सुन्दर तिलिचो ताल प्रदूषणले कुरुप बन्दै


१३ जेष्ठ २०७५, आईतवार
tilicho Lake

मनाङ, १३ जेठ : विश्वको सर्वाधिक उचाइमा रहेको तिलिचो ताल आन्तरिक तथा बाह्य पर्यटकको आकर्षणको हो । मनाङ जिल्लाको निस्याङ गाउँपालिका–९ मा रहेको यस ताल चार हजार ९१९ मिटर उचाइमा अवस्थित छ । सिजन होस् या अफ सिजन यस तालको अवलोकनका लागि आन्तरिक तथा बाह्य पर्यटकको घुइँचो लाग्ने गरेको छ । तर अब पर्यटकको चापसँगै ताल वरिपरि फोहरका डङ्गुरहरु देखिन थालेका छन् ।

tilicho Lake
तिलिचो ताल । तस्बिर गुगल

यस ताल जाने बाटोको छेउछाउमा पर्यटकले खाएका खानेकुराका खोलहरु, सिसाका बोतल, बिस्कुट, मिठाईका कागजले भरिन थालेको छ । मनाङको खांसारदेखि तिलिचो बेस क्याम्प आसपासमा पर्यटकले प्रयोग गरेर फालेका सामान जथाभावी छरपस्ट छरिएको देख्न सकिन्छ ।

त्यस्तै, बेसक्याम्पबाट ताल वरिपरि फोहरका डङ्गुरहरु छरपस्ट छरिएका छन् । विगत केही वर्षयता आन्तरिक पर्यटकको चाप बढेसँगै तिलिचो ताल र आसपासको क्षेत्रमा फोहर मात्र बढेको हो । अन्नपूर्ण संरक्षण क्षेत्र, पर्यटन व्यवसायी, होटल व्यवसासी र स्थानीय समुदायले फोहरमैला व्यवस्थापनका लागि ठाउँठाउँमा डस्टबिन राखेता पनि खासै प्रयोगमा भने आउन सकेको छैन ।

विदेशीले आफूले खाएका चीजबीजका खोल झोलामा बोकेर डस्टबिनमा फाल्ने गर्छन् तर आन्तरिक पर्यटकले भने जथाभावी फाल्ने गरेका छन् । यसरी पर्यटकले प्रयोग गरी जथाभावी फालेका फोहरले तिलिचो तालको वातावरण बिग्रीएको होटल व्यवसायीको गुनासो छ । जसले गर्दा ताल वरिपरिको वातावरण धेरै प्रदूषित भएको छ ।

समयमा नै सचेत नगराउने हो भने तालको अस्तित्व नै धरापमा पर्ने ट्रेकिङ गाइड रामु अधिकारीले बताए । समयमा नै सचेत नभए तिलिचो ताल प्रदूषणको चपेटामा पर्ने तयरीमा रहेको छ । यसमा सम्बन्धित निकायले ध्यान पुरायाउनु आवश्यक छ । तालको संरक्षण र ताल वरिपरिको वातावरणको संरक्षणमा सबै सचेत हुन जरुरी छ ।

– रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७