लागुऔषध मुक्त समाज बनाउने अभियानमा प्रहरी, एकैदिनमा १ लाख गाँजाको बिरुवा नष्ट
काठमाडौं, २५ साउन : प्रहरीले जनतासँगको सहकार्यमा लागुऔषध मुक्त समाज बनाउने अभियान सुरु गरेको छ । प्रहरी र जनताको सहकार्यबाट समाजलाई लागु औषध मुक्त बनाउने अभियान अन्तरगत शुक्रबार करिब एक लाख गाँजाको बिरुवा नष्ट गरिएको हो ।
लागुऔषध मुक्त समाज बनाउने प्रहरीको अभियान अन्तरगत शुक्रबार काठमाडौंको शंखरापुर नगरपालिकाको करिब ७ रोपनी जग्गामा उम्रेको एक लाख बिरुवा नष्ट गरिएको हो । महानगरीय प्रहरी बृत्त बौद्ध काठमाडांैका कार्यालय प्रमुख प्रहरी नायव उपरीक्षक श्यामकुमार राईको कमाण्डमा खटिएको प्रहरी टोलीले गाँजा नष्ट गरेको हो । शंखरापुर नगरपालिकाका मेयर सुवर्ण श्रेष्ठ, उपमेयर शुक्रलक्ष्मी श्रेष्ठ, वडा नं.३ का अध्यक्ष सन्त बहादुर वाईबाको उपस्थीतिमा यो गाँजा नष्ट गरिएको हो ।
शुक्रबारको अभियानमा प्रहरी सहित स्थानीय सरोकारवाला, बुद्धिजिवी समाजसेवी, नागरिक समाज र स्थानीय बासिन्दाहरु गरेर करिब ३ सय २५ सहभागी थिए । शंखरापुर नगरपालिका वडा नं.३ स्थित काफलचौर, लाकुरी बोट, सुनुवार टोल, बिश्वाकर्मा टोल, गोलघर टोल, भन्ज्याङ्ग हुदै शिरानचौर, रातेमाटे डाँडा, घट्टेडाँडाँसम्म गाँजा नष्ट गरिएको हो । गृह मन्त्रालय, प्रहरी प्रधान कार्यालय नक्साल, महानगरीय प्रहरी कार्यालय रानी पोखरी, महानगरीय प्रहरी परिसर टेकु, काठमाडाैं, महानगरीय प्रहरी बृत्त बौद्धको योजना तथा निर्देशानुसार यो अभियान चलाइएको बौद्ध प्रहरीले जनाएको छ ।
लागुऔषध मुक्त समाज बनाउने प्रहरीको अभियान अन्तरगत स्थानीय जनप्रतिनिधि र सरोकारवाला सबैको सहभागितामा शुक्रबार काठमाडौंको शंखरापुरमा गाँजाका बिरुवा नष्ट गरिएको बृत्त बौद्ध काठमाडांैका कार्यालय प्रमुख प्रहरी नायव उपरीक्षक राईले बताए । उनले भने, ‘लागुऔषध मुक्त समाज बनाउने यो अभियान निरन्तर रहनेछ ।’ लागुऔषधले समाजको शान्ति सुरक्षा र समृद्धिमा धेरै ठुलो असर परिरहेको उनको भनाई छ । लागुऔषधबाट समाजलाई मुक्त बनाउन सबै एक हुनुपर्ने उनको भनाई छ ।
हेर्नुहोस् गाँजा नष्ट अभियानका तस्बिरहरु :