‘ठेकेदार’ सांसदको अधिकांश काममा बदमासी, बनि नसक्दै बिग्रन्छन् आयोजना


९ चैत्र २०७४, शुक्रबार
hari narayan

काठमाडौं, ९ चैत : सांसद हरिनारायण रौनियारको कम्पनी पप्पु कन्सट्रक्सनले देशका विभिन्न ठूला आयोजनाहरुमा हात हालेको छ । सोर्सफोर्सका माध्यमले धेरैजसो ठेक्कापट्टाको काम आफ्नोमा पारेर ‘पपुलर’ पप्पु कन्ट्रक्सनको काम भने अधिकांश ‘अनपपुलर’ देखिएका छन् । hari narayan

रौतहटको लालबकैया नदीमा निर्माण भएको पुल एक वर्ष नपुग्दै भासियो । पुलको पूर्वपट्टिको पिल्लर भासिएपछि पप्पु कन्स्ट्रक्सन आफैंले मर्मत गरेर सञ्चालनमा ल्यायो । तर त्यसको केही समयमा नै पश्चिमपट्टीको पिलर भासियो । पुल निर्माणका क्रममा गुणस्तरहीन सामग्री प्रयोग गरेको ठहर सडक विभागको अनुगमनले देखायो । यस्तै महेन्द्र राजमार्ग र बर्दियाको ग्रामीण क्षेत्र जोड्ने जब्दिघाट पुल निर्माण सम्पन्न हुन नपाउँदै भाँच्चियो। गएको भदौमा बबई नदीमा आएको बाढीका कारण पुलको पिलर भासिएपछि पुल भाँचिएको थियो । पुल निर्माण गर्दा पानीमा बनाइने फाउण्डेसन कमजोर भएकाले पनि पुल निर्माण कमजोर भएको सडक विभागको प्रारम्भिक अध्ययनले देखायो ।

यसको भुक्तानी रोकिएपछि पप्पु कन्सट्रक्सनले सडक विभागविरुद्ध सर्वोच्च अदालतमा मुद्दा नै दायर गरेको छ । परामर्शदाताको सुझावअनुसार पुलन नबनाएको र कमजोर कंक्रिट तथा पिल्लर प्रयोग गरेका कारण नतिजा कमजोर देखिएको राष्ट्रिय सतर्कता केन्द्रले जनाएकव छ । भदौमा भाँच्चिएपछि पुल अलपत्र अवस्थामा छ। यी दुई प्रतिनिधि उदाहरणमात्रै हुन् । पर्सा क्षेत्र नं ३ बाट प्रतिनिधि सभामा निर्वाचित हरि नारायणप्रसयाद रौनियारको पप्पु कन्सट्रक्सनले निर्माण गरेका धेरै आयोजना यस्तै समस्यामा छन् । पप्पु कन्स्ट्रक्सनले निर्माण सम्पन्न गरेका पुलहरुमा यस्तै समस्या देखिएका छन् । निर्माणाधीन पुलको काम पनि समयमा हुन सकेको छैन ।

पप्पु कन्स्ट्रक्सनले काठमाडौंको तीनकुनेमा बाग्मती नदीमाथि आर्क ब्रिज निर्माणको ठेक्का पनि पाएको छ । यो वर्ष पूरा हुने भनिएको आयोजनाको फाउण्डेसन निर्माणको काम भइरहेको छ । ठेकेदारले समयमै काम नगरेका कारण आयोजनामा ढिलाई भइरहेको विभागले जनाएको छ । यस्तै टेकुमा बन्न लागेको मोटरेबल पुल तीन वर्षअघि नै निर्माण सक्नुपर्ने भए पनि कम्पनीले बल्ल निर्माण थालेको छ । एसियाली विकास बैंकको सफ्ट लोनमा बन्न लागेको पुलको काम समयमा नभएपछि दाताले ऋण रोक्ने चेतावनी दिएपछि बल्ला काम अघि बढेको छ ।

कम्पनीले अहिले एकल तथा अन्य कम्पनीसँग मिलेर ४० वटाभन्दा धेरै पुलको ठेक्का लिएको छ । पप्पु कन्सट्रक्सनले एक्लै निर्माण गर्न लागेको पुलको लम्बाई ५ हजार ७८० मिटर छ । तर अधिकांश पुलको निर्माण सम्पन्न हुने मिति नजिकिँदै जाँदा पनि काम भने शुरु समेत भएको छैन । भएकाको पनि राम्रो काम नभएको सडक विभागले जनाएको छ । ’हाम्रो मूल्याङ्कनमा सबैभन्दा कमजोर काम गर्ने ठेकेदार कम्पनीमध्येको एउटा यो हो,’ विभागका ती अधिकारीले भने, ‘पप्पु कन्स्ट्रक्सनले बनाएका कुनै आयोजना छैन जसमा समस्या नभएको होस् ।’

सडक विभागको पुल महाशाखाका एक अधिकारीका अनुसार अनुगमन नभएका बेला र राति तथा बिदाको दिन यो कम्पनीले निर्माणको काम गर्छ । जसका कारण अनुगमनमा जाने कर्मचारीलाई पनि समस्या हुने गरेको ती अधिकारीले बताए । सडक विभागले कमसल काम गरेको भन्दै कालोसूचीमा राख्न पप्पु कन्सट्रक्सनलाई स्पष्टिकरण पनि सोधेको थियो । तर विभागबाट पत्र प्राप्त भएपछि पप्पुले सर्वोच्च अदालतमा विभागविरुद्ध मुद्दा दायर गर्‍यो । सर्वोच्च अदालतले पप्पु कन्सट्रक्सनलाई तत्काल कालोसूची नराख्न अन्तरिम आदेश दिएपछि सडक विभागको प्रयास पनि बीचमै असफल हुन पुगेको थियो । कम्पनीले देशका विभिन्न सडक खण्डमा रहेका पुल तथा कान्ति लोकपथ, मध्यपहाडी लोकमार्ग, धरान–चतरा–हेटौंडा सडकका केहि पुलहरुको पनि ठेक्का लिएको छ । देशैभरिका पुलहरुको निर्माण कार्य सन्तोषजनक नरहेको विभागको भनाई छ । ठेक्का मात्रै लिने र गुणस्तरीय काम गर्न नसक्ने ठेकेदार कम्पनीलाई सडक विभागले कार्बाही गर्न सकेको छैन ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७