पदाधिकारीलाई बन्धक बनाएको आरोपमा कृषि विश्वविद्यालयका ९ विद्यार्थी पक्राउ


१ मंसिर २०७५, शनिबार
ban 1

चितवन, १ मंसिर । विश्व विद्यालयका पदाधिकारीलाई बन्धक बनाएको आरोपमा चितवनको कृषि तथा वन विज्ञान विश्व विद्यालयका नौ विद्यार्थीलाई पक्राउ परेका छन् ।

ban 1

विश्व विद्यालयको पदाधिकारीलाई विश्व विद्यालयमै बन्धक बनाएको आरोपमा उनीहरुलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा गुल्मीका वामदेव रेग्मी, रुपन्देहीका दुर्लभ पाण्डे, स्याङ्जाका केशव काफ्ले, बर्दियाका भाष्करसिंह ठकुरी, मकवानपुरका सन्तोष खतिवडा, स्याङ्जाका अवित रेग्मी, दैलेखका हेमराज कठायत, झापाका दर्शन अधिकारी र सुर्खेतका झलकराज जोशी छन् ।

उनीहरुले विश्वविद्यालयका रजिष्ट्रार प्रा.डा. मनराज कोलाक्षपति, सेवा आयोगका अध्यक्ष प्रा.डा. रामनाथ ओझा, परीक्षा नियन्त्रक प्रा. नारायणराज जोशीलाई विश्वविद्यालय भित्रबाट बाहिर निकस्न नदिई अवरोध खडा गरेका थिए ।

दिउँसो ४ बजे नियमित काम सकाए घर फर्कन लागेका पदाधिकारीहरुलाई विद्यार्थीहरुले साँझ अबेरसम्म पनि बाहिर निस्कन नदिएपछि प्रहरीले हस्तक्षेप गरेको थियो । विद्यार्थी पक्राउको बिरोध गर्दै आन्दोलनकारी संगठनले रिहाइको माग गरेका छन् ।

विद्यार्थीहरुले विश्वविद्यालयमा आगजनी गरेपछि जिल्ला प्रशासन कार्यालय चितवनले कात्तिक २९ गते प्रहरीको सहयोगमा विद्यार्थी र प्राध्यापकहरुले लगाएको ताला फुटाएर नियमित कामकाज सञ्चालनमा ल्याएको थियो ।

त्यसको बिरोधमा शुक्रबारबाट विद्यार्थीहरुले फेरि आन्दोलन गर्दै पदाधिकारीहरुलाई भित्र नै थुन्ने प्रयास गरेको विश्वविद्यालयका रजिष्ट्रार प्रा.डा. मनराज कोलाक्षपतिले जानकारी दिएका छन् ।

विश्वविद्यालयले सम्वन्धन दिएका निजी कलेजमा भर्ना खुलाएको भन्दै विश्वविद्यालयको केन्द्रीय कार्यालय र परीक्षा नियन्त्रण कार्यालयमा कात्तिक २७ गते राति विद्यार्थीहरुले आगजनी समेत गरेका थिए ।

आगजनीबाट विश्वविद्यालयमा लाखौंको सरकारी सम्पत्तीमा क्षति पुगेको छ । उनीहरुले विश्वविद्यालयको ८० भन्दा बढी झ्यालका सिसा फुटाएर क्षतिग्रस्त बनाएका छन् ।

आगजनी गरेर लाखौंको क्षति गर्ने कसैलाई पनि कारर्वाही भएको छैन । आगजनीको नेविसंघ, अनेरास्ववियु, अनेरास्ववियु क्रान्तिकारी केन्द्रीय कमिटीले विज्ञप्ती जारी गर्दै भत्र्सना गरेका छन् ।

विश्वविद्यालयका रजिष्ट्रार प्रा.डा. कोलाक्षपतिले यो विषय विश्वविद्यालयको मात्रै नभएको भन्दै सर्वोच्च अदालतले जारी गरेको अन्तरकालीन आदेशलाई मानेर अघि बढेको बताए ।

सर्वोच्चको आदेश मान्न सरकार र विश्वविद्यालय वाध्य हुनुपर्ने जगजाहेर हुँदाहुँदै आन्दोलन जारी राखेर विश्वविद्यालयलाई असफल बनाउने काम नगर्न उनले सम्वन्ध सबैसँग आग्रह गरेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७