निलाम्बर आचार्य भारतका लागि राजदूत सिफारिस, मलेसियाका लागि उदयराज
काठमाडौं, २५ कार्तिक : सरकारले पूर्वमन्त्री तथा पहिलो संवैधानिकसभाका संवैधानिक समितिका अध्यक्ष निलाम्बर आचार्यलाई भारतलाई लागि राजदूत पदमा सिफारिस गरेको छ । यस्तै मलेसियाका लागी उदयराज पाण्डेलाई सिफारिस गरेको छ ।
आतबार साँझ बसेको मन्त्री परिषद्को बैठकले आचार्य र पाण्डे सहित युएईका लागि परराष्ट्र मन्त्रालयका सहसचिव कृष्ण ढकाललाई सिफारिस गरेको हाे।
बामपन्थी विद्यार्थी राजनीतिबाट आफ्नो राजनीतिक जीवन आरम्भ गरेका आचार्यले ४६ सालको अन्तरिम मन्त्रिपरिषद्का सदस्य र पछि श्रीलंकामा नेपालका राजदूतको जिम्मेवारीसमेत सम्हालेका थिए । पहिलो संविधानसभामा उनी नेपाली कांग्रेसका तर्फबाट सदस्य थिए ।
यसअघि दीपकुमार उपाध्यायले प्रतिनिधिसभा निर्वाचनमा भाग लिन करिब डेढ वर्षअघि राजीनामा गरेपछि रिक्त थियो । केही महिनाअघि निर्वाचन आयोगका पूर्व प्रमुख आयुक्त निलकण्ठ उप्रेतीलाई प्रस्तावित गरिए पनि सत्ताधारी नेपाल कम्युनिष्ट पार्टीको नेतृत्व तहमै विवाद खडा भएपछि उनको नाम संसदीय समितिमा सुनुवाइका लागि समेत अगाडि बढाइएन ।
आचार्य नेपाल–भारत सम्बन्ध पुनरावलोकन निम्ति गठित प्रबुद्ध व्यक्ति समूह (इमिनेन्ट पर्सन्स ग्रुप) का सदस्य छन्। पूर्वमन्त्री भेषबहादुर थापाको संयोजकत्वमा दुवै देश तर्फबाट गठित उक्त समितिले १९५० को सन्धि लगायत नेपाल–भारत सम्बन्धका सम्पूर्ण विषय पुनरावलोकन गरी सुझाव दिनेछ। यसले आफ्नो प्रतिवेदन तयार पारिसकेको छ।
उदयराज पाण्डे
पाण्डे यसअघि साउदीका लागि नेपाली राजदूत थिए । उनी तात्कालिन एमाले निकट युवा संघका अध्यक्ष समेत थिए । उनले साउदीमा छदा निकै राम्रो काम गरेका थिए ।
मन्त्रिपरिषद बैठकले नेपाल प्रहरीमा प्राविधिक तर्फबाट दुर्गा थापालाई एआइजी नियुक्त गर्ने निर्णय पनि गरेको छ।
त्यस्तै, जेनेभास्थित विश्व व्यापार संगठन (डब्लुटिओ) का लागि नेपाली प्रतिनिधिमा दिपक धितालको समयावधि थप्ने निर्णय गरेको छ।
सूचनामा नयाँ प्रबन्ध ?
मन्त्रिपरिषद्को आजको बैठकले गरेका निर्णयहरुबारे सरकारले तत्काल जानकारी नदिई नयाँ प्रबन्धबाट सार्वजनिक गर्ने तयारी गरेको छ । आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रीपरिषद्को बैठक बसेको थियो । तर, बैठकको निर्णय भने सञ्चार माध्यमहरुलाई जानकारी दिइएको थिएन ।
बैठकमा धेरै विषयमा छलफल भई आवश्यक निर्णयहरु गरिएको र त्यसबारेमा केही नयाँ प्रबन्धसहित जानकारी गराइने सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले पत्रकारहरुलाई बताएका थिए । भनेका थिए, ‘लामो समयपछि आज मन्त्रिपरिषद्को बैठक बसेको छ । तपाईंहरुले समयक्रममा विस्तृतमा थाहा पाउनु हुनेछ, हामी केही फरक व्यवस्थाका साथ आउँछौँ ।’
प्रधानमन्त्री केपी शर्मा ओली छातीमा सङ्क्रमणका कारण अस्वस्थ्य भएपछि यही कात्तिक ११ यता मन्त्रिपरिषद्को बैठक बसेको थिएन ।
–––