सरकारको नीति तथा कार्यक्रम प्रधानमन्त्रीकै भाषण जस्तो : नेपाली कांग्रेस


७ जेष्ठ २०७५, सोमबार
Nepali Congress

काठमाठौं, ७ जेठ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारको नीति तथा कार्यक्रम प्रधानमन्त्री केपी शर्मा ओलीको भाषण जस्तै अविश्वनीय रहेको प्रतिक्रिया दिएको छ ।Nepali Congress

कांग्रेस नेता एवम् पूर्व अर्थमन्त्री समेत रहेका रामशरण महतले प्रधानमन्त्रीले १० बर्षमा मुलुक स्वर्ग हुन्छ भने जस्तै शैलीमा नीति तथा कार्यक्रम ल्याइएको आरोप लगाएका छन् । ‘नीति तथा कार्यक्रम एउटा डिरेक्सन हो । तर, यसले कार्यान्वयन गर्न सक्ने विश्वसनीय आधार देखाएको छैन’ महतले भने, ‘अनुशासन, निष्पक्षताको ग्यारेन्टी र काम गर्ने सँस्कृतिमा सुधार नल्याएसम्म नीति तथा कार्यक्रम अनुरुप विकास सम्भव देखिन्न ।’

उनले कर्मचारी प्रशासनमा गरिरहेको सरुवा आतंकले निष्पक्षताको ग्यारेन्टी दिन नसक्ने बताएका छन् । महतले भने, ‘सरकारको काम गर्ने तौरतरिका र अनुशासन हिनताका कारण कार्यान्वयनमा धेरै शंका छ’ महतले थपे, ‘कार्यान्वयनमै शंका छ ।

नीति तथा ठोस कार्यक्रम बजेटमा कसरी रुपान्तरण हुन्छ त्यसमा पनि भर पर्छ ।’ महतले नीति तथा कार्यक्रममा विभाग, मन्त्रालय र सामान्य कार्यालयले गर्ने कामलाई समेत समेटिएर लामो र भद्दा बनाएको बताए । ‘सरकारको नीति तथा कार्यक्रममा महत्वपूर्ण र नयाँपन देखिन सक्नुपर्छ, तर लामो र महत्वकांक्षी कार्यक्रम सार्वजनिक गरेको छ’ उनले भने, ‘एक बर्षको नीति तथा कार्यक्रम पञ्चबर्षीय योजना जस्तो बनेको छ ।’ सरकारले पाँच बर्षको समयअवधि तोकेर योजना ल्याएका कारण प्रमुख प्रतिपक्षले यो नीति तथा कार्यक्रमलाई पञ्चबर्षीय भनेको हो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७