चर्चित गायक गंगालाल ‘बरदान’ माथि आक्रमण
मोरङ, २६ कातिक । चर्चित गायक तथा लेखक गंगालाल श्रेष्ठ ‘बरदान’ माथि आक्रमण भएको छ । बेलबारी नगरपालिकामा आइतबार दिउँसो श्रेष्ठमाथि आक्रमण भएको प्रहरीले जनाएको छ ।
ना ५ ख २८९४ नम्बरको मिक्लुङ यातायातको बस चढेर धरानतर्फ जाँदै गर्दा बसका कन्डक्टर र सहचालकले श्रेष्ठमाथि आक्रमण गरेको इलाका प्रहरी कार्यालय बेलबारीले जानकारी दिएको छ ।
काँकडभित्ताबाट धरान जाँदै गरेको मिक्लुङ यातायातको बसका कन्डक्टर रोशन श्रेष्ठ र सहचालक सुजन श्रेष्ठले बेलबारीको लालभित्तीमा श्रेष्ठलाई कुटपिट हुन् । सिटको विषयमा विवाद हुँदा घटना भएको हो । प्रहरीका अनुसार गायक श्रेष्ठलाई गाडीका सहचालक र कन्डक्टरले धकेलेको स्विकारेका छन् ।
गायक श्रेष्ठ भने आफूमाथि आक्रमण भएपछि प्रहरी चौकी पुगेका थिए । प्रहरीले गाडी र गाडीका चालक निरन घिमिरे र सहचालक श्रेष्ठलाई पक्राउ गरेको छ । कन्डक्टर रोशन श्रेष्ठलाई प्रहरीले खोजिरहेको जनाएको छ ।
श्रेष्ठको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ । श्रेष्ठका ‘छपनीले छान छान, डबकीले हान’, कहाँमा काट्यो बेतको लौरी, सिमसिम पानी कान्छी नानीलगायतका गीत चर्चित छन् ।