बढुवा भएको २ महिनासम्म भूमिसुधारका १२ उपसचिवको पदस्थापन भएन

कतिपय जिल्लामा हाकिम अभाव, घुस खाने कार्यालयमा जान चर्को दबाब


३२ असार २०७५, सोमबार
krshi copy

काठमाडौं, ३२ असार । कृषि, भूमिब्यवस्था तथा सहकारी मन्त्रालयले बढुवा भएका १२ प्रमुख नापी अधिकृतहरुलाई पदस्थापन नै गरेको छैन । नापी अधिकृतबाट प्रमुख नापी अधिकृतमा बढुवा भएको २ महिना भन्दा बढी समय भइसक्दा पनि उनीहरुको पदस्थापन गरिएको छैन ।

krshi copy

मन्त्रालयले उनीहरुलाई रिक्त पद हुँदाहुँदै पदस्थापन गरेको छैन । जुन कार्यालयमा दरबन्दी रिक्त देखाएर उनीहरु प्रमुख नापी अधिकृतमा बढुवा भएका हुन्, ती ती कार्यालयमा बढुवा भएको २१ दिनभित्र पदस्थापन गरिसक्नुपर्छ । तर बढुवा भएका प्रमुख नापी अधिकृतहरुले पदस्थापन रोक्दैआएका छन् । बढुवा भएकाहरुले शक्तिकेन्द्र प्रयोग गरी पदस्थापन रोक्दैआएको स्रोतले बताएको छ ।

बढुवा भएका प्रमुख नापी अधिकृतहरु २०७५ भदौसम्म पदस्थापन रोक्ने खेलमा छन् । भदौमा कास्की, चावहिल, कलंकी जस्ता अरु धेरै आकर्षक र घुस खान पाउने ठाउँमा खाली हुने भएकाले भदौसम्म पदस्थापन रोक्न बढुवा भएकाहरु लागेका छन् ।

भदौमा २ बर्ष अवधि पुग्ने प्रमुख नापी अधिकृतहरुमा कास्कीका नापी अधिकृत संजय छत्कुली, चावहिल नापी कार्यालयका प्रमुख मणि रेग्मी लगायत छन् । कलंकी नापी कार्यालयका प्रमुख दीपक सापकोटा भ्रष्टाचार अभियोगमा निलम्बनमा परिसकेका छन् । धादिङको नापी अधिकृत हुँदा ३ सय रोपनी भन्दा बढी जग्गा कीर्ते नक्सा बनाएर गैरकानुनी रुपमा ब्यक्तिका नाममा दर्ता गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सापकोटा लगायतका कर्मचारीविरुद्ध अख्तियारमा मुद्दा दायर गरेपछि उनी निलम्बनमा परेका हुन् ।

बढुवा भएका प्रमुख नापी अधिकृतहरु भदौमा घुस खान पाइने कार्यालयमा पदस्थापन हुनका लागि अहिले मन्त्रालयमै दरबन्दी विना नै हल्लिएर बस्ने योजनामा छन् । त्यसका लागि उनीहरुले कृषि, भूमिब्यवस्था मन्त्री चक्रपाणि खनाल र सचिव गोपी मैनालीलाई समेत प्रभावमा पारिसकेका छन् । कृषि मन्त्री खनाल समेत यी नापी अधिकृतको प्रभावमा परी पदस्थापन नगरेको आरोप छ ।
यसरी बढुवा भएर पनि पदस्थापन रोक्ने प्रमुख नापी अधिकृतहरुमा जनक भण्डारी, हरेराम यादव, लेखनाथ दाहाल, सुदीप श्रेष्ठ, पूर्ण पाण्डे, दामोदर वाग्ले, कृष्णप्रसाद न्यौपाने, जनक भट्ट, सुधीर गुप्ता, खिमलाल गौतम रोशनी शर्मा र सागरप्रसाद कायस्थ लगायत छन् । यी सबै भदौमा हुने नियमित सरुवा कुरेर मन्त्रालयमा हल्लिएर बसेका छन् । यीमध्ये ३ जना आन्तरिक प्रतियोगिताबाट, ५ जना फाइल बढुवाबाट र ४ जना ज्येष्ठताबाट बढुवा भएका हुन् ।
निजामती सेवा नियमावली विपरीत यी प्रमुख नापी अधिकृत पदस्थापन नभई बसेका छन् । आगामी भदौमा चावहिल, पोखरा तथा भैरहवा जस्ता घुस खान पाउने नापी कार्यालयमा जाने उनीहरुको दाउ छ । यी सबै कार्यालय भ्रष्ट कर्मचारीका लागि सबभन्दा आकर्षक स्थान मानिन्छन् । निसेनिको ठाडै उलंघन गरी शुभलाभ लिएर आफ्नालाई भ्रष्टाचार गर्ने अवसर प्रदान गर्ने मन्त्री चक्रपाणि खनाल चोखा र नैतिकवान् छन् भनेर कसरी पत्याउन सकिन्छ ? निसेनिको उलंघन गरी गैरकानूनी कामका मन्त्रीले बदनाम खेप्न त्यसै गरे होलान् भनी पत्यार मान्ने कर्मचारी कृषि र भूमिब्यवस्था मन्त्रलयमा बिरलै होलान्, भूमिब्यवस्था मन्त्रालयका एक अधिकारीले भने ।
मन्त्रालयमा लर्को, जिल्ला कार्यालय प्रमुखविहीन
महोत्तरी, सप्तरी जस्ता जिल्लामा प्रमुख नापी अधिकृतको दरबन्दी छ । तिनै जिल्लामा पदरिक्त देखाएर प्रमुख नापी अधिकृत बढुवा हुन्छन् । प्रत्येक कर्मचारीको बढुवा हुनुअघि सम्बन्धित मन्त्रालयले लोकसेवा आयोगमा दरबन्दीसहित खुलाएर पदोन्नति गर्नुपर्ने कारण पेश गरी माग गर्नुपर्दछ । कृषि र भूमिब्यवस्था मन्त्रालयले यो बर्ष पनि लोकसेवा आयोगसँग १२ जना नापी अधिकृतलाई प्रमुख नापी अधिकृतमा बढुवाको माग सहित अनुमति मागेका आधारमा बढुवा समितिले बढुवा गरेको हो ।
हरेक बर्ष महोत्तरीमा प्रमुख नापी अधिकृत रिक्त देखाएर लोकसेवा आयोगमा प्रमुख नापी अधिकृत बढुवाका लागि पठाइन्छ । बढुवा हुन्छ । तर महोत्तरीमा दरबन्दी देखाएर बढुवा हुन्छ, तर बढुवापछि कसैलाई पदस्थापन गरिदैन । राजनीतिक सोर्सफोर्स भिडाएर बढुवा भएपछि त्यहाँ कोही जाँदैन । पुनः अर्को बर्ष त्यही श्रृंखला चलिरहन्छ । तर बढुवा भएपछि ती जिल्लामा जान कोही पनि चाहँदैनन् । अहिले बढुवा भएका प्रमुख नापी अधिकृतहरु पनि महोत्तरी, सप्तरी, सिरहा जस्ता जिल्लामा रिक्त दरन्दी देखाएर बढुवा भएका हुन् । तर ती जिल्लामा सरुवा हुन कोही पनि चाहिरहेका छैनन् ।

बढुवा भएका १२ जनालाई नै कास्की, चावहिलजस्ता दैनिक लाख रुपैयाँ घुस आम्दानी हुने कार्यालय चाहिएको छ । सप्तरी र महोत्तरीका लागि सरुवा भएकाहरु त्यहाँ जानुपर्ने हो तर त्यहाँ नगएर राम्रो र घुस खाने ठाउँ खोज्दै पदस्थापन नै ३ महिनासम्म रोक्न लागेका छन् ।

मन्त्रीदेखि सचिवसम्मलाई प्रभावमा पारी उनीहरु पदस्थापन रोक्न सफल भएका छन् । मन्त्री र सचिवले खाली दरबन्दीमा बढुवा भएका प्रमुख नापी अधिकृतलाई पठाउन सकिरहेका छैनन् । जसका कारण महोत्तरीमा नासुले निमित्त कार्यालय प्रमुखका रुपमा काम गर्नुपरेको छ । जसलाई मातहतका कर्मचारीले टेर्दैनन् । महोत्तरीमा कार्यालय प्रमुख नभएका कारण नै नक्सा बिग्रेर सयौं समस्या निम्तिएका छन् । कार्यालय प्रमुख नभएका कारण नक्सा बिग्रने गरेका छन् ।
४ बर्षअघि पनि यसैगरी ११ नापी अधिकृत प्रमुख नापी अधिकृतमा बढुवा भएका थिए । तर उनीहरुमध्ये पहुँचालावालाहरु जुन ठाउँका लागि बढुवा भएका हुन्, ती ठाउँमा गएनन् । चैतमा बढुवा भएका उनीहरुले राजनीतिक शक्ति भिडाएर भदौसम्म पदस्थापन रोकी मोरङ, कास्की जस्ता जिल्लामा पदस्थापन भएका थिए ।
त्यतिबेला बढुवा भएका शिव लम्साल, अशोक भुसाल, बलराम पोखरेल, विकास कर्ण, सञ्जय साह, राकेश कर्ण र उमेश कुमार कर्णमध्ये तीन जनाको पदस्थापन ४ महिना रोकी भदौमा मालदार कार्यालयमा गरिएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७