अब सुन–चाँदी किन्दा पनि पहिला स्रोत खुल्ने फारम भर्नुपर्ने


१० फाल्गुन २०७५, शुक्रबार
gold 1 1

काठमाडौं, १० फागुन । के तपाई सुन–चाँदी किन्ने सुरमा हुनुहुन्छ ? यदि हो भने तपाईले सुन किन्नका लागि तयार पारेको रकमको स्रोत खुलाउनु पर्ने भएको छ ।

gold 1 1

सरकारले सुन–चाँदीलगायत वहुमूल्य धातुको कारोबारमा निगरानी बढाएको छ । १० लाखभन्दा बढीको बहमूल्य धातुको कारोबारमा सरकारले व्यवसायीलाई ग्राहकको विस्तृत अभिलेख राख्ने व्यवस्था गर्ने भएको छ । जसका लागि सरकारले आवश्यक तयारी अगाडि बढाइसकेको जनाएको छ ।

सम्पत्ति शुद्धिकरण ऐनको व्यवस्था अनुरुप आन्तरिक राजश्व विभागले सुनचाँदी व्यवसायलाई आफ्ना ग्राहककको अभिलेख राख्न र त्यसको सूचना राष्ट्र बैंकलाई उपलब्ध गराउनुपर्ने गरी निर्देशन जारी गर्न लागेको छ ।

यो निर्देशन जारी भएपछि १० लाखभन्दा बढीको सुनचाँदी र बहुमूल्य धातुको कारोबार गर्दा ग्राहकलाई पसलहरुले ‘नो योर कस्टमर’ (केवाईसी) फारम भर्नुपर्ने छ । विभागमा निर्देशक ऋषिराम पोखरेलका अनुसार यस विषय व्यवसायीसँग पनि विभागले छलफल गरेको छ ।

‘अहिले सुनचाँदी ग्राहकको व्यवस्थित अभिलेख सुन पसलहरुसँग छैन, तर अब १० लाखभन्दा बढीको कारोबाार गर्दा ग्राहककको सबै विवरण पसलहरुले राख्नुपर्ने व्यवस्था गर्न लागेका हौं,’ उनले भने, ‘यसले सम्पत्ति शुद्धिकरणसम्बन्धी कानुनको कार्यान्वयनमा सघाउँछ भने ठूला कारोबारको जानकारी सरकारलाई पनि हुन्छ ।’

नयाँ गर्न लागिएको व्यवस्थाअनुसार अब सुन किन्दा ग्राहकले आफ्नो आथिर्क स्रोत खुलाउनुपर्छ । यदि कुनै शंकास्पद कारोबार भएमा सुन पसलहरुले त्यसको जानकारी सरकारलाई दिनेछन् ।
‘उच्च पदस्थ व्यक्तिहरुले गरेको कारोबारको जानकारी पनि यसपछि राज्यलाई आउँछ,’ पोखरेलले भने, ’अभिलेख राख्नुपर्ने व्यवस्थाले राजश्व छली पनि कम हुन्छ ।’ हाल दैनिक रुपमा करोडौंको सुन कारोबार हुन्छ । तर, सरकारसँग सुन खरिद गर्नेको अभिलेख छैन । अवैध रुपमा आर्जन भएका सम्पत्ति लुकाउन सजिलो हुने भएकाले सुनमा लगानी गर्ने प्रचलन छ ।

सम्पत्ति शुद्धिकरण ऐनले सुनसहित बहुमूल्य धातुको कारोबारको नियमन गर्ने जिम्मा आन्तरिक राजश्व विभागलाई दिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष मोहनकुमार सुनार सरकारले गर्न लागेको व्यवस्थामाथि महासंघको आधिकारिक धारणा आफूहरुले राखिसकेको बताएका छन् ।

उनले सुनचाँदी व्यवसायलाई सहज रुपमा सञ्चालन गर्न दिने वातावरण तयार गर्न माग गर्दै आफूहरुले विभिन्न सुझाव पेश गरेको उनले बताए । ‘हामीलाई सुनको कोटा कम भएर नै समस्या छ, त्यसैले पर्याप्त मात्रामा सुन उपलब्ध गराउन भनेका छौं,’ उनले थपे, ‘सुनचाँदीको व्यवसायीलाई सहजीकरण गर्ने कुरामा ध्यान र्पुयाएको छैन, त्यो हुनुपर्छ ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७