प्रचण्डको बचाउ गर्दे बाबुरामले भने,‘दाहाल र राउत उस्तै हो भन्न मिल्छ ?’


४ चैत्र २०७५, सोमबार
prachand baburam

काठमाडौँ, ४ चैत । नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराईले नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को बचाउ गरेका छन् । पार्टी कार्यालयमा सोमबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै संयोजक भट्टराईले दाहालको बचाउ गर्दै प्रचण्ड र सीके राउतलाई उस्तै हो भन्न नमिल्ने बताएका हुन् ।

उनले प्रचण्ड एउटा जनयुद्धको नेतृत्व गरेर आएका नेतासँग पृथकतावादी नीति लिएर हिडेको राउतसँग तुलना गर्नु हात्ती र हात्तीछाप चप्पल उस्तै–उस्तै हो भन्नु जस्तो भएको बताए ।

‘सम्झौता गरेर नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्र ल्याउने बिन्दुसम्म हामीले र्पुयाएको हौ, अनि दाहाल र राउत उस्तै हो भन्न मिल्छ ?, राउतले त आत्म समर्पण गरेका हुन् ।’ उनले भने, ‘दाहाल र बाबुराम त आत्मसमर्पण गरेर आएका होइनन, हामी त संघीय लोकतान्त्रिक गणतन्त्र निर्माण गर्न अगाडि लागेका मान्छे हौं, यो त हात्ती र हात्तीछाप चप्पल उस्तै उस्तै हो नानु भने जस्तै हो ।’

उनले राउतलाई सरकारले वार्ता गरेर पृथकतावादी बाटो छाडेर शान्ति प्रक्रियामा ल्याएको भए स्वागत गर्न सकिने बताए । उनले भने, ‘राउत निःशर्त आफ्ना पूर्व मान्यता र अडानलाई परित्याग गर्न तत्पर भएका हुन् भने त्यो निश्चय नै स्वागत योग्य कुरा हो । तर, सम्झौतामा उल्लेखित शब्दको भावना र घटनाक्रम त्यस्तो देखिएको छैन ।’

वर्तमान सरकार र कथित स्वतन्त्र मधेश गठबन्धनका नेता सीके राउतबीचको हठात, हचुवा र द्विअर्थी सम्झौताले देशको अखण्डता र सार्वभौमसत्तामाथि गम्भीर आशंका उत्पन्न भएको छ ।
उनले न्यायिक प्रक्रियामा रहेका व्यक्तिसँग हठात भएको सम्झौताले सरकारले न्यायिक प्रक्रियामा हस्तक्षेप गरेको र सेटिङ्ग राज्यको विकृत अभ्यासतिर उद्यत रहेको पुष्टि भएको बताए ।

‘यो घटनाले न्यायालयको निष्पक्षता, तटस्थता र मर्यादामा गम्भीर क्षति पुर्याएको छ ।’,उनले भने, ‘प्रधानमन्त्री आफैले विखण्डनजस्तो संगीन मुद्दामा जोडिएको व्यक्तिलाई राष्ट्रका लागि निक्कै ठूलो योगदान गरेको ‘हिरो’ जस्तो अतिरञ्जित प्रस्तुति गर्नु किमार्थ स्वाभाविक र शोभनीय थिएन ।’

यस्तै उनले सरकारले राउत, नेत्रविक्रम चन्द र रेशम चौधरीप्रति गरिएको व्यवहारमा तालमेल नभएको बताए । नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीलाई प्रतिबन्ध लगाउने सरकारको निर्णय हतार र अपरिपक्व रुपमा आएको औंल्याए । विप्लवको गतिविधिलाई निस्तेज पार्ने विकल्पहरु नहेरीकन सरकारले प्रतिवन्ध लगाउन हतारमा निर्णय लिएको नयाँ शक्तिले बताएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७