उपत्यकामा चार नयाँ शहर थपिने, यी हुन् नयाँ शहर थपिने ठाउँ


१२ असार २०७५, मंगलवार
kathmandu valley

काठमाडौं, १२ असार । काठमाडौंमा अब चार वटा व्यवस्थित शहर थपिने भएको छ । काठमाडौं उपत्यकाको चार कुनामा नयाँ शहर निर्माण गर्नका लागि विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयारीको काम धमाधम भइरहेको छ ।

kathmandu valley

चार वटा नयाँ शहरमध्ये तीन वटा नयाँ शहरको डिपिआर धमाधम निर्माण भइरहेको उपत्यका विकास प्राधिकरणका शहरी योजनाकार भागवत भट्ट खोखालीले जानकारी दिएका छन् । उनका अनुसार चौथो नयाँ शहरको पनि टेण्डर मूल्याङकन भइरहेको छ । एक साताभित्र टेण्डर प्रक्रिया सकेर फिल्डमै काम शुरु हुने प्राधिकरणले जनाएको छ ।

‘काठमाडौं इशान’ को डिपिआर बनाउनका लागि फिनल्याण्डको हेलेन एण्ड आर्किटेक जेभीले गरिरहेको छ । सर्टलिष्टमा परेका ५ वटा कम्पनीमध्ये फिनल्याण्डको हेलेन एण्ड आर्किटेक जेभी उत्कृष्ट ठहरिएको हो । कम्पनीले १८ महिनाभित्र डिपिआर तयार पार्ने छ। यो उपत्यकामा निर्माण गर्न लागिएको सबैभन्दा ठूलो क्षेत्रफलको नयाँ शहर हो । जुन १ लाख रोपनी क्षेत्रफलमा फैलने छ । पूर्वतर्फ भक्तपुरको नगरकोट जाने सडक, तेलकोट भन्ज्याङसम्म तथा पश्चिममा निर्माणाधीन अन्तर्राष्ट्रिय क्रिकेट मैदानबाट मुलपानीको गोठाटार हुँदै मनोहरा खोलाको पुलबाट भक्तपुर जानेबाटोसम्म फैलिने छ । त्यसैगरी उत्तरमा साँखु बजार तथा दक्षिणमा भक्तपुरको बाटोसम्म पुग्ने छ ।

‘काठमाडौं आग्नेय’ र ‘काठमाडौं नैऋत्य’ डिपिआर निर्माणको जिम्मा इमआरसीरएनइएसिटीरएडी जेभीले पाएको छ । यसले काम शुरु गरेर पहिलो चरणको रिपोर्ट समेत बुझाईसकेको उपत्यका विकास प्राधिकरणले जनाएको छ । काठमाडौं आग्नेय पूर्वमा अरनिको राजमार्गको सूर्यवनायक चोकदेखि मन्दिरसम्म त्यहाँबाट सूर्यविनायकको जङ्गललाई बाहिर पार्दै शहर निर्माण हुनेछ । पश्चिममा शहरेखोला, बालकोट विरुवासडक, पानी ट्याङकी, अमरनगर, ठिमी हुँदै अरनिको राजमार्गको सिमानालाई छुने छ। यो शहर उत्तरमा अरनिको राजमार्गको सिमानासम्म पुग्नेछ। दक्षिणमा भक्तपुर जिल्लाको सिलामगाल, रानीकोट, जङ्गल छेउ, अनन्त लिङगेश्वर, फेदी तर्खगाल, पात्लेश्वर, विरुवा हुँदै खहरेसम्म पुग्नेछ ।

काठमाडौं नैऋत्य ललितपुरलाई समेटेर निर्माण हुनेछ । पूर्वमा छ्यासिकोटदेखि साविकको संवु गाविसको सीमाना हुँदै फर्सिडोल बागमती नदिको झोलुङगे पुलसम्म पुग्नेछ। पश्चिममा बागमती नदिको सिमानासम्म तथा उत्तरमा सैवु गाविसको सिमाना छुनेछ। दक्षिणतर्फ भने बागमती नदिसम्म फैलने छ। यी दुवै शहरको क्षेत्रफल १०र१० हजार रोपनी हुनेछ भने १५ महिनामा दुवैको डिपिआर तयार हुनेछ ।
चौथो नयाँ शहर काठमाडौं उत्तरको टेण्डर मूल्याङकन भइरहेकाले एक साताभित्र टुङ्गो लाग्ने उपत्यका विकास प्राधिकरणले जनाएको छ ।

यो पनि १० हजार रोपनी क्षेत्रफलमा नै फैलनेछ। पुर्वमा सामाखुसी, टोखा रोड हुँदै बाइपास पुग्नेछ । पश्चिममा काभ्रेस्थली, बाइपास जाने मुख्य सडकसम्म जोडिने छ। उत्तरमा सपनातिर्थ हुँदै काभ्रेस्थलीतिर जानेछ। दक्षिणमा ग्रीनल्याण्ड चोकदेखि मनोरथ हुँदै महादेवखोला काभ्रेस्थलीको मुल सडकको पुलसम्म पुग्नेछ । उपत्यका विकास प्राधिकरणका अनुसार डिपिआर निर्माण सम्पन्न भएपछि कस्तो शहर बनाउने भनेर त्यसको खाकारप्रारुप तयार हुन्छ । सोही आधारमा शहर निर्माण कार्य अघि बढ्ने छ। प्राधिकरणले नयाँ निर्माण गरिने चार वटै शहरका लागि आवश्यक जग्गाको एकिकरण गरेर नयाँ निर्माण तथा जग्गाको कित्ताकाटमा रोक लगाइसकेको छ ।

डिपिआर तयार भएपछि मन्त्रीपरिषदमा पठाइने र त्यहाबाट स्विकृत भएपछि पुर्वाधारको काम अघि बढाउने प्राधिकरणका प्रवक्ता केशव न्यौपानेले जानकारी दिए । उनका अनुसार मन्त्रीपरिषदबाट स्विकृत भएको पाँच बर्षभित्र शहर निर्माण गरिसक्ने योजना रहेको छ । यसका लागि ६ खर्ब रुपैयाँ लाग्ने प्रारम्भिक अनुमान गरिएको छ । अहिले अव्यवस्थित शहरीकरणका कारण काठमाडौं अस्त–व्यस्त बनेको छ । यी नयाँ शहरमा बसोबास, बजार, बैंक वित्तीय संस्था, शैक्षिक संस्था, अस्पताल, कलकारखाना, सडक आदि सबै व्यवस्थित हिसावले बनाइने प्राधिकरणले जनाएको छ । नयाँ शहर वातावरणमैत्री हुने दाबी गरिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७