‘मैले देखेको दोस्रो विश्वयुद्ध’

दोस्रो विश्वयुद्ध लडेका योद्धा खोज्ने हो भने भेटिएलान् कि नाइँ ? खोजी गर्दै लैजाने हो भने भेटिँदा रहेछन् । गोर्खा सैनिक आवाजले दोस्रो विश्वयुद्धका दुई जीवित योद्धा फेलापारेको छ । उनीहरू हुन्– रुद्रबहादुर दुमी राई र लालबहादुर लोहरूङ राई । सुङ्देल, खोटाङ स्थायी घर भई झापाको तोपगाछी झरेका रुद्रबहादुर १०४ वर्ष पुगिसकेका छन् भने संखुवासभानिवासी लालबहादुरले केही समयअघि आफ्ना घरपरिवारका सदस्य, इष्टमित्र, छरछिमेकीबीच नाचगान गरेर एक सयौं जन्मोत्सव मनाए ।

रुद्रबहादुर पल्टनमा रहँदा जापान र पाकिस्तानबीच घमासान युद्ध भएको थियो । उनले सम्झे, ‘जापानसँग भएको लडाइँ दोस्रो विश्वयुद्ध रहेछ, मैले त धेरै पछि मात्र थाहा पाएँ ।’ पल्टनमै रहँदा पनि उनले दोस्रो विश्वयुद्ध भएको कसरी थाहा पाएनन् त ? बुझ्दै जाँदा थाहा भयो– उनी गोरा सापको प्यारो थिए । उनलाई युद्धमा जान साह्रै रहर थियो । तर, रहर–रहरमै सीमिति रह्यो । युद्धमा जाने रहर व्यक्त गर्दा गोरा सापले उनलाई झपारेको सम्झँदै भने, ‘मर्नका लागि युद्धमा जाने ?’ १३ वर्ष पल्टनमा रहँदा उनी सधैँ ‘अफिसर’को कार्यालयीय काममा मात्रै सीमित रहे । युद्धमा जान नपरे पनि उनले गोर्खाली मरेको थाहा पाउँथे । युद्धमा मर्ने गोर्खालीलाई जंगलमै पुरेकोसम्म थाहा पाएका उनले गोरा सेना मरेकोचाहिँ कहिल्यै सुनेनन् ।

उनी तात्कालिक इस्ट इन्डिया कम्पनीअन्तर्गत बेलायती गोर्खा सेनामा दुईपटक भर्ती भए । ३÷११ गोर्खा राइफल उनको आर्मी नम्बर ८०४६७ हो । दुईपटक भर्ती हुनुको कारण खुलाउँदै उनले प्रस्ट्याए, ‘नायकसम्म भए पनि पेन्सन नपकाई घर फर्कें । पहिलोपटक भर्ती हुँदा ६ वर्ष र दोस्रोपटक सात वर्ष सेवा गरी दुवैपटक राजीनामा दिएर नेपाल फर्कें ।’

दोस्रोपटक समेत राजीनामा दिएर घर फर्कंदा उनको हात एक सय ५० भारतीय रुपैयाँ हात परेको थियो । अहिले पनि उनलाई बेलायती गोर्खा वेल्फेयरले केही आर्थिक सहयोग र स्वास्थ्य खर्च दिएर गुन लगाएको छ । त्यसैमा उनी खुसी छन् ।  लालबहादुर भने दोस्रो विश्वयुद्ध लडेका जीवित साक्षी हुन् । उनले इस्ट इन्डिया कम्पनीको तर्फबाट जापानविरुद्ध बर्मामा दोस्रो विश्वयुद्ध लडेका थिए । युद्ध लड्दै जाँदा उनी बर्माको पेगुमा जापानी सेनाद्वारा समातिए । यो सन् १९४२ को कुरा हो । जापानी सेनाले उनलाई युद्धबन्दी बनायो । उनले भने, ‘चार महिनासम्म युद्धबन्दी बनेर बस्दा कम्ती न्यास्रो लागेन । तर, चार महिनापछि जापानी सेनालाई झुक्याएर भागेँ ।’

फस्र्ट टेन जीआरका लालबहादुरलाई सन् १९३९ मा काबुलमा भएको गुरिल्ला युद्ध नियन्त्रण गर्न पठाइएको थियो । पल्टनमा इचिरो भनेर चिनिने उनी दोस्रो विश्वयुद्ध चर्केको बेला आपूmसम्बद्ध प्लाटुनको गनवान् भएर बर्माको रंगुन, पेगु र पूmलबारीमा लडे । लालबहादुर कसरी युद्धबन्दी बने ? इतिहास भइसकेको घटना सुनाउँदै उनले भने, ‘बर्मामा जापानी सेनासँग आमनेसामने भइयो । फाइरिङ खोलियो । हाम्रा सेनासँग रहेको हतियारको गोली सकियो । के गर्ने भनेर उपाय सोच्दासोच्दै जापानी सेनाले मलाई समातिहाले । तर, बजियाहरूले कहिल्यै दुव्र्यवहारचाहिँ गरेनन् ।’

जापानी सेना जता–जता जान्थे, उनलाई पनि त्यतै–त्यतै लगिन्थ्यो । जापानी सेनाले उनलाई बारम्बार एउटै प्रश्न गर्थे– गोर्खाली भएर पनि तिमीहरू किन हामीसँग युद्ध लडेको ? त्यतिमात्रै होइन, उनलाई जापानी सेनाले आफ्नो पक्षमा युद्ध लड्नसमेत आग्रह गर्थे । तर, उनले त्यसो गर्न चाहेनन् । चार महिनासम्म जापानी सेनासँग जंगल–जंगल हिँडेका उनले एक दिन सुने– ब्रिटिस पक्षले जापानी युद्धबन्दी मारेर फाल्दै छ । त्यो अपुष्ट खबर सुनेपछि उनलाई भतभती पोल्न थाल्यो । तत्काल उपाय सुझाए– भाग्नुको विकल्प छैन । बर्माको जंगलबाट जापानी सेनालाई झुक्याएर भागेको सात दिनपछि उनी आफूसम्बद्ध पल्टनको सम्पर्कमा पुगे ।

उनी सन् १९४७ मा फस्र्ट टेन जीआरका हवल्दार मेजरको फुली भिर्ने भइसकेका थिए । इस्ट इन्डिया कम्पनी बेलायत फर्कने भएपछि उनी त्यता जाने मानेनन् । बुवाआमा बितिसकेकाले घर व्यवहार हेर्न नेपाल फर्के । सन् १९३४ मा दार्जिलिङको गुमपहाडबाट भर्ती लागेका उनले १२ वर्ष पल्टनमा बिताए । जापानले दोस्रो विश्वयुद्ध लड्दा युद्धबन्दी भएकालाई क्षतिपूर्ति दिँदा उनले पनि १० हजार पाउन्ड पाए । ‘६ महिनापछि लेप्टेन बनाइदिन्छाँै बेलायत जाउँ भनेका थिए,’ सय वर्षे हाँसो हाँस्दै गोरा सापले लोभ देखाएको सम्झँदै लालबहादुरले भने, ‘मैले मानिनँ ।’  यो त भयो रुद्रबहादुर राई र लालबहादुर राईले सुनाएको दोस्रो विश्वयुद्ध कथा । दोस्रो विश्वयुद्धका साक्षी राईद्वयको दिनचर्या कसरी बितेका होलान् ? गोरखा सैनिक आवाजलाई जान्न मन लाग्यो ।

१०४ वर्षमा हिँड्दै गरेका रुद्रबहादुर यो उमेरमा पनि हँसिला देखिन्छन् । उनी घरवरिपरि घुमफिर गर्छन् । घरमा आएका पाहुनापाछासँग खुलेर गफगाफ गर्न सक्ने उनी हात बाँधेर बस्न मन पराउँदैनन् । उनलाई केही न केही नगरी बस्न मन लाग्दैन । भने, ‘बाँसबाट बनाइने डोको, महला, खुँगी र फुर्लुङ बनाएर समय सदुपयोग गरिरहेको छु ।’ गत मंसिरमा आफू बसेको कुर्सीबाट लडेका उनी खुट्टा भाँचिएपछि ‘बेडरेस्ट’ मा छन् । तैपनि बैसाखीमार्फत हिँडडुल गर्छन् । श्रवणशक्ति तगडा भए पनि उनी आँखा त्यति देख्दैनन् ।

खाँदबारी नगरपालिका–४ लोकेपाङ संखुवासभानिवासी लालबहादुरचाहिँ हिजोआज के गर्दै होलान् ? हालै एक सयौँ जन्मोत्सव मनाएका उनी निरोगी छन् । गाउँका उकाली–ओह्राली गर्छन् । जिल्लाको लोकेपाङमादेखि खाँदबारी बजारसम्म चार किलोमिटर दूरी ठमठम हिँडेर ओहोर–दोहोर गर्छन् ।  ज्यानलाई तन्दरुस्त राख्ने लालबहादुर बिहान–बेलुका प्रातकालीन (मर्निङवाक) र सन्ध्याकालीन (इभिनिङवाक) नियमितजसो गर्छन् । बिहान भात, बेलुका रोटी र चिया खाने उनले दूध, घ्यु र मह नियमित खाने गर्छन् । संखुवासभावासी लालबहादुरलाई समाजसेवी भनेर पनि चिन्छन् । उनले पञ्चायतकालमा सक्रिय राजनीतिसमेत गरेका थिए ।

बेलायती सेनामा कार्यरत छोरा कृष्ण राई लालबहादुरको एक सयौँ जन्मोत्सव मनाउन श्रीमतीसहित संखुवासभा पुगे । जन्म दिने बाबु (दोस्रो विश्वयुद्धका जीवित साक्षी) प्रति गौरव गर्दै बेलायतबाट बुवाको जन्मोत्सव मनाउन कृष्णदम्पती जस्तै अरू विरलै नेपाल फर्केलान् ।
(निलिफा सुब्बा र नगेन्द्र राईको सहयोगमा ।)

यसमा तपाईको प्रतिक्रिया