त्रिशुली ‘थ्री बी’ को शेयर सर्वसाधरणका लागि खुल्ला, प्रधानमन्त्रीले दिए निवेदन


७ चैत्र २०७५, बिहीबार
kp oli 2

काठमाडौं, ७ चैत । ‘जनताको जलविद्युत् कार्यक्रम’ अन्तर्गत माथिल्लो त्रिशुली ‘थ्री बी’ को शेयर आजदेखि सर्वसाधरणका लागि खुल्ला गरिएको छ ।

kp oli 2
जनताको जलविद्युत कार्यक्रम अन्तर्गत शेयर पहिलो शेयर खरिद गर्दै प्रधानमन्त्री केपी शर्मा ओली । तस्विर : प्रधानमन्त्रीको ट्वीटरबाट

त्रिशुली जलविद्युत कम्पनीले निस्काशन गर्ने आईपिओमा आवेदन दिन प्रधानमन्त्री केपी शर्मा ओलीले ग्लोबल आइएमई क्यापिटल र नेपाल डिपी लिमिटेडमा २ वटा डिम्याट खाता खोलेका थिए ।

‘जनताको जलविद्युत् कार्यक्रम’ अन्तर्गत पहिलो शेयर नुवाकोट र रसुवामा निर्माणाधीन माथिल्लो त्रिशुली थ्री ‘बी’ ले निस्कासन गरिएको हो । गएको फागुन २ गते ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले सार्वजनिक गरेको जनताको जलविद्युत् कार्यक्रमअन्तर्गत पहिलो चरणमा आम सर्वसाधारणका लागि शेयर खुला गरेको हो ।

मन्त्रालयले ४९ प्रतिशत जनताको शेयर सुनिश्चित गर्न तथा शुरुमा १० प्रतिशत शेयर दिने गरी एक खर्ब रूपैयाँ बराबरको विभिन्न १९ आयोजनाको शेयर जनतालाई दिने सार्वजनिक गरेको थियो ।

सोही आधारमा कम्पनीको जारी पूँजी दुई अर्ब ४७ करोड रुपैयाँको १५ प्रतिशत अर्थात ३७ करोड पाँच लाख रुपैयाँ बराबरको १०० रुपैयाँअङ्कित दरको ३७ लाख पाँच हजार साधारण शेयरमध्ये ३ प्रतिशत कम्पनीका कर्मचारीका लागि छुट्याई बाँकी ३५ लाख ९३ हजार कित्ता शेयर सर्वसाधारणका लागि निष्काशन गरेको कम्पनीले जनाएको छ ।

‘छिटोमा चैत १२ र ढिलोमा वैशाख ६ गतेसम्म आवेदन दिन पाउने व्यवस्था मिलाउन लागिएको छ,’ आयोजना प्रमुख आनन्द ढुङ्गेलले भन्छन्, ‘एक व्यक्तिले बढीमा एक हजार कित्तासम्म आवेदन दिन पाउने शेयरको मूल्य १०० रुपैयाँ अङ्कितमा त्यसको १० प्रतिशत हुन आउने १० रुपैयाँ मात्र तोकिएको छ ।’

गत वर्षको फागुनदेखि निर्माण थालिएको उक्त अयोजना २०७८ फागुन १७ भित्र सम्पन्न गर्ने लक्ष्य छ । आयोजना निर्माणमा आठ अर्ब २२ करोड ७४ लाख ४१ हजार रुपैयाँ (निर्माण अवधिको ब्याज समेत) लाग्ने छ ।

जसमा आयोजनाको प्रवर्धक नेपाल विद्युत् प्राधिकरण र नेपाल दूरसञ्चार कम्पनी लिमिटेडको समान ३०–३० प्रतिशत, प्रभावित जिल्ला (नुवाकोट र रसुवा) का स्थानीय तह पाँच प्रतिशत, प्रभावित जिल्लाका स्थानीय बासिन्दा १० प्रतिशत, विद्युत् प्राधिकरण र दूरसञ्चार कम्पनीका कर्मचारीका लागि शेयरधनी सम्झौता भएको बखत २०६८ वैशाख २९ गतेदेखि शेयर निष्काशन गरेको बखतसम्म कार्यरत स्थायी कर्मचारीलाई संस्थाको कर्मचारी संख्याका आधारमा समानुपातिक रुपमा वितरण हुने गरी पाँच प्रतिशत, जलविद्युत् आयोजनामा लगानी गर्ने उद्देश्यले प्रभावित जिल्ला .(नुवाकोट र रसुवा) का बासिन्दाले स्थापना गरेका कम्पनीको लागि पाँच प्रतिशत एवं आमसर्वसाधारणका लागि १५ प्रतिशत (सो को तीन प्रतिशत त्रिशूली जलविद्युत् कम्पनी लिमिटेडका कर्मचारीका लागि संरक्षित) शेयर सुनिश्चित गरिएको छ ।

२०७२ जेठ २४ मा विद्युत् उत्पादन अनुमतिपत्र प्राप्त गरेको उक्त आयोजनाले २०७४ भदौ ६ मा विद्युत खरिदबिक्री सम्झौता (पिपिए) र २०७५ भदौ ४ मा ऋण सम्झौता (सिएफए) गरेको थियो । आयोजनाले हालसम्म साइट आवास, कार्यालय भवन, जग्गा अधिग्रहण, टेस्ट अडिट टनेल, पहुँच मार्गसम्मको अधिन, वन क्षेत्रको प्रयोग र रुख कटानलगायतका कार्य सम्पन्न गरिसकेको छ ।

उत्पादित विद्युत् केन्द्रीय प्रसारण लाइनसम्म पुर्‍याउन उत्पादन गृहदेखि थ्री ‘बी’ हबसम्म जडानका लागि लैजान आवश्यक पर्ने तीन किमी दूरीको १३२ केभी प्रसारण लाइन निर्माणकार्य हाल जारी रहेको छ ।

समग्रमा आयोजनाको भौतिक प्रगति २९ प्रतिशत र वित्तीय प्रगति १२ प्रतिशत छ । आयोजना निर्माणको जिम्मेवारी चिनियाँ कम्पनी सिचुवान एन्हे हाइड्रोलिक तथा हाइड्रोइलेक्ट्रिक इञ्जिनियरिङ कम्पनीमार्फत भइरहेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७