गीतमा मौलिकता खोज्दै लोकगायिका दुरा


१ श्रावण २०७५, मंगलवार
Rss Images 1531814474431 AR Ktm 07172018 AR KTM 2

नौ डाँडा काटेर पारी
छोडी आयाँ लमजुङको घरबारी
लमजुङ तुर्लुङकोट
सररर…..हावा चल्यो लाँकुरीको बोट Rss Images 1531814474431 AR Ktm 07172018 AR KTM 2

असंख्य लोकगीत गाएर नेपाली लोकपारखी माझ ख्याति कमाएकी बिमाकुमारी दुरा पछिल्लो समय गायन क्षेत्रमा त्यति सारो देखिन्नन् । ‘छुट्यो माया जाल’, ‘खैरेनीमा गेट’, ‘वनको काफल वनकै चरीलाई’, ‘फूल्यो निमपत्ता’ र ‘सररर पानी घट्टामा’ जस्ता कैयन् कालजयी गीतले दुरालाई नेपाली लोकगायन क्षेत्रको उचाइमा पुर्‍यायो ।

उनको गीत कुनै बेला नेपाली लोकदोहरी क्षेत्रमा चर्चाको शिखरमा थियो, जनजिब्रोमा झुण्डिएको थियो र देश–विदेशका नेपाली स्रोताबीच चर्चा कमाएको थियो । उनी मेलापर्व, विभिन्न उत्सव र सांगीतिक कार्यक्रममा निकै व्यस्त देखिन्छिन् । उनले झण्डै दुई सय गीत आफैंँले रचना गरेकी छन् भने अरुका पाँच हजारभन्दा बढी गीतमा स्वर दिएकी छन् ।

विसं २०२८ वैशाख ९ मा तत्कालीन सिन्दूरे गाविस–५, लमजुङमा बुबा दलबहादुर र आमा शान्तामाया दुराको कोखबाट जन्मिएकी दुरा बाल्यकालदेखि नै गीतप्रति आकर्षित थिइन् । पहाडी मनोरम प्रकृति, जीवन्त संस्कृति, गाउँले जीवन, चाडपर्व र मानिसका दुःख–सुख हेर्दै हुर्कंदै गर्दा पाखा पखेरामा गुञ्जने भाका टिपेर गुनगुनाउन थालिन् । उनलाई अरुभन्दा लोक भाकाले लोभ्यायो । ‘लोकगीत भनेपछि हुरुक्कै हुन्थेँ, मैले आठ वर्षको उमेरमा मेलापाता, घाँस दाउरा र गोठालो जाँदादेखि नै गाउन शुरु गरेको हुँ’, उनी भन्छिन् । दुराका गीतले धेरैको मन र मुटु छोएको छ । कर्णप्रिय स्वरका कारण उनको गीत धेरैको जिब्रोमा झुण्डिएको छ । गीतले धेरै प्रशंसक कमाएको छ–

माझी दाइ पोखरा फेवातालको
लाऊँ माया साँच्चैको,
नलाऊँ भो ख्याल ख्यालैको

बुबा भारतीय सेनामा जागीरे भए पनि दुराले पढ्न भने पाइनन् । हजुरबुबा क्याप्टेन बखानसिंह र भिनाजु भीमबहादुर दुराको सहयोगमा काठमाडौँ आएकी उनले स्वर राम्रो भएकै कारण हजारौंँ गीतमा गाउने अवसर पाइन् । ‘मलाई हजुरबुबा र भिनाजुले काठमाडौँ ल्याएर गीत गाउने अवसर प्रदान नगरेको भए म अहिले लमजुङ तुर्लुङकोटमा घाँस दाउरा गरेर बस्ने थियाँ’, उनी सम्झिन्छिन् । गाउँ र जिल्लास्तरमा धेरै गीत गाएकी दुराले विसं २०४६ मा पहिलोचोटी ‘छोरीको जुनी…’ बोलको गीत आफ्नै आवाजमा अभिलेख गरिन् ।

झण्डै तीन दशकको गायन क्रियाशीलताले उनलाई केवल प्रशंसा मात्र होइन पुरस्कार तथा सम्मान समेत दिलाएको छ । उनले रेडियो नेपालको देशव्यापी लोकगीत प्रतियोगितामा प्रथम तथा नेपाल संगीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानको पुरस्कार समेत प्राप्त गरेकी छन् । विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा गरी पाँच सयभन्दा बढी पुरस्कार तथा सम्मान प्राप्त गरेकी छन् ।

दुराका गीत नेपालको डाँडापाखा र तराईका फाँटमा मात्र गुञ्जिएका छैनन्, हङकङ, सिङ्गापुर, दक्षिण कोरिया, बहराइन, मलेसिया, युनाइटेड अरब इमिरेट्स, कतार, बेलायत, भारत, श्रीलङ्कालगायत देशमा पनि पुगेका छन् । उनले त्यहाँ नेपाली स्रोताबीच आफ्नो गायनकला जीवन्त रुपले प्रस्तुत गर्ने गरेकी छन् । ग्रामीण जीवन, परम्परागत संस्कृति, जीवनका भोगाइ, प्रेम, मिलन विछोड र नारी वेदनाका भाव उनको गीतमा पाइन्छ । गायन क्षेत्रमा तीन दशक समय व्यतीत गरेकी दुरा पछिल्लो समय नेपाली लोकगीतमा मौलिकता हराउँदै गएकोमा चिन्ता व्यक्त गर्छिन् ।

‘मैले हाम्रै पाखा पखेरामा गुञ्जने स्वर र भाका टिपेर नेपालीले भोगेका दुःख–सुखका गीत गाएको छु, हाम्रै परिवेशमा चलेका लय, भाव र सिर्जनालाई पछ्याएर लोकगीतको मौलिकपनलाई जीवन्त राख्ने कोशिस गरेको छु’, उनी भन्छिन्, ‘लोकसंस्कृति, कला, भाषा र परम्परालाई बचाउन सके मात्र मुलुकको विकास हुन्छ ।’ लोकगीतका अतिरिक्त उनले ठाडोभाका, गुरुङ गीत, कौरा र भजन समेत गाएकी छन् । उनी नयाँ पुस्तालाई नेपाली परम्परागत मौलिक लोकगीत संगीतको प्रवद्र्धन, संरक्षण र अनुसरण गर्न आग्रह गर्छिन् । उनी नयाँ पुस्तालाई मेहनत, परिश्रम र गीत संगीतको मर्मअनुसार प्रतिष्पर्धा गर्नसक्ने गरी लोकगीतको क्षेत्रमा लाग्न सुझाव पनि दिन्छिन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७