घुस प्रकरणमा अख्तियारद्धारा बालाजुका डिएसपी पक्राउ
काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले महानगरीय प्रहरी वृत्त बालाजुका प्रमुख डीएसपी नवीनकृष्ण भण्डारी पक्राउ गरेको छ । पाँच लाख घुस प्रकरणमा सोधपुछका लागि उनलाई अख्तियारले पक्राउ गरेको हो ।
यही असोज १० गते प्रहरी वृत्त बालाजुमा कार्यरत प्रहरी सहायक निरीक्षक चन्द्रसिंह भाट र बालसुधार गृह भक्तपुरमा कार्यरत प्रहरी जवान पुष्कर शाह तथा आफूलाई प्रहरी भन्ने विनोद थापालाई पाँच लाख घुस सहित पक्राउ गरेको थियो । पक्राउ परेका भाटले अख्तिष्यारसँगको बयानमा डिएसपी भण्डारीको पनि संलग्नता रहेको बताएपछि उनलाई पक्राउ गरेको अख्तियार स्रोतले जनाएको छ ।
डिएसपी भण्डारीलाई विनापुर्जी पक्राउ गरेको र केही बेरमै पक्राउ पुर्जी थमाउने तयारी गरिरहेको पनि अख्तियार स्रोतले जनाएको छ। भण्डारीलाई अहिले अख्तियार अनुसन्धान आयोगको कार्यालयमा राखिएको छ ।