मरिच तस्करी लहरो तान्दा पहरो नै आउने

भन्सार प्रमुख पोखरेल र प्रहरीका एसपी तानिंदै


३० असार २०७५, शनिबार
Mrich copy

पर्सा, ३० असार । वीरगञ्ज नाकाबाट छाला निकासी भन्दै भारततर्फ मरीच लैजान खोजेको आरोपमा राजस्व अनुसन्धान विभागले वीरगञ्जका उद्योगी सञ्जय अग्रवाल र उत्तम अग्रवाललाई हिरासतमा लिए पनि भन्सारका प्रमुखदेखि संलग्न कर्मचारीलाई अहिलेसम्म कठघरामा उभ्याइएको छैन ।

Mrich copy
छाला निकासी भनेर प्रक्रिया नपु¥याई मरिच निकासी गरिएको प्रज्ञापनपत्र, बरामद मरिच र संजय अग्रवाल ।

ग्लोबल लेदर टे«डिङ इण्डष्ट्रिज प्रालिका सञ्चालक अग्रवालसित विभागले ३ करोड ७६ लाख ८० हजार रुपैयाँ घरौटी मागेको थियो । यो प्रकरणमा थप अनुसन्धान भइरहेको विभागले बताएको छ । गत जेठ २१ गते वीरगञ्जको मूल नाका पार भएर भारततर्फ प्रवेश गर्न लागेको भारतीय नम्बरको ट्रकमा १२ मेट्रिकटन मरीच बरामद भएको थियो ।

छाला निकासी गर्ने भन्दै कागजात बनाएर मरीच तस्करी गरेको पोल खुलेपछि यसको असुन्धानमा विभागले हात हालेको थियो । तर, भन्सारका कर्मचारीलाई अहिलेसम्म विभागमा उपस्थित गराइएको छैन । प्रक्रिया नपु¥याइएको प्रज्ञापनपत्रमा वीरगञ्ज भन्सारका अधिकृत उद्धव ढुङ्गानाको हस्ताक्षर छ । अग्रवाल मुख्य सञ्चालक रहेको ग्लोबल लेदरले भारतको कानपुरस्थित मेरिट एक्जिमलाई छाला पठाउने भनिएको ट्रकमा मरीच फेला परेको थियो । प्रज्ञापनमा उल्लेख भएको युपी ७८ बीटी ३८०४ नम्बरको ट्रकमा मरीच बरामद भएको थियो ।

झण्डै एक वर्षदेखि भन्सार र दुवै प्रहरीको संरक्षणमा वीरगञ्जबाट भारततर्फ ठूलो मात्रामा मरीच तस्करी भइरहेको खुलेपछि राजस्व अनुसन्धान विभागले छानबिन गरिरहेको छ । पर्साका प्रहरी प्रमुख एसपी रेवती ढकालले पक्राउ परेको मरीच पथलैयास्थित राजस्व अनुसन्धान इकाई कार्यालयम बुझाएसँगै सुरु भएको मरीच तस्करीको अनुसन्धान अहिले हरिहरभवनस्थित राजस्व अनुसन्धान विभागले गरिरहेको छ ।

अनुसन्धानका क्रममा वीरगञ्ज भन्सारमा कार्यरत ३ जना कर्मचारी तानिएका छन् भने भन्सारको सुरक्षार्थ र चोरी तस्करी नियन्त्रणका लागि सोही भन्सारमा रहेको सशस्त्र प्रहरीको राजस्व तथा भन्सार सुरक्षा गुल्मका ३ जना प्रहरी पनि छानबिनका क्रममा तानिएका छन् ।

संगठितरूपमा ठूलो मात्रामा तस्करी भएको खुल्दै गरेपछि विभागले नै यसको अनुसन्धान गरिरहेको छ । सोही क्रममा भन्सार र सशस्त्रका कर्मचारीहरू तानिएका हुन् । तानिएकाहरूको बयानसँगै भन्सार प्रमुख सेवन्तक पोखरेल पनि तानिने दावी राजस्व अनुसन्धान विभागका एक अधिकृतले गरे । साथै, प्रहरीका तर्फबाट यसअघिका एसपी गणेश रेग्मीसमेत छानविनका क्रममा तानिने ती अधिकृतको दावी छ । यसबाहेक सशस्त्रको राजस्व तथा भन्सार सुरक्षा गुल्मका डिएसपी रुमबहादुर कार्की पनि छानविनका क्रममा तानिने दावी उनको छ । साथै नेपाल प्रहरीका २ नम्बर प्रदेशका तत्कालीन प्रमुख एआइजी विजयलाल कायस्थ (हाल अवकाश), नारायणी अञ्चलका एसएसपी सूर्य उपाध्याय (हाल सरुवा) का अलावा सशस्त्र प्रहरी बल मध्यमाञ्चल पथलैया प्रमुख डिआइजी कविन्द्रमान श्रेष्ठलाई समेत आवश्यक अवस्थामा छानविन र सोधपुछका लागि बोलाउन सक्ने दावी विभागका ती अधिकृतको रहेको छ ।

राष्ट्रिय ढुकुटी रित्तो भएको अवस्थामा करोडौँ करोड राजस्व छली गरी भन्सार र दुवै प्रहरीको मिलिमतोमा संगठितरूपमा तस्करी भइरहेको अनुसन्धानका क्रममा देखिएपछि विभागले छानविनलाई फराकिलो दायरा बनाउँदै अनुसन्धान गरिरहेकोले उनीहरू अनुसन्धानको दायरामा पर्ने ती अधिकृतको दावी छ ।
अर्थमन्त्री युवराज खतिवडा स्वयम्ले विभागका महानिर्देशक र राजस्व सचिवलाई समेत यस विषयमा गम्भीर भएर अनुसन्धान गर्न निर्देशन दिएको अर्थस्रोत बताउँछ । विशेषगरी लामो समयदेखि जिप्रका पर्सामा टाइगर ग्रुपका नामले परिचालित असई तेजप्रताप सिंहले मरीच तस्करहरूसँग सेटिङ मिलाई तस्करी गराउने गरेको देखिएपछि निजलाई समेत छानविनका क्रममा बोलाउने भएको छ ।

एसपी रेवती ढकालले टाइगर ग्रुपबाट हटाई ग्रामीण चौकीमा खटाए पनि मुख्यालयले गरेको सरुवामा सिंहको ललितपुरस्थित चापागाउँ वृत्तमा दरबन्दी परेको छ । रमाना लिएपछि पनि २० दिनको बिदा जनाई असई सिंहले मरीच काण्डमा आफू र हाकिमहरू नफसून् भन्दै पक्राउ परेका व्यापारीका कारोवार हेर्ने मेनेजरहरूलाई भेट गरी नाम नपोल्न आग्रह गरेको समेत थाहा भएको छ । जिप्रका पर्साका एक प्रहरी अधिकृतका अनुसार असई तेजप्रताप सिंह २० दिनको छुट्टी लिई पूरा समय वीरगञ्जमा बसी मरीच तस्करीमा पक्राउ परेका तस्करका मेनेजरहरूलाई भेटी बारम्बार आफू र आफ्ना हाकिमहरूको नाम नपोल्न आग्रह गरी भर्खरैमात्र चापागाउँ पुगेका छन् ।

असई सिंहले वीरगञ्जमा टाइगर ग्रुपका नाममा आतंक नै मच्चाएका थिए रकम असुल्नका लागि । जुन एसपी गए पनि पैसा उठाउन यिनै सिंहलाई प्रयोग गर्ने गर्दथे भने सिंहले पनि आफ्ना लागि नउठाउने कुरै भएन । यसरी उठाएको रकमले केही महिनाअघिमात्रै उनले ठूलो जग्गासमेत खरिद गरेका छन् । मरीच तस्करी भइरहेको कुरा सार्वजनिक भएर पक्राउ परेपछि राजस्व अनुसन्धान विभागले वीरगञ्जका मरीच व्यापारीहरूको फर्म तथा गोदाममा छापा मारेको थियो । वीरगञ्ज उद्योग वाणिज्य संघका उपाध्याक्षसमेत रहेका अनिल पटवारी अग्रवालको रामटोलस्थित गोदाम र सञ्जय अग्रवालको ग्लोबल लेदर कम्पनीमा विभागको टोलीले छापामारी गरेर आवश्यक कागजपत्र लगेको थियो । राजस्व अनुसन्धान विभागका निर्देशक ध्रुव पोखरेल नेतृत्वको टोली छापामारीका लागि वीरगञ्ज गएको थियो ।

मसलाको रूपमा प्रयोग गरिने मरीच नेपालमा भन्दा भारतमा झण्डै दोब्बर मूल्यमा बिक्री हुने गरेको छ । त्यसैले भारततर्फ तस्करी हुने गरेको छ । २०७४ साउन १४ गतेदेखि हालसम्म प्रहरीले अवैध रूपमा भारततर्फ निकासी गर्दै गरेको १८ टन मरिच बरामद गरी राजस्व अनुसन्धान कार्यालय पथलैयामा बुझाएको छ । तर, यो पक्राउ मरीच लेनदेन नमिलेकै कारण प्रहरीले पक्राउ गरेको व्यापारीहरू नै बताउँछन् ।

पछिल्लो समय भने दुवै प्रहरीको संरक्षणमा मात्रै नभएर भन्सारकै मिलिमतोमा संगठितरूपमा तस्करी हुँदै आएको थियो । साढे ३३ किलो सुनकाण्डजस्तै अर्थमन्त्रालयले मरीच तस्करीलाई प्राथमिकता दिई अनुसन्धान गरेका खण्डमा भन्सार र दुवै प्रहरी संगठनका अधिकृत तथा अन्य कर्मचारीहरू छानविनको दायरामा पर्ने मात्रै होइन निलम्बनमा पर्ने र उनीहरूले कमाएको अकुत सम्पत्तिको समेत छानविन हुने निश्चित छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७