चर्किदै शैक्षिक बेरोजगारी, साढे १२ हजार शिक्षकका लागि दुई लाख ८० हजार निवेदन


१ भाद्र २०७५, शुक्रबार
teacher aayog

काठमाडौं, १ भदौं । सरकारले शिक्षित र दक्ष जनशक्तिलाई स्वदेशमै रोजगारी रहेको बताउँदै आए पनि देशमा वर्षेनी शैक्षिक बेरोजगारीको समस्या चर्को बन्दै गइरहेको छ ।

teacher aayog

जसको उदाहरण बनेको छ–कर्मचारी आह्वानमा लाग्ने युवाहरुको भीड । अहिले शिक्षक सेवा आयोगमा देखिएको युवाहरुको भीडले पनि देशमा शैक्षिक बेरोजगारीको समस्या कतिसम्म चर्को छ भन्ने कुरालाई देखाएको छ । शिक्षक सेवा आयोगले विद्यालय तहमा खुला प्रतिष्पर्धाबाट शिक्षक छनोट गर्न आह्वान गरेको १२ हजार ७३९ शिक्षक पदमा दुई लाख ८० हजार आवेदन परेका छन् । यसले सरकारको भनाईलाई गलत पुष्टि गरेको छ ।

खुला प्रतिष्पर्धाबाट शिक्षक छनोट गर्न आह्वान भएको परीक्षामा यति ठूलो संख्यामा प्रतियोगी सहभागी हुन खोज्नुले शिक्षामा शैक्षिक बेरोजगारीको दर उच्च रहेको सहजै बुझ्न सकिन्छ । आयोगले गत जेठमा प्राथमिक, निम्न माध्यमिक र माध्यमिक तहका लागि क्रमशः ९ हजार ९ सय ९६, एक हजार ६ सय ३५ र १ हजार १ सय आठ दरबन्दीमा शिक्षक छनोट गर्न आवेदन मागेको थियो ।


दरबन्दीमध्ये प्राथमिक तहका लागि एक लाख ६० हजार आवेदन परेको आयोगका प्रशासकीय अधिकृत सहसचिव डा. तुलसीप्रसाद थपलियाले जानकारी दिएका छन् । निमावि तहका लागि ८० हजार र माविका लागि ४० हजार आवेदन परेको छ । उपत्यका बाहिरका जिल्लाबाट संकलन गरेर केन्द्रमा आएका आवेदकको फारम र अन्य आवश्यक कागजात रुजु गर्ने काम भइरहेको उनले बताएका छन् ।

एक जनाले तीनै तहमा परीक्षा फारम भरेका कारण पनि आवेदकको संख्या बढेको हुन सक्ने आयोगको अनुमान छ । ‘जे भए पनि शिक्षामा बेरोजगार दर उच्च रहेको यो गतिलो प्रमाण हो’, थपलिया भन्छन् । तीनै तहका शिक्षकको परीक्षा असोज ११, १२ र १३ गते सञ्चालन हुँदैछ ।

आयोग स्थापनापछि तीन पटक मात्र खुला प्रतिष्पर्धाबाट शिक्षक छनोट गरिएको छ । यसअघि २०७३ सालमा खुला प्रतिष्पर्धाबाट शिक्षक छनोट भएका थिए । यस्तो प्रतिष्पर्धाबाट हालसम्म १८ हजार ३९ जना शिक्षक मात्र नियुक्त भएका छन् । आयोग स्थापना हुनुअघि जिल्ला र क्षेत्रीय रूपमा शिक्षक नियुक्त हुन्थे । उच्चस्तरीय शिक्षा आयोगको प्रतिवेदन २०५५ को सुझावपछि शिक्षा ऐनको छैठौं संशोधन गरेर आयोग स्थापना भएको हो ।

२०५६ सालमा आयोग स्थापना गरेर खुला प्रतिष्पर्धाबाट शिक्षक नियुक्त गर्न थालिएको हो । प्रतिष्पर्धामा भाग लिन आयोगबाट शिक्षण अनुमतिपत्र (लाइसेन्स( लिएको हुनुपर्छ । अहिलेसम्म सात लाख लाइसेन्स वितरण गरिसकिएको छ । अहिले सार्वजनिक विद्यालयमा शिक्षकको दरबन्दी एक लाख सात हजार छ ।

 यसमध्ये करीब ७० हजार शिक्षक मात्र दरबन्दीमा छन् । अन्य शिक्षक अस्थायी दरबन्दीमा कार्यरत छन् । अस्थायी दरबन्दी कायम रहेको २२ हजार ७९ पदमा पनि आन्तरिक प्रतिष्पर्धाबाट शिक्षक छनोट गर्न परीक्षा सम्पन्न भइसकेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७