‘समृद्ध हङकङको पहिलो हिस्सेदार गोर्खाली’

गैरआवासीय नेपाली संघ(एनआरएनए), हङकङका अध्यक्ष ललित आङबुहाङ सुब्बा हङकङ–नेपाल सामाजिक आन्दोलन अभियानका अगुवा हुन् । १९९७ सालदेखि हङकङमा बसेर सामाजिक अभियान र आन्दोलनसँगै एनआरएनए अभियानमा सक्रिय छन्, उनी । हङकङमा लामो समयदेखी छन् । तर, उनको बोली ठ्याक्कै ताप्लेजुङ्गे लिम्बुको जस्तै छ । स्वाभाव, शैली र व्यवाहार पनि कञ्चनजङघा जस्तै कञ्चन । लिम्बु बस्तीको सुगन्ध ठ्याक्कै आउँछ उनको बोलीमा । नेपाली माटोको सुगन्ध आउँछ उनको शैलीमा ।

उनी केही समय अघि नेपाल आएको बेला नयाँ पेजको कार्यालयमा उस्तै शैलीमा प्रस्तुत भए । नेपाली समाज हङकङको बारेमा सुनाए । पुतलीसडक न्युप्लाजा स्थित नयाँ पेजको कार्यालय आउदै गर्दा जावालाखेलमा मोटरसाइकलमा सामान्य दुर्घटनामा परेका ‘सुब्बा साब’ले उस्तै मिठो शैलीमा सुनाए, ‘हाऊ ! भाई एउटा केटोले झन्डै मारेनी हाऊ ।’ सुब्बा साबलाई मोटरसाइकलमा तरुनी बोकेर बाइक हाँकिरहेका एउटा ठिटोले पछाडीबाट ठोक्काएका रहेछन् ।

एनआरएनए हङकङका अध्यक्ष हुनुको नाताले हङकङमा बस्ने नेपालीहरुको बारेमा उनलाई असाध्यै चिन्ता छ । उनी हङकङका नेपालीहरुलाई कसरी संसारकै उत्कृष्ट नागरिक बनाउन सकिन्छ ? उनको चासो यतातिर छ । उनले उही लिम्बु बोलीमा सुनाए, ‘हाऊ भाई हङकङमा बस्ने नेपालीहरुको लागि केही न केही चहिँ गरौं भन्ने छ हौ ।’ उनी उतिधेरै रेडीमेट र वनवटी कुरा गर्दैनन् । ठुला सपनाको कुरा पनि भन्दैनन् । उतिधेरै महत्काङ्क्षी पनि छैनन् । तर, उनी यतिमा चहिँ ढुक्क रहेछन्, ‘आफ्नो कार्यकालमा उता हङकङवासी नेपालीहरुको लागि केही न केही नयाँ काम गरेरै छोड्ने यता नेपालीमा पनि एनआरएनए हङकङको नाम रहने गरी केही काम गर्ने ।’ नयाँ पेजले उनीसँग गरेको कुराकानीको अंश :

 

एनआरएनए हङकङले के गरीरहेको छ ?
– हामीले दुई वर्षसम्मको कार्य योजना तयार गर्दैछौँ । त्यो तीन महिने, छ महिने, एक वर्षे कार्ययोजना तयार हुन्छ । त्यो चाहिँ काम हाम्रो संयोजकलाई दिएका छौँ । मेरो सबैभन्दा पहिलो प्रयास नेपालीहरुलाई एकजुट बनाउनमा नै हुनेछ । हङकङमा धेरै संघ संस्थाहरु छन् । मैले प्रत्येक संघसंस्थाका पदाधिकारीसँग समन्वय गरेर नेपाली समाजलाई कसरी अगाडि बढाउन सकिन्छ ? कुरा गरीरहेको छु । उहाँहरुसँग समन्वय गरेर साझा योजना र ऐजेन्डा तय गर्नेछौं । त्यही अनुसार हामी अघि बढ्छौं ।

यसैगरी शिक्षा, स्वास्थ्य र पर्यटनको क्षेत्रमा पहल गर्दैछु । विभिन्न संघसंस्था र कार्यसमितिका साथीहरुलाई बोलाएर उहाँहरुलाई सामान्य कार्यक्रम राखेर कसरी जान सकिन्छ भनेर कुरा राखेको छु । शिक्षा, स्वास्थ्य र पर्यटन सम्बद्ध साथीहरुसँग बसेर हामी साझा कार्यक्रम तय गर्छौं । हामी अहिले यही काममा लागीरहेका छौं । हामी सबैसँग मिलेर नेपाल र नेपालीको समृद्धिको लागि काम गर्न चहान्छौं ।

हङकङमा यतिधेरै संघसंस्थाहरु छन्, यसअघिसम्म एनआरएनए हङकङले ती सबै संघसंस्थाहरुलाई नसमेटेको जस्तो देखिन्थ्यो, अब चाहिँ सबैलाई सबैलाई मिलाएर काम गर्नुहुन्छ ? के छ त्यस्तो उपया तपाईसँग ?
-मैले मेरो निर्वाचनको प्रचार-प्रसारमा पनि मुख्य यही नै एजेण्डा बनाएको थिएँ । एनआरएनएलाई सबैको साझा संस्था बनाएर लान्छु भनेको थिएँ । यस कारण पनि प्रत्येक संघसंस्थाहरुसँग बसेर कसरी यसलाई लान सकिन्छ ? साझा नेपालीहरुको एउटै संस्था कसरी बनाउन सकिन्छ भन्ने छलफल भइरहेको छ ।

हङकङ सरकारको आँकडा हेर्दा झण्डै एक सय पचास भन्दा धेरै नेपाली संघ संस्थाहरु छन् । यतिधेरै संस्थाहरु भएपछि हङकङ सरकार पनि अन्योलमा छ । कसलाई के दिने ? कसको माग कसरी सम्बोधन गर्ने ? यस्ता बिषयमा अन्योल छ । यस कारण हामी ती सबै संघ संस्थाहरुको साझा माग र ऐजेन्डा बनाउनेछौं । ताकी, हामी सबै संघ संस्थाहरुको आवजलाई उठाउन सकौं । सबैको आबश्यकता र मागहरुलाई हामीले उठाउन सक्यौं भने अबश्य पनि एनआरएनए सबैको छाता र संरक्षक संगठन बन्नेछ । त्यो हामी बनाएरै छाड्नेछौं ।

हङकङमा बस्ने नेपालीको खास समस्या चाहिँ के हो ?
– इतिहास हेर्दा हङकङ बचाउने गोर्खालीहरु हुन् । हङकङको हरेक संकटमा गोर्खालीको साथ नभएको भए आजको हङकङ सायदै हुन्न थियो । हङकङको समृद्धिको लागि हजारौ गोर्खालीहरुले योगदान गरेको छ । तर, अहिले ती गोर्खालीहरुको सम्मान भएको छैन । हामी अरु कुनै देशको नागरिक जस्तो यहाँ आएका होइनौं । हाम्रा पूर्खाहरुको योगदान र बलिदान छ यो देशमा । आजको भव्य हङकङको पहिलो हिस्सेदार गोर्खाली हुन् ।

त्यो सबैलाई प्रष्ट थाहा छ तर अहिले हङकङ सरकारले नेपालीहरु प्रतिको सोचाइ एकदमै भिन्न छ । राष्ट्रिय खेलाडी, राष्ट्रिय कलाकार, उद्योगी व्यवसायीलाई पनि भिसा दिँदैन । हङकङको जुन नेपालीप्रतिको बुझाइ छ यसलाई चिर्न आवश्यक छ । हङकङमा बस्ने नेपालीहरुको पनि धेरै समस्या छ ।

हङकङमा अरु धेरै देशका नागरिक छन् । तर, नेपालीहरु उनीहरु जसरी त्यहाँ पुगेका होइनन् । ब्रिटिस गोर्खा सैनिकहरुको कारण त्यहाँ पुगेका हुन् । हङकङमा पाकिस्तानी क्लब छ, इण्डियन क्लब छ लगायत सबै देशका नागरिकका क्लब छ । हङकङको लागि योगदान गरेका नेपाली वा गोर्खालीको क्लब छैन किन ? तपाईँ एनआरएनको अध्यक्ष हुँदा त्यो आशा गर्न सकिन्छ ?

– नेपालीहरुलाई पनि पहिला हङकङ सरकारले दिएको हो । तर, नेपालीहरुको एकअर्काको खिचातानीले गर्दाखेरि ‘डिजल्भ’ भएको हो । अबको दिनमा एकजुट हुने प्रयास भइरहेको छ । हाम्रो मागलाई हङकङ सरकार समक्ष लैजाने काम हो । कतिपयले क्लबको नाम देखाएर व्यापार गरिएको छ ।

उद्योगी, रेष्टुरेन्टहरुले नाम बिगार्ने काम गरिरहेको छ । अब जरुर नेपालीहरुलाई क्लब आबश्यक छ । नेपाली क्लबको लागि हामी ठोस काम गर्नेछौं ।

हङकङमा आज जति पनि नेपालीहरु पुगेका छन्, त्यो सबै ब्रिटिस गोर्खा सैनिकहरुको कारणले नै हो । तर, स्वयम् गोर्खा सैनिकहरुको इतिहास क्रमस हङकङमा मेटिदैछ, याेगदान भुल्न थालिएको छ, त्यो पूर्खाको गौरवमय इतिहास बचाउन के गर्न सकिएला ?

– हङकङमा हाम्रो पूर्खाहरुको गौरवमय इतिहास छ । त्यो कसैले मेटेर मेटिन्दैन । यो देश गोर्खालीहरुले बनाएको देश हो । कुनै पनि देशको समृद्धिको पहिलो शर्त शान्ति सुरक्षा नै हो । त्यो काम इतिहासदेखी अहिलेसम्म हामीले नै गरेका छौं । अहिले पनि सुरक्षामा विश्वास गोर्खालीहरुलाई नै गर्छन् । हङकङ निर्माणमा गोर्खालीहरुको हिस्सेदारी छ ।

सुरक्षाको काम हङकङका नागरिकहरुले पनि गर्न सकिरहेका छैनन् । अन्य विदेशीले पनि सकेका छैनन् । जीवनको पर्वाह नगरी नेपालीहरुले काम गरिरहेका छन् । हङकङ गभर्मेन्टले यसलाई विशेष ध्यान दिनु जरुरी छ । म एनआरएनको अध्यक्षको हैसियतले निश्चय पनि यसलाई अघि बढाएर लैजानेछु ।

हङकङमा अबको नेपाली पुस्ताको भविष्य कस्तो देख्नुहुन्छ ?
– मैले शिक्षा क्षेत्रमा एउटा टिम बनाउँदैछु । जो चाहिँ हङकङको शिक्षाप्रति धेरै जानकार छन् । म हङकङमा बस्ने नेपालीहरुको नयाँ पुस्ताको शिक्षादिक्षाको लागि बिशेष योजना बनाउँछु । अबको बच्चाहरुलाई यत्तिकै छाड्ने भने भविष्य अन्धकार छ । मुख्य कुरा ‘प्यारेन्ट्स’ हो । सबै ‘प्यारेन्ट्स’ काममा जान्छन् । कामबाट आएपछि थकित भएको अवस्थामा बच्चाको ख्याल हुँदैन बच्चाले कसरी पढ्दैछ, कसरी पढाउने ? कुनै गाइडिङ् छैन ।

स्कुलकै सम्बन्धमा कुन स्कुल कस्तो हो भन्ने पनि जानकारी छैन । यस्तो अवस्थामा हाम्रा बच्चाहरु अन्धकारमा ठेलिँदैछ । यद्यपि अहिले हङकङ ‘युनिभर्सिटी’मा पढ्ने भनेको एकदमै ‘ट्यालेन्ट’ मात्र हो । नेपाल र इण्डियाबाट पढेर आउनेहरु मात्र त्यो लेभलमा पुगेको छ । हङकङमै पढ्ने त्यो ‘लेभल’मा पुगेको कमै छ । त्यसैले अहिलेको बालबच्चालाई प्यारेन्ट्स गाइडको अाबश्यक छ । त्याे गर्न सकिए भोलीको हाम्रो पुस्ताको भबिष्य सुन्दर छ ।

हङकङमा अहिले मूलतः नेपालीहरु निर्माण र सुरक्षा क्षेत्रमा कार्यरत छन्, अबको दिनमा त्यहाँको उद्योग, व्यवसाय र अन्य क्षेत्रमा चाहिँ नेपालीहरु स्थापित हुने सम्भावना कत्तिको देख्नु हुन्छ ।

– मेरै उदाहरण दिन्छु, म पनि दुई पैसा कमाएपछि नेपाल फर्कन्छु भन्ने योजनामा थिएँ । म जस्तै प्रायः केही पैसा कमाउने अनि फर्कने योजनामा थिए । तर, धेरै अहिले त्यही बस्न थालेका छन् । हङकङको व्यापारिक केन्द्रमा ठुलो बार, रेष्टुरेन्ट नेपालीले सुरु गरेको छ । नेपाली दशदेखि पन्ध्र प्रतिशतले व्यवसाय सुरु गरेको छ । र अहिलेको नतिजामा पर्यटन क्षेत्र, एक्सपोर्ट इन्पोर्टको क्षेत्रमा नेपालीको राम्रै उपस्थिति छ ।

चीनको स्वाशासित क्षेत्र हङकङ संसारकै समृद्ध शहर, नेपाल पर्यटनको सम्भावना बोकेको मुलुक । हङकङका पर्यटनहरुलाई नेपाल लैजान के गर्न सकिएला ?

– म आफूपनि पर्यटन व्यवसायी हुँ । यही नाताले मैले जतिसक्दो आफूले विज्ञापन, प्रचारप्रसार गरिरहेको छु । नेपाली समुदायको ट्राभल एजेन्सी मध्येमा म पनि धेरै पर्यटक लैजानेमा पर्छु । भूकम्प आउन अघि मेरो ग्रुपहरु थियो । अहिले सबै रद्द भएको छ । भूकम्पपछि रोकिएका छन्, पयर्टकहरु ।

नेपाल पर्यटनमा सम्भावना भएको देश हो । तर, जति हुनुपर्ने भएको छैन । यसमा नेपाल सरकारको पनि धेरै कमजोरीहरु देख्छु । नेपालको पर्यटन बिकासको लागि ठोस योजना तयार पार्नुपर्छ । प्रचार प्रसार गर्नुपर्छ । पर्यटनको लागि उचित व्याबस्थापन गर्नुपर्छ । यदि त्यसो गर्न सकिए ठुलो सम्भावना छ ।

 

फरक प्रसङ्गमा जाऔं, नेपालको समृद्धिको लागि नेपालीहरुको कस्तो योगदानको आशा गर्न सकिन्छ ?

– म आफू पनि हङकङबाट जिम्मेबारी लिएर बसेको छु । हामीले पनि ‘ग्लोबल क्यापिटल इन्भेस्टमेन्ट’ भन्ने कम्पनी खडा गरेका छौँ । यसले अर्गानिक खेती सुरुवात गरेको छ । हामी हङकङबाट बीस जना छौँ । झण्डै चार करोडको लगानी गरेको छ ।

हङकङमा बस्नेहरुले विद्युतमा, सिमेन्ट कारखानामा लगानी गरीरहेका छन् । हङकङ नेपालीहरु नेपालमा लगानी गर्न तयार छन् । तर सुरक्षित लगानीको वाताबरण खोजिरहेको छ ।

हङकङमा दक्ष नेपाली जनशक्ति छ । नेपालको निर्माणमा उनीहरुलाई नेपालमा ल्याउने सकिए दक्ष जनशक्त्ती कतै खोज्नु पर्नेछैन । भर्खरै एनआरएनको ग्लोबल कन्भेक्सनमा उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष कुशकुमार जोशीसँग पनि मैले कुरा गरेको थिएँ । उहाँले पनि सकारात्मक कुरा गर्नुभयो । हङकङबाट उहाँले केही मान्छेको तारगेट पनि राख्नु भएको रहेछ । मैले उहाँलाई दक्ष जनशक्ति र लगानी भित्राउने वातावरण भयो भने मैले लगानी पनि भित्राउन तयारी छौँ भनेको छु ।

नेपाल सरकारले तपाईँहरुका लागि गरिदिनु पर्ने कुनै माग छ ?
-संविधानमा हाम्रो कुरा पूरा भएको छैन । केही मात्रामा मात्र पूरा भएको छ । एनआरएनए नेपालीको अधिकार कटौती भएको छ । यो देशलाई समृद्ध बनाउका लागि, दक्ष मान्छे भित्राउनका लागि अवसर खुल्ला गर्नुपर्छ । भोलि हाम्रो सन्तान वैज्ञानिक, डाक्टर, इञ्जिनीयर हुन सक्ला मेरो पूर्खाको देश भनेर उसले यहाँ आएर काम गर्न सक्दैनन् त ? यस्तो प्रावधानले हामीलाई निरुत्साहित बनाएको छ ।

 

 

यसमा तपाईको प्रतिक्रिया