प्रदेश र स्थानीय तह गएका कर्मचारी संघमा सरुवा हुन नपाउने, यसरी पास भयो प्रतिवेदन
काठमाडौं, ३ फागुन । नचाहँदा–नचाहँदै वाध्य भएर प्रदेश र स्थानीय तहमा समायोजन रोजेका कर्मचारीमाथि सरकारले अर्को निर्मम निर्णय गरेको छ ।
समायोजन भएर प्रदेश र स्थानीय तहमा गएका निजामती कर्मचारीको संघमा सरुवा हुने बाटो अब बन्द भएको छ । संसदको राज्य व्यवस्था समितिले कर्मचारी समायोजन विधेयकको छलफलका क्रममा समायोजन भई प्रदेश र स्थानीय तहमा पुगेका कर्मचारीको संघमा सरुवा हुने व्यवस्था नराखी प्रतिवेदन तयार पारेको स्रोतले जानकारी दिएको छ ।
समायोजनमा गएका कर्मचारीको संघमा सरुवा हुने प्रावधान विधेयकमा राख्नुपर्ने भनी संशोधन दर्ता गएका कांग्रेस सांसदहरुले शुक्रबारको छलफलमा यो विषय नउठाएपछि समितिले उक्त प्रावधान नराखी प्रतिवेदन तयार पारेको हो । अब कर्मचारी समायोजन विधेयक राज्य व्यवस्था समितिको प्रतिवेदनसहित प्रतिनिधिसभमा पेश हुनेछ ।
त्यस्तै सघीय संसद सेवामा कार्यरत कर्मचारीको प्रदेशसभा बाहेक अन्यत्र पनि सरुवा खुला भएको छ । यसअघि सरुवा भई प्रदेशसभामा मात्र जान पाउने व्यवस्था भए पनि कर्मचारी समायोजन विधेयकमा अन्य ठाउँमा पनि सरुवा हुने बाटो खुला गरिएको हो ।