आएर प्रदर्शनी अवलोकन गरे । नेपालीको पनि प्रदर्शनी अवलोकनमा भीड थियो ।
नर्वेका स्भेरे नेडवर्गले गिरीकै कला प्रदर्शनीको समय मिलाएर नेपाल घुम्न आएको बताउँदै नेपालको प्रकृति जस्तै उनको कला चम्किलो रहेको प्रतिक्रिया दिइन् ।
उनीसँगै हिल्डे, बेस्सी, एण्डर्सलगायतले पनि कला अवलोकन गरे । प्रदर्शनीमा क्यान्भासका चित्रसँगै ढलोट पित्तल, तामा तथा सिमेन्टबाट निर्मित कलाको मिश्रित रुप देख्न सकिन्छ ।