एमबीबीएस पढ्दै हुनुहुन्छ ? शुल्क बढ्ने


२३ आश्विन २०७५, मंगलवार
mbbs

काठमाडौं, २३ असोज । के तपाई एमबीबीएस पढ्दै हुनुहुन्छ ? अनि शुल्कले सताइरहेको छ । अब झन शुल्कको समस्या चर्को बन्ने भएको छ ।

mbbs

विद्यार्थीले निजी क्याम्पसमा एमबीबीएस अध्ययन गर्दा यसअघि तिर्दै आएको शुल्क बढ्ने भएको छ । सोमबार शिक्षामन्त्री तथा त्रिभुवन र काठमाडौं विश्वविद्यालयका पदाधिकारीबीच भएको बैठकमा नेपाल राष्ट्र बैंकले तोकेको मुद्रास्फीति दर (मूल्यवृद्धि) अनुसार शुल्क बढाउने सहमति भएको छ ।

सरकारले दुई वर्षअघि एमबिबिएस अध्ययनका लागि काठमाडौं उपत्यकामा ३८ लाख ५० हजार र उपत्यकाबाहिर ४२ लाख ४५ हजार रुपैयाँ शुल्क तोकेको थियो । तर, उक्त सीमा बाहिर गएर कलेज सञ्चालकले विद्यार्थीसँग अदृष्य शीर्षकमा मनलागि शुल्क लिइरहेको आरोप छ ।

उनीहरूले विद्यार्थीहरूबाट ६० लाख रुपैयाँसम्म लिने गरेको मौखिक गुनासो विश्वविद्यालयमा आएको जनाइएको छ । दुई वर्षको मूल्यवृद्धिलाई आधार मानेर शुल्कवृद्धि गरिने सहमति भएको छ । नेपाल राष्ट्र बैंकका अनुसार पछिल्ला दुई वर्षको मुद्रास्फीति दर क्रमशः ९ दशमलव ९३ र ४ दशमलव ४८ प्रतिशत छ ।

सोमबारको बैठकमा विश्वविद्यालयका सहकुलपतिसमेत रहेका शिक्षामन्त्री गिरिराजमणि पोखरेल, त्रिभुवन विश्वविद्यालय (त्रिवि)का उपकुलपति प्राडा. तीर्थराज खनिया, त्रिवि चिकित्शाशास्त्र अध्ययन संस्थानका डिन जगदीशप्रसाद अग्रवाल, काठमाडौं विश्वविद्यालयका मेडिकल डिन राजेन्द्र कोजूलगायत मन्त्रालयका अधिकारी पनि सहभागी थिए ।

बैठकमा कलेज सञ्चालकले सरकारी सीमाभन्दा बढी शुल्क लिनुमा समयअनुसार शुल्कवृद्धि हुन नसक्नु पनि मुख्य कारण रहेको विषयमा छलफल भएको थियो । शुल्क निर्धारणको समयमा कलेज सञ्चालकसँग पनि छलफल गर्नुपर्ने उनीहरूको भनाइ छ। ‘शुल्क बढाउनुपर्छ भन्ने विषयमा सबैको समान धारणा छ । अन्तिम निर्णय भने हुन बाँकी छ ।

मन्त्रालयले निर्णय गरेर कार्यान्वयनका लागि हामीलाई निर्देशन देला’, त्रिविका उपकुलपति खनियाले भने । मेडिकल कलेजको शुल्क मनपरीबारे गुनासो बढेपछि आइतबारको मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्रीले यसबारे तुरुन्त अध्ययन गर्न शिक्षा मन्त्रालयलाई निर्देशन दिएका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७