प्रहरीको ५० करोडको टेण्डरमा चलखेल, कालोसूचीमा परेको कम्पनीलाई ठेक्का


५ चैत्र २०७५, मंगलवार
topendra bc copy

काठमाडौं, ५ चैत । जाडोयाममा न्यानो कपडा लगाउनबाट बन्चित भएका प्रहरीका लागि गर्मीयाम सुरु भएपछि ज्याकेटको टेण्डर खुलेको छ । टेण्डर खुले पनि आर्थिक बर्षको अन्तिममा पनि सामान आउने संभावना क्षीण देखिएको छ । जाडोमा खरिद गर्नुपर्ने सामान २०७५ फागुन अन्तिममा टेण्डर खोलिएको छ । संभवतः प्रहरीले चैत पहिलो साता खरिद सम्झौता गर्नेछ ।

topendra bc copy
नारायणसिंह खड्का, राजमान मिश्र र टोपेन्द्र बीसी

सम्झौता भइसकेपछि १ सय २० दिनभित्रमा सामान बुझाउनुपर्ने हुन्छ । १ सय २० दिन असार अन्तिममा हुन्छ । आर्थिक बर्षको असार २० सम्म मात्र चेक जारी गरी भुक्तानी गर्न मिल्छ । त्यसकारण यो आर्थिक बर्षमा पनि प्रहरीका लत्ताकपडादेखि गर्मीमा आवश्यक झुल आउन कठिन देखिएको छ ।

प्रहरीले आर्थिक बर्ष सुरु हुनासाथ टेण्डर गरेको भए प्रहरीले जाडोमै ज्याकेट लगाउन पाउँथे । गर्मीका सामान पनि पाउँथे । तर आर्थिक बर्षको ८ महिनापछि टेण्डर खोलेका कारण यो बर्ष पनि सामान आउने संभावना क्षीण बन्दै गएको हो ।

चुस्तादेखि ऊलन पाइन्ट, ऊलन स्वेटर, पार्का ज्याकेट खरिदका लागि आपूर्तिकर्तालाई बोलपत्र स्वीकृत गर्ने आसयपत्रको लागि सूचना २०७५ फागुन १४ र १७ निकालेको नेपाल प्रहरीले २०७५ फागुन २३ मा दोस्रो लटको ठेक्का स्वीकृत गरी आसयपत्र सार्वजनिक गरेको छ ।

पहिलो लटमा करिब ५० करोडको ठेक्काको आसयपत्र निकालेको प्रहरीले दोस्रो लटमा झन्डै १० करोड बराबरको आसयपत्र सार्वजनिक गरेको हो । दोस्रो लटमा ऊलन सर्ट, ऊलन ब्ल्यांकेट, पीटी सुज, ब्यारेट क्यापको आसयपत्र निकालेको छ ।

डीएमएस बुटको बारेमा विवाद भएपछि टेण्डर खुलाएको छैन । डीएमएस जुत्ता खरिद गर्ने भनेर प्रबन्धका डीआइजी नारायणसिंह खड्का, डीएसपी नवराज थापा र इन्स्पेक्टर केशव गौतमले स्पेसिफिकेसन नै परिवर्तन गरी अर्कै जुत्ता खरिद गरी ठूलो रकम कमिसन खान खोजेपछि विवाद भएका कारण टेण्डर खोल्नबाट रोकिएको स्रोतले बताएको छ ।

ठेकेदारहरुले नै पोल खोलाखोल गरेपछि बुटको ठेक्का नै रद्द भएको प्रहरी स्रोतको भनाइ छ । स्रोतका अनुसार बुटको पुनः टेण्डर गरिंदैछ ।

प्रहरीको टेण्डर स्वीकृत गर्दा पनि कम दरमा हाल्नेलाई नदिई पहुँच र प्रभावका आधारमा बढी दरमा हाल्ने कम्पनीलाई चलखेलका आधारमा दिइएको प्रहरी स्रोतको दाबी छ । गृहमन्त्री रामबहादुर थापाका छोरा प्रतीक थापालाई पार्टनर बनाएको दाबी गर्दैआएका राजमान मिश्रलाई खरिद ऐन नियम विपरीत प्रहरीका कराडौंका टेण्डर दिइएको छ ।

२ करोड ५६ लाख २५ हजार ५ सय रुपैयाँको ऊलन पाइन्टको ठेक्का राजमान मिश्रको जे.एम.बी.डी. इन्टरनेशनल चावहिलले पाएको छ । ऊलन पाइन्टको ठेक्का खरिद नियम अनुसार मिश्रलाई दिनै नमिले पनि गृहमन्त्री थापाको छोराको नाम लिंदै मिश्रले लिन सफल भएका छन् ।

मिश्रको जे.बी.एम. इन्टरनेशनल सेनाले कालोसूचीमा राखेपछि जे.एम.बी.डी. इन्टरनेशनलका नामक अर्को कम्पनी दर्ता गरी टेण्डर हालेर ठेक्का लिएका छन् । उनको जेबीएम कम्पनीलाई सेनाको पत्रका आधारमा सार्वजनिक खरिद अनुगमन कार्यालयले सन् २०१८ मे २९ देखि २०२१ मे २८ सम्म कालोसूचीमा राखेको छ ।

एउटा कम्पनी कालोसूचीमा परेका मिश्र गृहमन्त्रीका छोरा प्रतीकलाई पार्टनर राखेको भन्दै ठेक्का लिन सफल भएका छन् । मिश्रलाई ठेक्का दिनका लागि गृहमन्त्रीका छोराको दबाब छ भन्दै नियम अनुसार अर्कैले पाउनुपर्ने भए पनि दिइएको छ । जसमा प्रबन्धका इन्स्पेक्टर केशव गौतमको पनि ठूलो भूमिका रहेको बताइन्छ ।

यूरेसिया बिजनेश प्रालिले झुलको ठेक्का पाएको छ । यूरेसियाका ठेकेदार राजन कडरिया हुन् । उनले झापाका इन्द्र ओडारीलाई पार्टनर बनाएर प्रहरीका ठेक्का पाउन सफल भएका छन् । ओडारी प्रधानमन्त्री केपी ओलीदेखि राष्ट्रपति विद्या भण्डारीसँग समेत सम्बन्ध रहेको बताउने गर्दछन् । कागजपत्र अनुसार कम दरमा अर्कै कम्पनीले झुल(मस्क्वीटो नेट) को ठेक्का पाउनुपर्नेमा ओडारीले माथिबाट दबाब दिई यूरेसियालाई दिन लगाएका छन् ।

दोस्रो लटको २०७५ फागुन २३ मा टेण्डर स्वीकृत गरी आसयपत्र निकालिएको ऊलन सर्टको ठेक्का पनि नियमअनुसार पाउनुपर्ने ठेकेदारलाई नदिई पिताम्बर मुन्काको क्राउन टेक्सटाइल इन्डष्ट्रिजलाई दिइएको छ । ऊलन ब्ल्यांकेट बिजय श्रेष्ठको न्यू क्रियसन इम्पेक्सले पाएको छ । श्रेष्ठको न्यू क्रियसनले ३ करोड २१ लाख १२ हजार रुपैयाँको ऊलन ब्ल्यांकेटको ठेक्का पाएको छ ।

बिजय श्रेष्ठ पहिलो पटक नेपाल प्रहरीको ठेक्कामा छिरेका छन् । उनी आफूलाई रक्षा मन्त्री इश्वर पोखरेलको सालो भन्ने गर्दछन् । र, उनीसँग खिचाएका तस्वीर समेत सामाजिक संजालमा राख्ने गर्दछन् । उनले सेनामा ८ करोड रुपैयाँ बराबरका गुणस्तरहीन वेभ इक्युपमेन्ट ब्याग आपूर्ति गरी भुक्तानी लिइसकेका छन् । जुन ब्याग पानी नछिर्ने हुनुपर्नेमा पूरै पानी छिर्ने खालका आपूर्ति गरिएकोबारेमा समाचार आए पनि सेनाले उनलाई भुक्तानी दिएको छ ।

पिताम्बर मुन्काको क्राउनले पहिलो लटमा २ करोड ४६ लाख ३७ हजार ५ सय रुपैयाँको अन्डर ट्राउजर भेष्ट सेट र २ करोड २८ लाख ९६ हजारको ऊलन स्वेटर समेत गरी करिब ५ करोडको ठेक्का पाएको थियो ।

दोस्रो लटमा मुन्काको क्राउनले ४ करोड ३२ लाख ९० हजारको ऊलन सर्टको ठेक्का पाएको छ । मुन्काको क्राउनले मात्रै करिब १० करोडको ठेक्का पाएको छ । मुन्का आवरणमा देखिए पनि लागूऔषधको कारोबारमा मुछिएको संघाई ग्रुपको लगानी क्राउनमा रहेको बताइन्छ ।

नेपाल टेलिकमका कर्मचारी टोपेन्द्र बीसीको क्यामो फ्ल्याग नेपाल टे«डिङ प्रालिले ६४ लाख १० हजारको ब्यारेट क्यापको ठेक्का पाएको छ । रितेश अग्रवालको एसके टे«डर्स धरान सुनसरीले दोस्रो लटमा १ करोड ३८ लाख ४६ हजारको पीटी सुजको ठेक्का पाएको छ । यसअघि एसकेले १ करोड ५० लाखको स्लीपीङब्याग आपूर्ति गर्ने ठेक्का पाएको छ ।

टोपेन्द्र बीसीका साला समुन्द्र खड्काको नाममा दर्ता भएको पार्वती ट्रेडर्सलाई सेनाले कालोसूचीमा राखेको छ । नेपाली सेनाबाट पिताम्बर मुन्का र टोपेन्द्र बीसीले २०७० मंसिर ४ गते हुने निर्वाचनका लागि संचारका उपकरण आपूर्ति गर्ने १० करोड बराबरको ठेक्का टेण्डर नगरी कोटेसनमा लिएका थिए ।

तर ५ बर्षपछि २०७५ सम्म पनि सामान नबुझाएपछि वर्तमान सेनापति पूर्णचन्द्र थापाले उनको फर्मलाई कालोसूचीमा राख्न सार्वजनिक खरिद अनुगमन कार्यालयमा पठाएका थिए । अनुगमन कार्यालयले कालोसूचीमा राख्न बिलम्ब गरेपछि सेनाले ताकेता गरेर सूचना निकाली प्रक्रिया अगाडि बढाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७