मुख्यमन्त्रीमा अष्टलक्ष्मी शाक्य : योगदान, इतिहास, विचार र मनोविज्ञानको सम्मान

मुलुकको राजनीति यतिवेला प्रदेशमा मुख्यमन्त्री कसलाई बनाउने र को बन्ने भन्ने चर्चाको शिखरमा छ । मुलुक संयीयतामा गइसकेपछि सिंगो संरचना प्रादेशिक ढाँचामा गइसकेपछि मुलुकले सात वटा प्रदेश मुख्यमन्त्री बनाउँदै छ । त्यसमा पनि मुलुकभित्र समावेशी र समान सहभागिताका कुरालाई स्थान दिनुपर्ने हुन्छ । यो विगतका दिनदेखि अभ्यासमा आएको कुरो हो । यसलाई सबैले सम्मान र गर्वका साथ लिनुपर्छ ।

यतिवेला प्रदेशमा मुख्यमन्त्रीको चर्चा गरिरहँदा त्यहाँ पनि समावेशी, वरिष्ठता र लैंगिक सहभागिताको कुरा आउँछ । दलहरूले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनकै समयमा भोलिको सम्भावनालाई हेरेर पार्टीका तर्फबाट उम्मेदवार तय गरेका थिए । सातै वटा प्रदेशको नेतृत्व र दाबी हेर्दा प्रदेश–३ बाहेक कतै पनि महिलाले मुख्यमन्त्रीमा दाबी गरेको देखिँदैन । हामीले बनाएको संविधानको सर्वोच्चता र पार्टीभित्रको विशिष्ठतालाई हेर्ने हो भने प्रदेश–३ ले मात्र महिला मुख्यमन्त्री पाउने सम्भावना सुरुकै दिनदेखि बनेको हो । यसका केही आधारहरू पनि छन् । कुरो व्यक्तिको मात्र होइन हेर्ने दृष्टि र निभाउने भूमिकाको पनि हो । यसो भनिरहँदा व्यक्तिका पछि लागेको भन्ने हुनसक्छ । त्यो बिल्कुल होइन ।

रामकुमारी झाँक्री

प्रदेश–३ मा जो महिला नेताको चर्चा छ । उहाँभन्दा वरिष्ठ अरू कसैको दाबी छैन । प्रष्टसँग भन्नुपर्छ मुख्यमन्त्रीमा चर्चाको शिखरमा रहनुभएको नेकपा एमालेको उपाध्यक्ष अष्टलक्ष्मी शाक्य मुख्यमन्त्री बन्नुपर्ने केही आधार छन् । पहिलो आधार भनेकोः उहाँ पार्टीको उपाध्यक्ष मात्र होइन एमालेभित्रको वर्तमान सक्रिय राजनीतिको वरिष्ठ महिला नेतृ हो । पार्टीको उपाध्यक्ष र प्रदेशको पार्टी प्रमुखसमेत भएका कारण उहाँको दाबी र मागलाई हामी सबैले सम्मानका रूपमा लिनुपर्छ । त्यसमा हामी कसैले दाबी गर्ने वा भाँजो हाल्ने काम गर्नुहुँदैन । यो एमालेका लागि पनि खुसीको कुरो हो मुलुकमा पहिलो महिला राष्ट्रपति र मुख्यमन्त्री एमालेले बनाउने अवसर पायो भनेर ।

अर्को कुरा अष्टलक्ष्मी कमरेड प्रतिनिधिसभा सदस्यमा निर्वाचन लडन सक्नुहुन्थ्यो । तर, पार्टीले उहाँलाई प्रदेशसभामा निर्वाचन लडाउनुको कारण भनेकै मुख्यमन्त्रीको उम्मेदवार बनाउनका लागि हो भनेर सबैले त्यति बेलै बुझेको कुरा हो । अहिले आएर यसमा बहस गर्नुपर्ने आवश्यकता देखिँदैन । यसलाई बढी व्याख्या गर्नुपर्दैन । उहाँ प्रतिनिधिसभामा निर्वाचन लड्दा पनि जित्ने आधार थियो । जुन क्षेत्र उहाँले छोड्नुभयो त्यहाँ पार्टीले जितेको पनि छ । मुख्यमन्त्री बनाउनका लागि नै भनेर पार्टीको उपाध्यक्षलाई प्रदेशमा निर्वाचन लडाएको हो भन्ने सबैले उत्तिबेलै बुझेको कुरो हो । यदि त्यसो नभएको भए उहाँलाई मुख्यमन्त्रीका रूपमा चर्चा भइरहँदा पार्टीले केही भन्थ्यो होला ?

जहाँसम्म महिलाको कुरा छ अन्य प्रदेशमा त्यो सम्भावना भएन । कहीँ दाबी गरेको पनि सुनिएन । उहाँ महिला, पार्टी प्रदेश प्रमुख, प्रदेश–३ भनेको नेवारहरूको बाहुल्यता भएको ठाउँ उहाँ त्यहि समूदायको पनि हो । त्यसका साथै पार्टीको वरिष्ठ नेता भएका कारण पनि सबै कारणले उहाँ मुख्यमन्त्री बन्ने सम्भावा भएको मात्र होइन एक हिसाबले उहाँ उक्त पदका लागि अंगीकृत जस्तै हो । यो सबैले बुझेको कुरा हो ।

पार्टीभित्र सम्भावना भएको नेतृत्वलाई स्वीकार नगरेर तिरस्कार गरेर जान थाल्यौँ भने बृहत् वामपन्थी एकता कसरी होला ? सानो सोचाइबाट हामीले एकीकृत कम्युनिस्ट पार्टी कसरी बनाउँला ? यो विचार, व्यवस्थापन, र हाम्रो मनोविज्ञानसँग जोडिएको प्रश्न हो ।

तर, अहिले आएर कताकता उहाँ मुख्यमन्त्री नहुने भन्ने चर्चा पनि चलाइएको छ । प्रदेश–३ को संसदीय दलको नेता निर्वाचनबाट छान्ने जस्ता नाटकीय कुराहरू बाहिर आएका छन् । यो सान्दर्भिक छैन । को मुख्यमन्त्री बन्ने भन्दा पनि यहाँ महिलाको सम्भावना रहेन भने त्यो पार्टीको लागि पनि राम्रो संकेत रहँदैन । विगतलाई फर्केर हेर्ने हो भने एमालेभित्र ०७० सालमा बाहेक सधैँ संसदीय अभ्यासमा पार्टी प्रमुखलाई नै संसदीय दलको नेता बनाउँदै आएको इतिहास छ । ०७० सालमा मात्र झलनाथ खनाल पार्टी अध्यक्ष भएका बेलामा पार्टीभित्र संसदीय दलको नेता छनोटमा निर्वाचन भएको थियो । निर्वाचनमार्फत् पार्टी अध्यक्षलाई दलको नेताबाट हराइएको थियो ।

०४८ सालदेखि यताको संसदीय अनुभवमा त्यो समयमा मात्र संसदीय दलको नेता छान्न निर्वाचन भएन । अहिले पनि पार्टी अध्यक्ष कमरेड केपी ओली नै दलको नेता र प्रधानमन्त्री बन्नुपर्छ भन्ने पार्टीभित्र एउटै स्वर छ । यसमा कसैले कतै अन्य धारणा वा आकांक्षा राखेको छैन । यो कुरा प्रदेश–३ मा पनि खण्डित हुनसक्छ । यसले पनि प्रष्ट पार्छ त्यो स्थानको पार्टी प्रमुख त्यहाँको संसदीय दलको नेता बन्छ भनेर । अर्को कुरा जहाँजहाँ पार्टीको प्रदेश प्रमुख छन् र उनीहरू प्रदेशमा निर्वाचन लडेका छन् उनीहरूलाई मुख्यमन्त्री बनाउनैका लागि पठाएको हो भन्ने पार्टीका सबै तहका नेता कार्यक्रर्ताले बुझेको कुरा हो । त्यही बुझाइ र सहमतिका आधारमा प्रदेश–५ को संसदीय दलको नेता शंकर पोखरेल बन्नुभएको हो । जसरी उहाँ दलका सर्वसम्मत नेता बन्न सफल हुनुभयो त्यसै गरी अन्य प्रदेशमा पनि सर्मसम्मत गर्ने प्रयास भइरहेको छ ।

आफ्नो पार्टीबाट महिला मुख्यमन्त्री बनाउने सम्भावना भएको वेलामा कसैले पनि कतैबाट भाँजो हाल्नु हुँदैन । त्यसैगरी हामी ठूलो कम्युनिस्ट पार्टीका बीचमा वाम गठबन्धन गर्दै छौँ । मुलुक कम्युनिस्टहरूको नेतृत्वमा जाँदै छ ।

यतिवेला सरोकार महिला, जनजाति र पार्टीको वरिष्ठ नेता भएका कारण प्रदेश–३ मा बढी सरोकार रहेको हो । अन्य प्रदेशमा महिलाले दाबा गरेको अवस्था पनि छैन र सम्भावना पनि छैन । संविधानले समावेशीयताको कुरा गरेको छ । तर, फलानो ठाउँमा फलानो हुनुपर्छ भनेर नतोकिए पनि जनआन्दोलन, सशस्त्र युद्ध सबैको (म्यान्डेड)माग भनेको राज्यका महत्वपूर्ण पदहरूमा महिलाहरूको पनि समावेशी र सम्मानजनक सहभागिता हुनुपर्छ भन्ने हो । लैंगिक दृष्टिले पनि सबैको प्रतिनिधित्व चाहिन्छ भनेर स्वीकार गरेको छ । त्यसैका आधारमा यतिवेला देशको उच्चपद राष्ट्रपति महिला हुनुहुन्छ, सभामुख महिला हुनुभयोे, उपराट्रपतिमा पनि समावेशी बनाइयो । अब पनि संविधानको त्यो सर्वोच्चता र विभिन्न कालखण्डमा भएका आन्दोलन र मागलाई सम्बोधन र सम्मान गर्नुपर्छ ।

प्रदेश–३ मा पनि आकांक्षी नभएको र त्यो हैसियतको महिला नेता नभएको भए जो कोही हुँदा पनि फरक पर्दैन थियो । हामी सात वटा प्रदेशमा मुख्यमन्त्री बनाउँदै छौं त्यसमा पनि एउटा पनि महिला नबनाउने कतिसम्म न्यायोचित होला रु प्रदेश–३ मा अष्टलक्ष्मी दाबेदार महिला मात्र होइन बलियो उम्मेदवार पनि हो । महिलाको नाममा सामान्य महिला नेता वा कार्यक्रर्ताको बहस भइरहेको छैन । जिम्मेवार, सम्भावना भएको र वरिष्ठ नेताको बारेमा कुरा गरिरहेको छौँ । यति धेरै सम्भावना भएको व्यक्तिलाई अनेक बहानामा नबनाउनु गलत हुन्छ ।

यो पार्टी पद्दती विपरीत पनि हुन्छ । यसले भोलिका दिनमा नजिर स्थापित गर्ने कुरामा पनि समस्या बनाउन सक्छ । त्यसैले को हुने भन्दा पनि के गर्दा पार्टी, समुदाय र लैंगिकताका सवालमा प्रष्ट बोल्न सकिन्छ कुरो त्यो हो । यदि प्रदेश–३ मा पनि महिला बनाउने कुुरामा सहमति गर्न सकेनौँ भने एमालेले महिलालाई कसरी हेर्छ प्रश्न उठ्न सक्छ । एमाले फराकिलो सोच भएको सबै वर्ग, समुदायलाई सम्मान गर्ने पार्टी हो । त्यसकारण पनि उहाँलाई मुख्यमन्त्री बनाउनुपर्छ ।

नेकपा एमालेजस्तो ठूलो र जिम्मेवार पार्टीले आफ्नो पार्टीबाट महिला मुख्यमन्त्री बनाउने सम्भावना भएको वेलामा कसैले पनि कतैबाट भाँजो हाल्नु हुँदैन । त्यसैगरी हामी ठूलो कम्युनिस्ट पार्टीका बीचमा वाम गठबन्धन गर्दै छौँ । मुलुक कम्युनिस्टहरूको नेतृत्वमा जाँदै छ । हामीले हरेक क्षेत्रलाई समावेशी र समृद्ध राष्ट्र बनाउने संकल्प गरेका छौँ । अस्तित्वमा रहेका सबै कम्युनिस्ट पार्टीलाई एक बनाएर लैजाने कुरा गरेका छौँ । यस्तो अवस्थामा पार्टीभित्र सम्भावना भएको नेतृत्वलाई स्वीकार नगरेर तिरस्कार गरेर जान थाल्यौँ भने बृहत् वामपन्थी एकता कसरी होला ? सानो सोचाइबाट हामीले एकीकृत कम्युनिस्ट पार्टी कसरी बनाउँला ? यो विचार, व्यवस्थापन, र हाम्रो मनोविज्ञानसँग जोडिएको प्रश्न हो ।

जब हामी धेरै कम्युनिस्ट पार्टीहरूलाई मिलाउँछौँ भनेर लागेका छौँ यस्तो अवस्थामा पार्टीभित्रको मनोविज्ञान मिलाउने कुरामा नेतृत्व र हामी जो जो जहाँ जिम्मेवार छौँ सबैले सोच्नुपर्छ । पार्टीभित्र पनि अनेक प्रकारका मनोविज्ञान छन् । ती सबैले आफ्ना लागि सोच्न थालियो भने हामी अग्रगामी रूपमा अघि बढन सक्दैनौँ । जहाँसम्म अष्टलक्ष्मी शाक्यको कुरा छ त्यो पनि लैंगिक, जातीय र वरिष्ठताको मात्र समावेशी करण होइन । पार्टीभित्रको विद्यमान मनोविज्ञान सम्बोधन पनि हो । त्यसो गर्न सकिएन भने भोलि पार्टी एकता कसरी गर्न सकिएला ? सबैले आफ्नो ठाउँमा जिम्मेवार भएर यसलाई अवसरको रूपमा लिनुपर्छ । कुरा समावेशीको गर्ने व्यवहारमा लोभलालच देखाउन थाल्यौँ भने त्यसको सार्थकता के होला सोच्नुपर्छ ।

-सौर्य दैनिकबाट

 

प्रतिक्रिया दिनुहोस्