विश्वमै पहिलो पटक लिङ्ग र अण्डकोष प्रत्यारोपण, घाइते सैनिकले पाए नयाँ जीवन


११ बैशाख २०७५, मंगलवार

काठमाडौं, ११ बैसाख । अमेरिकामा डाक्टरहरुको एक समूहले विश्वमा पहिलो पटक लिङ्ग र अण्डकोष रहने थैलीको सम्पूर्ण प्रत्यारोपणमा सफलता हासिल गरेका छन् ।

अमेरिकाको बाल्टिमोरस्थित जोन हप्किन्स विश्वविद्यालयका शल्यचिकित्सकहरुले अफगानिस्तानमा बम हमलामा परेर घाइते भएका एक सेनामा यो शल्यक्रिया गरेका हुन् । उनीहरुले एक मृत दाताबाट लिइएको लिङ्ग, अण्डकोष रहने थैला र पेटको आशिंक भाग प्रयोग गरेका हुन् । डाक्टरहरुले उक्त सैनिकले केही समयपछि आफ्नो यौन क्षमता हासिल गर्न सक्ने बताए जुन पहिले लिङ्ग पुनर्निर्माणबाट असम्भव हुन्थ्यो । यो शल्यक्रिया २६ मार्चमा ११ सर्जनहरुले १४ घण्टा लगाएर गरेका थिए । कुनै शरीरको सम्पूर्ण तन्तु नै प्रत्यारोपण गरिएको यो पहिलो घटना हो ।

डाक्टरहरुले नैतिकता कारण दाताको अण्डकोष भने प्रत्यारोपण नगरिएको बताए । ‘अङ्गभङ्ग र त्यसले निम्त्याउने अपाङ्गता प्रस्ट देखिन्छ तर युद्धका केही चोटपटकहरु लुकेका हुन्छन् र तिनको असरहरु सर्वस्वीकृत पनि हुँदैन’, जोन हप्किन विश्वविद्यालयका प्लाष्टिक सर्जरीका प्रमुख एन्ड्यु लीले सोमबार भने । डाक्टर लिले योनाङ्गको घाउ ‘युद्धको अव्यक्त चोट’ भने । ‘सन् २०१४ मा जोन हप्किन्स विश्वविद्यालयले प्रायोजन गरेको ‘चोटपछि अत्मियता’ नामक एक गोष्ठीमा युद्धमा घाइते सेनाहरुको दम्पती, परिवार र सेवाप्रदायकहरुले तिनको यौनाङ्गमा पर्ने चोटले तिनको परिचय, आत्मसम्मान र आत्मिय सम्बन्धमा पर्ने गम्भिर असरबारे हामीलाई बताएका थिए’, उनले भने ।

आफ्नो नाम बताउन नचाहेको प्रत्यारोपण गरेका सैनिकले विश्वविद्यालयले जारी गरेको एक वक्तव्यमा भनेका छन्, ‘जब म व्युझिएँ, आफू सामान्य भएको पाएँ ,अन्ततः ठीक भएको जस्तो लाग्दैछ ।’ उनलाई अफगानिस्तानमा एक बारुदी सुरुङ्गमा टेकेपछि चोट लागेको थियो । चिकित्सकीय भाषामा यो शल्यक्रियालाई ‘भ्यास्कुलराइज्ड कम्पोजिट एल्लोट्रान्सप्लान्टेसन’ भनिन्छ । यस प्रक्रियामा छाला, हड्डी, माँसपेसी, टेन्डन(हड्डी जोड्ने पदार्थ) र रगतका नसाहरु सबै प्रत्यारोपण गरिन्छ ।

यो शल्यक्रियाको अनुसन्धान गरेको जोन हप्किन यौनाङ्ग प्रत्यारोपण कार्यक्रम शुरुमा पोष्ट–ट्रम्याटिक (अत्यन्त गम्भिर घटना देखेका मानिसमा पर्ने मानसिक असर) बारेमा केन्द्रित थियो । विशेष सेनाहरुमा यो समस्याका कारणले परम्परागत अवस्थामा भन्दा घाउ निको हुन गाह«ो हुन्छ । शल्यक्रिया समूहमा सहभागी विज्ञहरुले शल्यक्रिया भएको सेना ६ देखि १२ महिनासम्म ठीक भइसक्ने भनेका छन् ।

योनाङ्ग र पिसाबसम्बन्धी प्रत्यारोपण कार्यक्रमका चिकित्सकीय निर्देशक डा. रिक रेडेटका अनुसार उपचार भएको सेनामा निक्कै सुधार आइसकेको छ र उनी यो हप्तामा अस्पतालबाट डिस्चार्ज हुनेछन् । यो प्रत्यारोपणले उनको पिसाब सम्बन्धी र यौन क्षमता पुन फर्काउनेछ र उनले सामान्य जीवन बिताउन सक्नेछ भन्ने आशा रहेको छ । डा.रेडिटले भने, ‘भावि दिनमा अन्य विरामीहरुमा पनि यस्तो प्रक्रिया प्रदान गर्ने हाम्रो लक्ष्य हो ।’ प्रत्यारोपण समूहले विश्वविद्यालयले यो कार्यक्रम अन्तर्गत ६० वटा यौनाङ्ग प्रत्यारोपण शल्यक्रियालाई स्वीकृती दिएको बतायो । विश्वमा पहिलो पटक लिङ्गको मात्र प्रत्यारोपण भने सन् २०१४ मा दक्षिण अफ्रिकामा भएको थियो । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७