तीन लाख सेवाग्राहीले ‘स्मार्ट’ चालक अनुमतिपत्र पाएनन्


१४ माघ २०७५, सोमबार
smart licence

काठमाडौं, १४ माघ । एकान्तकुनास्थित यातायात व्यवस्था कार्यालयमा आवेदन दिएका झण्डै तीन लाख सेवाग्राहीले ‘स्मार्ट’ चालक अनुमतिपत्र पाएका छैनन् ।

smart licence

यातायात व्यवस्था विभागले चालक अनुमतिपत्र छाप्न गरिरहेको ढिलाइका कारण राजश्व तिर्दा समेत सेवा नपाउने सेवाग्राहीको संख्या बढिरहेको कार्यालयले जनाएको छ । ‘स्मार्ट’ चालक अनुमतिपत्रका लागि आवेदन दिनेमध्ये धेरै अहिले परीक्षा पास भएका र केही नवीकरणका लागि आवेदन दिएका सेवाग्राही रहेको कार्यालयका प्रमुख चेतप्रसाद उप्रेतीले बताए ।

कार्यालयले चार वर्ष पहिले ‘स्मार्ट’ चालक अनुमतिपत्र शुरु गरेदेखि अहिलेसम्म छ लाख ८० हजारले अनुमतिपत्रका लागि आवेदन दिएका छन् । तीमध्ये अहिले चार लाख १० हजारसम्मको वितरण भइसकेको छ । विभागले छपाइ गरेर कार्यालयमा पठाउँदा क्रमिक रुपमा नपठाएको उनले बताए । ती सेवाग्राही आफ्नो अनुमतिपत्र आएको छ छैन भन्ने बुझ्ने कार्यालय आउने गरेको कार्यालयले बताएको छ ।

उनले भने, ‘कति त आएको छैन भनेपछि सजिलै फर्कन्छन् कतिले भने ढिलाइ भएको भन्दै कराउने गर्छन् ।’ नेपालमा पहिलो पटक यही कार्यालयबाट नै ‘स्मार्ट’ चालक अनुमतिपत्रको शुरु भएको प्रमुख उप्रेतीले बताए । अहिले देशभरका यातायात व्यवस्था कार्यालयले यो सेवा दिने गरेका छन् ।

विभागले नै देशभरका कार्यालयबाट आएका आवेदनबाट ‘स्मार्ट’ चालक अनुमतिपत्र छाप्ने गरेको छ । विभागमा भएको मेशिनको क्षमता भन्दा बढी छाप्नुपर्दा ढिलाइ भइरहेको उप्रेतीले बताए । अहिले १३ महिना पहिले आवेदन दिएका सेवाग्राहीको चालक अनुमतिपत्र वितरण भइरहे पनि क्रमिक नहुँदा त्यो भन्दा पहिलेका सेवाग्राहीले समेत पाएका छैनन् । उनले भने, ‘चार लाख १० हजार भन्दा पुरानो अनुमतिपत्र समेत वितरण गर्न बाँकी छ ।’

‘स्मार्ट’ चालक अनुमतिपत्र छपाइमा भइरहेको ढिलाइका कारण चालकले लामो समयदेखि राजश्व तिरेको रसिद बोकेर सवारी चलाइरहेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७