सुनकोशी-कमला डाइभर्सन आयोजनाबारे छलफल

काठमाडौं, २२ मंसिर । सरकारले सुनकोशी–कमला–मरिन डाइभर्सन परियोजनालाई उच्च प्राथमिकतामा राखेको भन्दै त्यसलाई निकट भविष्यमा नै अगाडि बढाउने भएको छ ।

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन र प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु रावतबीच सो आयोजना शीघ्र अगाडि बढाउने विषयमा छलफल भएको मन्त्री पुनको सचिवालयले जनाएको छ ।
हिमाल, पहाड र तराईलाई समुन्नत पार्ने परियोजना भएकाले प्राथमकिताका साथ संघीय सरकारले अगाडि बढाउन लागेको भन्दै आवश्यक सहजीकरणका लागि प्रदेश नं २ को भूमिका महत्वपूर्ण हुने मन्त्री पुनको भनाइ थियो ।
लामो समयदेखि चर्चामा रहे पनि आयोजनाले गति लिन नसक्दा प्रदेश नं २ को कृषि उत्पादनलाई बढावा दिन नसकिएकाले यस पटक भने सरकारले विशेष कार्ययोजनासाथ काम गर्न लागेको मन्त्री पुनले बताए ।
ऊर्जामन्त्री पुनले भने, ‘सुनकोशी कमला डाइभर्सन मन्त्रालयको उच्च प्राथमिकतामा छ । केही समयभित्रै विस्तृत परियोजना प्रतिवेदन पनि तयार हुन्छ ।
सो लगत्तै सरकारले ठेक्का प्रक्रिया शुरु गरिहाल्छ, परियोजनाले दुई नम्बर प्रदेशको विकासमा ठूलो योगदान दिन्छ ।’ सो अवसरमा मुख्यमन्त्री रावतले कर्मचारी व्यवस्थापन र ऊर्जा मन्त्रालय मातहतको आयोजनाको विषयमा मन्त्री पुनको ध्यानाकर्षण गराएका थिए ।
भेटमा मुख्यमन्त्री रावतले भारतीय जनता पार्टीका नेता रहेका उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ विवाहपञ्चमीको अवसरमा जनकपुर आउन लागेको विषयमा जानकारी गराए ।
उनले त्यसको लागि प्रदेश सरकारले आवश्यक तयारी गरिसकेको बताए । मुख्यमन्त्री रावतले प्रदेशअन्तर्गतका कार्यक्रमका विषयमा जानकारी गराउनुका साथै केन्द्र सरकारले अघि बढाइरहेको सुनकोशी कमला डाइभर्सनले सप्तरी, सिराहालगायतका जिल्ला सिँचाइबाट लाभान्वित हुने भएकाले प्राथमिकता दिन मन्त्री पुनलाई आग्रह गरेका थिए ।